Powered by Blogger.
हामीसबै मिलेर यस्तो बनाउनु पर्छ जिरी !

सुन्दर कार्की

स्वीस विकासविद्ध टोनी हेगनले जिरीलाई स्वीजरल्याण्डको जुरीच जस्तै परिकल्पना गरेका थिए । भूगोल र हावापानीको दृष्टिबाट । हेगनले गरेको हल्लीखल्लीपछि स्वीस सरकार सन् २०१४ मा स्वीस मोडलको विकासको पोका बोकेर जिरी भित्रिएको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय जगतमा सगरमाथाको गेटवेको प्रचारबाट उदायको जिरीले अनेकौं आरोह अवरोह पार गर्दै परिवर्तनको अनेक अभ्यास गर्दै अघि बढिरहेको छ । 

सगरमाथामा पहिलो पाइला हाल्ने सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले जिरीको मार्ग प्रयोग गरेपछि पर्यटकीय बजारको रुपमा पनि यसले चर्चा पायो । त्यही सिक्री गाउँ हो, जहाँ हिलारीको समूह बास बसेका थिए । त्यसैले जिरी दोलखाको जेठो  व्यापारिक केन्द्र मात्र हैन पर्यटनको दृष्टिबाट पनि ख्याति कमाएको क्षेत्र हो । 
जिरी आज स्वदेशी तथा विदेशी पर्यटकहरूको गन्तव्य स्थल बनेको छ । यहाँका अगुवाहरुले परिकल्पना गरेका नवीन योजनाहरुका कारण निजी क्षेत्रबाट पनि विकासको मोडल दिनसक्छ भन्ने सन्देश जिरीले दिएको छ । 

प्राकृतिक ताल, ठूलो स्तुपा निर्माण, विमानस्थल पूनः सञ्चालन, घरेलु उद्यम, व्यावसायिक पशुपालन, व्यवस्थित होटल व्यवसाय आदि जिरी विकासका लागि अगुवाहरुले बनाएका सोचहरु हुन् । पछिल्लो सयममा विनाशकारी भूकम्पको समस्याले झेलिए पनि यहाँका वासिन्दाहरु निराश देखिदैन, जिरी विकासको सवालमा ।  पुरानै स्वरुप तर नयाँ प्रविधियुक्त निर्माणका लागि स्वीस नियोगसँग योजनाबद्ध प्रस्ताव गर्नसक्नु र त्यसका लागि  सकारात्मक बनाउन सक्नु जिरी बासीको क्षमता मान्न  सकिन्छ ।

मैले विद्यालयको अध्ययनदेखि धेरै समय विताएको जिरीको सम्भावना र सपना धेरै छन् । लामो राजनीतिक अस्थिरताका बीच देशले नयाँ संविधान पाएको छ । अव वेला भएको छ, विकास सहित आर्थिक युगमा प्रवेश गर्ने । त्यसका लागि जिरीले सम्भावनाको पोका फुकाउनु पर्ने बेला आएको छ । आर्थिक र व्यावसायिक रुपमा केही गरेर देखाउने वेलाको सदुपयोग गर्दै जिरीले आफ्नै सीप, क्षमता प्रयोग गरेर मोडेल पहाडी पर्यटकीय शहरकोे गुरुयोजना बनाउने बेला आएको छ । 

दोलखाबासी हामी भूकम्पपछि थिलथिलो भएका छौं । हाम्रा घर, व्यवासाय र दैनिकी कठिन भएको छ । सम्पत्तिमात्र हैन, केही दोलखालीले ज्यानसमेत गुमाउनु परेको अवस्था छ । तर पनि हामीले भूकम्पले ध्वस्त पारेको अवस्थाबाट सम्भावना खोज्दै अघि बढ्नु पर्ने बेला आएको छ । त्यो कार्य जिरीबाटै होस् र गर्नु पर्छ भन्ने मेरो मान्यता पनि छ । 

जिरी कृषि, घरेलु उद्यम, पर्यटन उद्योग, साना जलविद्युतदेखि खनिजसम्मले धनी नगरपालिका हो । तर हामीले यसलाई व्यवस्थित र आर्थिक उपार्जनका माध्यम बनाउन सकेका छैनौ । झण्डै ५० वर्षअघि स्थापना भएको याक चिज कारखाना जिरीको आकर्षक उद्यम हो । यसलाई बृहद् उत्पादनको थलो बनाउन सके आर्थिक उपार्जनको स्रोत र पर्यटकीय केन्द्र दुवै बनाउन सकिन्छ । 

