Powered by Blogger.
दोलखा जिल्लाको विकासका लागि चुनाव जित्नेमा हामी विश्वस्त छौं : रामेश्वर मानन्धर


रामेश्वर मानन्धर

रामेश्वर मानन्धर दोलखाबासीका लागी एउटा चर्चित नाम हो ।  निजी क्षेत्रको अग्रणी संस्था दोलखा उद्योग बाणिज्य संघको २०६२ यता तीन पटक निर्वाचित भई हाल समेत जिल्ला अध्यक्ष रहेका व्यवसायी नेता मानन्धर दोलखाली उद्योगी र व्यवसायीका भरोसाका केन्द्रका रुपमा चिनिन्छन् । त्यस अघि २० बर्ष देखी संघमा बिभिन्न पदमा बसेर काम गरिसकेका मानन्धर दोलखाको अर्थतन्त्र र आर्थिक विकासको योजना निर्माणमा बिशेष दखल राख्छन । पर्यटकिय नगरी जिरीको समग्र बिकासमा मानन्धरले लामो समय देखी योगदान दिदै आएका छन् । प्रस्तुत छ मानन्धरसगँ जिरी सन्देश साप्ताहिक पत्रिका र हाम्रो दोलखा डटकमले गरेको कुराकानी ।

चौथो पटक फेरी दोलखा उद्योग बाणिज्य संघको अध्यक्षको उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । तपाईको उम्मेदवारी के का लागी ? 

तीन कार्यकाल हामीले दोलखाको समग्र विकासमा धेरै उल्लेखनिय कामहरु ग¥यौँ । व्यवसायीहरुलाई जिल्लामै सुविधा दिलाउन, उनिहरुको क्षमता अभिबृद्धी, आर्थिक तथा सामाजिक विकास, बित्तिय विकास लगायत हरेक काममा संघलाई केन्द्रित गर्दै आयौँ ।  दोलखाको समग्र विकासलाई सधै शिरोपर गर्दै मुल लक्ष्य जिल्लाको समृद्धी साथै सामाजिक र आर्थिक विकास बनाउदै आएको छौँ । हिमाली आयोजना, युवा तथा साना ब्यवासायी सोरोजगार कार्यक्रम, एक गाउँ एक उत्पादन लोक्त कार्यक्रम लगायत बिभिन्न आयोजना मार्फत ठूलो रकम जिल्ला भित्र्यायौँ । जिल्लाका बजारहरुको ब्यबस्थापनमा काम गरिरहेका थियौँ ।

यही क्रममा एक बर्ष अघिको भुईचालोले हाम्रा सबै योजनाहरु अधुरो बनाईदिए । हामीले थालेका थुप्रै कामहरु अधुरा छन् । जिल्लाको पुर्ननिर्माणमा निजी क्षेत्रले अग्रणी भूमिका खेल्नुपर्ने बेला छ । यहि बिचमा निर्वाचन पनि आईपुग्यो । मेरो कार्य समितिका सहयात्री साथीहरु उद्योगी व्यवासायी मित्रहरु जिल्ला स्थित राजनीतिक दल, सरोकारवाला निकायहरु, दातृनिकाय साथै आम उपभोक्ताहरुको राय सुझाव र सल्लाह अनुसार एक पटक जसरी पनि नेतृत्व गर्न र अधुरा काम सम्पन्न गर्न जिल्ला भरका साथीहरु र शुभचिन्तकले सल्लाह दिनु भएकाले अन्तिम पटकका लागि उम्मेदवारी दिन लागेको हुँ ।

तीन पटकको कार्यकालमा के काम गर्नु भयो र त्यस्तो ?

हामीले गरेका कामहरु उपलब्धीमुलक छन् । मैले  २०६२ मा शुरुमा कार्यकाल सम्हाल्दा १९ लाख रुपैँया ऋण थियो । त्यसलाई चुक्ता गरेर उद्योग बाणिज्य संघको घरको तला समेत हामीले थप्यौँ  । सचिवालयको चुस्त दुरुस्त व्यवस्थापन गर्यौ । नेपाल उद्योग बाणिज्य संघको ‘घ’ बर्गको सूचीमा रहेको दोलखा उद्योग बाणिज्य संघलाई ‘क’ बर्गमा बर्गिकरण गरी सोही वर्ष कच्चा पदार्थको अधिकतम प्रयोगमा ल्याई जिल्लाको मौलिक उत्पादन पहिचान बनाउन सफल हँदै बजारीकरण, लेभलिङ ,प्याकेजीङ गरी एकै ठाउँबाट विक्री वितरण गर्न कोसेली घर खोली नेपालकै पहिलो कोसेली घर सञ्चालन गर्न सफल भयौं । नेपाल उद्योग बाणिज्य महासंघबाट सम्मान प्राप्त भयो ।

