Powered by Blogger.
जिरी नगरपालिका स्थित हलेसी सामुदायिक वनमा आगलागी

जिरी, २५ चैत । दोलखाको जिरी नगरपालिका वडा नंं २ स्थित हलेसी सामुदायिक वनमा भीषण आगलागी भएको छ । बिहान १० बजेतिर दोबान गाउँ नजिकै भिरबाट लागेको आगो अहिले हलेसी मन्दिरको आसपाससम्म आइपुगेको छ । बिहानैदेखि चलेको तीव्र हावाहुरीका कारण आगो नियन्त्रण बाहिर गएको हो ।

स्थानीयवासीले आगो नियन्त्रणमा लिन खोजे पनि हावाहुरीका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरीको टोली आगो नियन्त्रणमा लिन खटिइसकिएको प्रहरी नायब निरीक्षक विष्णुराज फुयाँलले बताए ।

आगो कसरी लागेको हो भन्नेबारे केही खुल्न सकेको छैन । चौरासी हेक्टर क्षेत्रफलमा फैलिएको हलेसी सामुदायिक वनको आधाभन्दा बढी भूभाग अहिले डढेलोले जलिसकेको छ । हावाहुरी बढिरहेका कारण आगो माली गाउँको माथिल्लो भागतिर फैलिएको छ भने डाँडापारिको भागबाट होमडाँडा सामुदायिक वन र धाउखानी सामुदायिक वनतर्फ बढिरहेको छ ।

यही चैत २७ गते सामुदायिक वनको साधारणसभा तय गरिएको छ । साधारणसभा आउन दुई दिन बाँकी हुँदै सामुदायिक वनमा भीषण आगलागी भएको छ । आगलागी भएको क्षेत्र सर्वसाधारणको चरन क्षेत्र भएकाले जिरी नगरपालिका वडा नं २ र ३ का सर्वसाधारणका चौपाया डढेलोका कारण प्रभावित भएका छन् । धुवाँका कारण अहिले गाउँ सिङ्गै अँध्यारोमा छ । लाइटनेपालबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.