जिरीका होटल व्यवसायलाई संसारभरिका मानिसहरुले चिन्छन । कुनैबेला जिरीका बजारहरुमा विदेशीहरु सरावरी देखिन्थे । गोरा छाला भएकाहरुले भरिएका होटलमा नेपालीले बास पाउन मुस्किल पथ्र्यो । नेपालको मिनी ठमेल भनिने जिरीलाई आज पनि उही रुपमा फर्काउन सकिन्छ, जसका लागि स्थानीय व्यवसायीहरुको त्याग र प्रतिबद्धता आवश्यक छ । हाई अल्टिच्युट स्र्पोट ट्रेनिङ सेन्टर बनाउने नेपाल सरकारको योजनाले अन्तर्राष्ट्रिय खेलाडी र पर्यटकहरु जिरीमा भित्र्याउन सकिन्छ ।

यो कार्यमा निजी क्षेत्रले एकजुट भएर लविङ गर्न उत्रनुपर्छ । सरकारले निजिक्षेत्रसँग समन्वय गरेमा देश विकास सम्भव छ । जसका लागि भूकम्पपछि साना बजारहरु आधुनिक स्वरुपमा विकास गर्न सरकारले वातावरण वनाउन जरुरी छ ।  निजिक्षेत्रको लगानीमा प्रोत्साहित गर्ने, ग्रामीण क्षेत्रका साना उद्यमलाई बढवा गर्न सहुलियतको व्यवस्था गर्ने कार्यलाई  सरकारले प्राथमिकतामा राख्नु पर्छ । त्यसो भयो भने ग्रमीण इलाका छाडेर रोजगारका लागि परदेशिएका युवा जमातलाई ग्रामीण क्षेत्रमै स्वरोजगर बनाउन सकिन्छ । जिरीले जिरीमै मानिसहरुलाई केही न केही उद्यम गर्नसक्ने बातावरण बनाउने योजना अघि सार्नुपर्ने देखिन्छ ।

जिल्लाका नेता पर्यटनमन्त्री भएका बेलाको मौका जिरीबासीले छोप्नु जरुरी छ । जिरी विमानस्थल सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री आनन्दप्रसाद पोखरेल स्वयम्ले चासो दिनु भएको बेला यो सम्भव पनि देखिन्छ


जिरीको अर्को ठूलो सम्भावना हो गाई फर्म । औपचारिकतामा मात्र सीमित पारिएकोे सरकारी गाई फर्ममा सरकारी दृष्टि पुग्नु जरुरी छ । यसलाई व्यवस्थित गरेमा जिरीबाट दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लामा दुधजन्य पदार्थ निर्यात गर्न सकिन्छ । यो गाई फर्मलाई भावी जिरीको भविष्यसँग  जोडर अगाडि वढाउन सकिए दोलखामा मात्र नभएर देशकै ठूलो गाई र्फम व्यवसायी दुध उत्पादन गर्ने उद्योग वन्ने छ । गाई फर्ममात्र राम्रोसंग सञ्चालन भएमा सयौं किसान, व्यवसायी र नागरिकले यसबाट लाभ लिन सक्न छन् ।
वर्षौदेखि पर्यटनमन्त्रीहरुको आश्वासनको केन्द्र बने पनि निराशा वाहेक अरु कुनै हाता नलागेको विमानस्थल संचालन गर्न दवाव जरुरी छ । 

जिल्लाका नेता पर्यटनमन्त्री भएका बेलाको मौका जिरीबासीले छोप्नु जरुरी छ । जिरी विमानस्थल सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री आनन्दप्रसाद पोखरेल स्वयम्ले चासो दिनु भएको बेला यो सम्भव पनि देखिन्छ । यो विमानस्थलले सगरमाथादेखि जिरी, जिरी देखि राजधानी, राजधानीदेखि जिरी र जिरीदेखि सगरमाथासम्म हवाई माध्यमले जोड्न सकिन्छ । साना जलविद्युतमा राम्रो सम्भावना बोकेको जिरीमा निजिक्षेत्रवाट आयोजना सम्पन्न भैसकेको छ । अन्य आयोजना निमार्ण र अध्ययनका क्रममा रहेका छन् ।

