Powered by Blogger.
इलाका प्रहरी कार्यालय जिरीले अभियानको रुपमा घरेलु मदिरा नष्ट गर्दै,पहिलो दिन ३ सय ५० किलो मदिरा नष्ट


चन्द्र खड्का

जिरी १४ जेठ । जिरी र आसपासको क्षेत्रमा बढ्दै गएको बढ्दो मादक पदार्थ र त्यसको प्रयोगले समाजमा पुर्याएको असरलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय जिरीले ६५ लिटर तयारी र ६ सय ५० किलो तयार पार्न राखिएको घरेलु मदिरा नष्ट गरेको छ ।

जिरी नगरपालिका वडा नं. ७ खावामा व्यवसायको रुपमा सञ्चालन गर्दै आएको केही भट्टिबाट उक्त मदिरा प्रहरीले नियन्त्रणमा लिई आज नष्ट गरेको हो । जिरी न.पा. ७ खावाका पम्फ खड्का, सानुमाया शेर्पा, काजीमान श्रेष्ठ, सुनकुमार तामाङ र बमबहादुर तामाङले अवैध रुपमा सञ्चालन गर्दै आएको भट्टिबाट नियन्त्रणमा लिएको मदिरा इलाका प्रहरी कार्यालय जिरीले राजनीतिक दलका प्रतिनिधी, जिरी नगर उद्योग बाणिज्य संघका प्रतिनिधी, महिला समूह, सञ्चारकर्मी, जिरीका सर्वसाधारणहरु लगायतका रोहवरमा मदिरा नष्ट गरेको छ । 

मदिराको भट्टि सञ्चालन गर्दै आएका ५ जनालाई नै अवको दिनमा पुनः भट्टि सञ्चालन नगर्ने गरी कागज गराएर छाडिएको छ । पछिल्लो समय जिरीमा घरेलु तथा महिला हिंसाको घटनाहरु बढ्दै गएको र यसको मुख्य कारक घरेलु मदिरा रहेकोले यसलाई न्यूनीकरण गर्नका लागि अभियानको रुपमा जिरीको खावाबाट सुरु गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रमुख प्रहरी निरीक्षक रजेश कार्कीले बताए । 


कार्कीका अनुसार खावाबाट सञ्चालन गरिएको अभियान जिरी र आसपासका क्षेत्रमा पनि लागु हुने र व्यवसायीक रुपमा अवैध तरिकाबाट सञ्चालन हुँदै आएको घरेलु मदिराका भट्टिहरु पूर्ण रुपमा न्यूनीकरण गरेरै छाड्ने उल्लेख गरे । 

अबको केही दिनमा नै जिरी बजार र हाटडाँडाबाट सञ्चालनमा रहेको भट्टि तथा होटलहरुबाट पनि घरेलु मदिरा नियन्त्रण लिएर नष्ट गर्ने इलाका प्रहरी कार्यालय जिरीले बताएको छ । यो अभियानमा जिरीका सर्वसाधारणहरुले पनि साथ दिने बताएका छन् । जसले गर्दा महिला तथा घरेलु हिंसाको घटना कम हुने अपेक्षा गरिएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.