स्थानिय उत्पादनलाई जोड दिने र प्रोत्साहन गर्ने कार्यक्रम ल्यायौँ । हामीले दोलखाबाटै शुरु गरेको कोशेली घर अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार चर्चित छ । एक गाउँ एक उत्पादन कार्यक्रमले प्रभावकारीता पायो । त्यही सामानहरुको प्रचारका लागी नेपालकै पहिलो ओभिओपी महोत्सव दोलखाको जिरीमा सम्पन्न गर्न सफल भयौँ । यहाँका जाँगरिला किसान र उद्यमीहरुलाई लक्षित गरी प्रोत्साहनमुलक कार्यक्रम चलायौँ ।

हिमाली आयोजना हाम्रै पहलमा दोलखा भित्रियो जसले ९७ जना दोलखालीका लागि १२ करोड ९७ लाख रुपैँया लगानी भईसकेको छ । बाँकी ३ सय जनाका लागि समेत प्रक्रिया सुरु भईसकेको छ । चरिकोटमा सिटिहल निर्माण, चरिकोट बजारको ब्यबस्थापन, हाम्रै पहलमा सडक बिस्तार लगायत, जिरी, सिगँटी, मैनापोखरी, मागादेउराली, लगायतका बजार क्षेत्रको व्यवस्थापनमा लाग्यौँ । जिरीमा हाम्रै पहलमा त्यहाँको शाखाको आफ्नै घर बनाएका छौँ । सिंगटी बजार ब्यवस्थापनका लागि तनबन्ध निर्माण गरिँदैछ ।

यि बाहेक अरु पनि थुप्रै काम भएका छन् । व्यवसायीले पहिले जस्तो प्यान दर्ता गर्न र व्यवसाय कर तिर्न भक्तपुर नै पुग्नुपर्ने झण्झटबाट मुक्ती पाउनुभएको छ ।  बैंकिङ सेवा जिल्लाभरी छ । बैंकहरुसगँ व्यवसायिको सुविधाका लागि संघले पहलकदमी  लिदै आएको छ ।

बनेपामा मात्र रहेको डिलर व्यबसाय जिल्लामै छ । हाम्रै पहलमा डिलर व्यवसायीहरुको छुट्टै संस्था नै बनेको छ । बनेपा र काठमाण्डौ देखि सामान ढुवानी गर्ने कार्गो व्यवस्था अहिले जिल्लामै छ । यसले समग्र उद्योग व्यवसाय क्षेत्रमा फाइदा पुगेको अनुभूती यहाँको हरेक व्यवसायीहरुले गर्नुभएको छ । यसमा संघको सधै सकरात्मक सहयोग र भूमिका छ । दोलखाली व्यवसायिका हक अधिकार रक्षा गर्दै यहाँको आर्थिक विकास साथै जिल्लामा बाहिरी लगानी भित्र्याउन र उद्योग व्यवसायलाई संस्थागत गर्न हामीले हाम्रो तीनै कार्यकाल भरी काम गर्ने अवसर पायौँ ।

एउटै व्यक्ति चार पटक सम्म अध्यक्ष बन्दा तपाईलाई दोलखा उद्योग वाणिज्य संघमा आप्mनो उत्तरधिकारी बनाउन नसकेको आरोप छ नी ? 

दोलखा उद्योग वाणिज्य संघमा मैले जहिले देखि नेतृत्व गरें त्यहि बेला देखि दोलखा उद्योग बाणिज्य संघ संधै     भरी सामूहिक नेतृत्वबाट चलिरहयो । हामीले संघलाई दोलखाको उद्योगी व्यवसायिहरुको हक हित र उनीहरुको व्यवसायिक विकासमा लगाउनका लागि हरेक सदस्यको क्षमता अविवृद्धि र वृद्धि विकास गर्दै कार्य समितिमा रहेका हरेक सदस्यहरु मार्फत दोलखा उद्योग बाणिज्य संघलाई सामूहिक नेतृत्वबाट पु¥याएका हौं ।

जहाँसम्म उत्तरधिकारीको कुरा छ, मेरो कमिटीमा काम गर्ने हरेक साथीहरु मेरो उत्तरधिकारी हुन् । अहिले पनि पदाधिकारी र कार्य समितिका प्रत्येक साथीहरु नेतृत्वका लागि म जतिकै सक्षम छन् । तर अहिलेको समय पुर्ननिर्माणको बेला छ । पुर्ननिर्माणको बेला दोलखा जिल्लामा निजी क्षेत्रको ठूलो भूमिका छ । त्यस कारणले अहिले तपाईको नेतृत्वमा बसेर हामी काम गर्छौँ, तपाईले नै यो पटक पनि नेतृत्व गर्नुपर्छ भनेर साथीहरुको   राय सुझाव छ, त्यसैले मैले उम्मेदवारी दिन खोजेको हुँ ।

दोलखामा अहिलेकोे अर्थतन्त्र कस्तो छ ? 

