Powered by Blogger.
भूकम्प पीडितलाई वर्षा सुरु हुन लाग्दासमेत बाँडिएन अनुदान

 दोलखा, १२ जेठ । भूकम्पपीडितले वर्षाको मौसम सुरु हुन लाग्दासमेत अनुदान रकम पाउन सकेका छैनन् । पुनःनिर्माण प्राधिकरणको ढिलासुस्ती र जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, भवन निर्माण कार्यालय लगायतका निकायको काममा तालमेल नहुँदा दोलखाली जनता निराश बनेका छन् ।

गाउँ÷गाउँमा इन्जिनियर पुगेपनि सरकारले रकम पठाउन नसक्दा स्थानीयवासी निराश भएका हुन् । इन्जिनियर गाउँ पुगेपछि केही उत्साहित बनेका भूकम्पपीडित सरकारले अनुदान रकम समयमै सबैलाई पठाउन नसक्दा घर बनाउनबाट वञ्चित भएका हुन ।

कार्यालयमा कुन कार्यालयको के काम भन्ने विषयमा विवाद बढ्न थालेको छ । प्राधिकरणका कर्मचारीमाथि धेरै तलबभत्ता बुझेर पनि काम नगरेको अन्य कार्यालयको आरोप छ । प्राधिकरणका तलब मात्रै खान कार्यालय आउने तर हाम्रो सचिवले र हामीले चाहिँ सबै काम गर्नुपर्ने ? यो कसरी सम्भव छ ?  जिविसका एक अधिकृतले भने ।

निकै तामझामको साथ पुनःनिर्माण प्राधिकरणले गएको फागुन ३० गते सिंगटी बजारबाट अनुदान रकम वितरण सुरु गरेको थियो । प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले रकम सम्झौता गर्दै अब दू्रतगतिमा पुनःनिर्माणको काम अघि बढ्ने बताए । 

प्राधिकरणमा पर्याप्त मात्रामा कर्मचारी नभएको र पीडितप्रति पुनःनिर्माण प्राधिकरण गम्भीर भएर नलागेकै कारण पीडितहरुले दुःख पाएको स्थानीयवासीको भनाइ रहेको छ । समयमै घर बनाउन नसक्दा हाल पीडितहरु चर्को घाम, हावापानी र असिनाको सिकार बनेको जिल्लाको उत्तरी लापिलाङ गाविस–६ निवासी बलबहादुर थामीको गुनासोे छ ।

उनले सरकारले दिने भनेको अनुदान रकमको पर्र्खाइमा बस्दा अहिले समस्या परेको बताए । आफ्नो गाविससँगै रहेको लामिडाँडा लगायतका गाविसमा रकम बाँडिएको सुने पनि आफ्नो गाविसलाई भने सरकारले बेवास्ता गरेको उहाँले आरोप लगाए । उनी भन्छन, ‘बर्खा लाग्यो, घर कहिले बनाउने ? रातभरिको पानीले बिहान उठ्दा सिरक भिजेको हुन्छ ।’

यस्तै, भूकम्पको केन्द्रविन्दु रहेको सुनखानी गाविसका सुवास शिवाकोटीले सरकारले वर्षात् अघि नै पीडितहरुको हातहातमा अनुदान रकम पु¥याउने घोषणा गरे पनि व्यवहारमा उतार्न नसकेको बताए । शिवाकोटीले वर्षात्को समयमा टहरामा बस्न निकै समस्या हुने दुखेसो पोखे ।

यस्तै, गैरीमुदी गाविसका स्थानीय लालबहादुर तामाङले पनि बर्खायाम लागिसक्दा पनि सरकारले घर बनाउन रकम नदिएको गुनासो गरे । वर्षायाममा टहरामा बस्दा बढी मात्रामा बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धालाई समस्या हुने तामाङको भनाइ छ ।

यसैबीच स्थानीय विकास अधिकारी विष्णु शर्माले आफूहरुले रकम बाँड्न चाहँदा चाहँदै पनि प्राधिकरणकै आन्तरिक समस्याका कारण भूकम्पपीडित मर्कामा परेको बताए । उनका अनुसार हालसम्म जिल्लामा २६ करोड ५० लाख रुपैयाँ मात्र निकासा भएको छ । यस्तै अन्य गाविसका पीडितहरुका लागि भन्दै प्राधिकरणले दुई अर्ब रुपैयाँ पठाउने जानकारी आफूले पाएको तर अख्तियारी भने आइनसकेको बताए ।

जिल्ला विकास समिति दोलखाको सूचना शाखाले पठाएको तथ्याङ्क अनुसार दोलखामा चार हजार १ सय ५४ जनाले रकम सम्झौता गरे पनि ५ सय १५ जनाले मात्रै अनुदान रकममध्येको ५० हजार रुपैयाँ पाएका छन् ।

हालसम्म आलम्पु गाविसमा ४५२ जनाले रकम सम्झौता गरेको, लादुक गाविसमा सातसय ८० जनाले रकम सम्झौता गरी दुईसय ४६ जनाले रकम लिइसकेको, बाबरे गाविसमा एकसय ७७ जनाले रकम सम्झौता गरेको, बिगु गाविसमा तीनसय ९६ जनाले सम्झौता गरेको तर १८ जनाले मात्र रकम लिएको, सहरे गाविसमा आठसय २८ जनाले रकम सम्झौता गरेको, लामिडाँडा गाविसमा तीनसय ८५ जनाले सम्झौता गरेको तर दुईसय ५१ जनाले मात्र रकम लिएको र लाकुरीडाँडामा ९० जनाले रकम सम्झौता गरेका छन् । दोलखामा दुई नगरपालिका र ४८ गाविस रहेका छन् । लाइट नेपालबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.