स्थानीयले आफ्नो समेत लगानी गरेर जिरीमा ताल वनाउने सपना देखेका छन् त्यसवाट जलविद्युत आयोजना बनाए वास्तवमै जिरी आर्थिक रुपमा सम्पन्न हुनेछ । एकातिर पर्यटक तान्ने अवसर अर्कोतर्फ जलविद्युतमा स्थानीय लगानी । यसले एउटा नयाँ मार्गनिर्देश गर्नेछ देशलाई समेत । कृषि र पर्यावरणमा निकै अगाडि रहेको जिरी यी कुरामा व्यावसायिकता नपाउँदा दिन प्रतिदिन पछाडि परेको छ ।  

जिरीलाई हरित शहर घोषणा गरेर पर्यटकमैत्री वनाउन लाग्नु अहिलेको आवश्यकता हो । स्थानीयस्तरदेखि निजिक्षेत्र जसले ठूला अर्गानिक फर्महरु खोल्न जिरीवासीले लोभ्याउन सक्छन् । यसो गर्न सकिए जिरी महत्वपूर्ण हरित शहर अभियान सहित उच्च हिमाली कृषि नमुनाका रुपमा उदाउने छ । यसका लागि अहिलेदेखि नै योजना बनाउन लागे अवको ५ वर्षमा जिरी    हरित शहर र कृषि पर्यटनले समेत चिनिने छ । माथि उल्लेखित केही उदाहरणले जिरी आफैमा सवै थोकले सम्पन्न छ । तर व्यवस्थित गर्न नसक्दा वास्तविक जिरी हामीले भने जस्तो हुन सकेको छैन । 

भूकम्पले दिएको आर्थिक, भौतिक लगायतका क्षतिलाई भविष्यको अवसर वनाउने हो भने आजैवाट जिरीवासी लाग्न सक्नु पर्छ । जसका लागि जिरीको १० वर्षे आर्थिक विकास रणनीति र पर्यटन गुरुयोजना तत्काल बनाउन पर्नेछ । यी कुरा बनाएपछि हामीले लगानीका लागि निजिक्षेत्रलाई आग्रह गर्न सक्नुपर्छ । सरकार निजिक्षेत्र र स्थानीय मिलेर अवको १० वर्ष भित्रमा जिरीमा यी काम सम्पन्न हुने हो भने जिरी वास्तवमै मिनी स्विजरल्याण्ड हुने कुरामा शंका छैन ।

अन्तमा जिरीमा  दीर्घकालीन  रुपमा आएका पर्यटकलाई कम्तिमा ५ दिन जिरी घुमाउने वातावरण बनाउन अहिलेदेखि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नु पर्छ र भएकालाई थप व्यवस्थित वनाउनु पर्छ । हाईअल्चिच्यूट स्पोर्ट ट्रेनिङ सेन्टर वनाउन समय लागे पनि हाल प्याराग्लाईडिङ, वौद्ध स्तुपा, इकोपार्क, खावा डाँडामा हनुमानको विशाल प्रतिमा, चेर्दुङमा भ्यूटावर, नयाँ पदमार्ग, जिरेल होमस्टे लगायत तत्काल गर्न सकिने कामको शुरुवात गर्न सकिन्छ । जसका लागि स्थानीयले गर्न नसक्ने कामका लागि निजि क्षेत्रलाई आर्कषित गरेर आव्हान गरी अगाडि वढाउँनु पर्छ । यस्तै जिरीमा रहेका टेक्निकल विद्यालयलाई कृषि, निमार्ण स्वास्थ्य जस्ता ठूला शैक्षिक केन्द्रको रुपमा लैजानु पर्ने आवश्यकता पनि छ । जसका लागि जिरीका स्थानीय वासी लागिपरेका छन् । सवैभन्दा ठूलो इच्छा शक्ति हो, जिरीको विकासका लागि सवै राजनीतिक दल एक ठाउँमा उभिएमा उल्लेखित कार्यहरु सम्भव छ । 

कार्य समिति सदस्य, दोलखा उद्योग वाणिज्य संघ

स्रोत: जिरी सन्देश साप्ताहिकबाट 


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.