२०७२ साल बैशाख १२ गतेको भूकम्पले अत्याधिक क्षति भएको जिल्ला मध्ये दोलखा हो । यहाँका उद्योगहरु, यहाँका व्यवसायहरु भूकम्पले क्षति पु¥यायो । धेरै उद्योगी व्यवसायिहरु विस्तापित हुनुपर्यो, जिल्लाका अधिकंश उद्योगी व्यवसायिहरु विस्तापित हुनुपर्यो, उहाँहरुलाई अझै राम्रोसँग पुर्नस्थापित गर्न सकिएको छैन। जिल्लाको विभिन्न ठाउँका व्यवासायिहरुलाई ठूलो पिर मर्का छ ।

बैंकका कर्जा, ब्याज तिर्न नसकेर र बिमा समेत नपाएर धेरै उद्योगी व्यवासायिहरु घाटामा हुनुहुन्छ । ती समस्याहरु सम्बोधन गर्न सरकारलाई दबाब दिन समन्वय गर्र्नु पर्ने दायित्व हामी कहाँ पनि छ । सँगै भूकम्प र नाकाबन्दीले व्यवसाय सँगै दोलखाको अर्थतन्त्र पनि धरापमा परे पनि विस्तार पहिलेको लयमा फर्कदैछ । दोलखाको पर्यटन व्यवसाय पनि पुनः पहिलेको लयमा फर्कदैछ । भूकम्प पछि अहिले विस्तारै दोलखा आउने पर्यटकहरु सँख्यामा वृद्धि हुँदैै गएको छ । हाम्रो पर्यटकीय जिल्ला हो, चरिकोट, जिरी, कालिञ्चोक, शैलुङ लगायतका क्षेत्रहरुमा पर्यटकहरु आउने क्रम जारी छ । त्यस कारण दोलखाको अर्थतन्त्र विस्तार विस्तार आफ्नो लयमा फर्कदै छ ।

 भूकम्प र नाकाबन्दीको समयमा दोलखा उद्योग बाणिज्य संघले कस्तो किसीमको भूमिका खेल्यो ? 

भूकम्प गए लगतै दोलखामा सरकारी राहत आउन नसकेको अवस्थामा हामीले १२ गते भूकम्प गएको केही समयमा नै बजार भरीको उद्योगी व्यवसायिहरु भेला भएर त्रिपाल जम्म गरेरका थियौं । त्यो त्रिपाल प्रशासन मार्पmत पीडित सामु पु¥याउनुपर्छ भनेर चरिकोट भरिका त्रिपाल प्रशासनमा बुझाएको थियौ । प्रशासनले त्यो त्रिपाल बाँड्यो त्यसको नेतृत्व हामीले गरेको थियौँ । हामीले चरिकोटमा उपलब्ध चाउचाउ, विस्कुट चिउरा लगायतका खाद्य सामाग्रीहरु लिएर प्रशासनमा बुझायौं ।

त्यो समयका लागि ठूलो राहत बनेको थियो । हामीले निरन्तर रुपमा त्यो समयमा काम गरेका हौँ । साथै नाकाबन्दीको समयमा पनि अरु जिल्लामा भन्दा हाम्रो जिल्लामा सर्वसुलभ मूल्यमा सामान आएको नै हो, पूर्ण अभाव हुन पाएन । अरु जिल्लामा जस्तो पूर्ण अभाव हुन हामीले दिँदै दिएनौं, कृतिम अभाव हामीले हुनै दिएनौ । त्यो समयमा पेट्रोलियम पदार्थ, खाद्यन्न लगायत कुनै पनि सामानको  बजारमा कृतिम अभाव हुनै दिएनौ । त्यो बेलामा उपभोक्ताहरुलाई परेको अप्ठ्यारोहरुमा हामीले धेरै किसीमका समन्वय गरेका थियौं । जिल्लामा ग्याँस आउँदा प्रशासनको सहयोग लिएर ब्यवस्थीत रुपमा उपभोक्तालाई बाँडेका थियौँ  ।

तपाईको चुनाव जित्ने आधार के छ त ? 

हामी निरन्तर रुपमा दोलखा उद्योग वाणिज्य संघको हितमा काम गर्दै तीन कार्यकाल सफलता पूर्वाक चलाईसकेका छौं । जिल्ला भरका व्यवसायिहरुको हकहितका लागि काम गर्दै आएको छौं । हाम्रो कार्य समिति उद्योगी व्यवसायी आम उपभोक्ता सरोकारवाला निकाय बुद्धिजिवी राजनीतिक दल साथै सबैले एक चोटी पुनः दोलखा उद्योग बाणिज्य संघको नेतृत्व गर्न राय सुझाव दिनु भएकोले हाम्रो चौथो पटको उम्मेदवारी रहेको छ । उहाँहरुको राय सल्लाह अनुसार उम्मेदवारी दिए पछि हाम्रो चुनाव जित्ने आधार भनेको उहाँहरु हो । हामी चुनाव जित्छौं, हामी विश्वास्त छौं ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.