Powered by Blogger.
तामाकोसी पाँचौंको डीपीआर तयारी सुरु


काठमाडौं, २७ माघ ।

प्रस्तावित तामाकोसी पाँचौं आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारीका लागि परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बोलपत्रमा भाग लिएका आधा दर्जन कम्पनीको मूल्यांकन सम्पन्न भइसकेको छ । १ महिनाभित्र परामर्शदाता चयन हुने आयोजनाले जनाएको छ ।

विद्युत् प्राधिकरणले डीपीआर तयारीका लागि आह्वान गरेको बोलपत्रमा ल्याह्मेयर इन्टरनेसनल जीएमबी (जर्मनी), वापकोर्स इन्डिया लिमिटेड (भारत), निप्पोन कोई कम्पनी लिमिटेड (जापान), एफ कन्सल्ट (स्विट्जरल्यान्ड), एमडब्ल्यूएच इन्टरनेश्नल इंक (अमेरिका) र एसपी स्टुडियो पाइट्राङ्ग्ली कन्सल्टिङ इन्जिनियर्स (इटाली) सहभागी छन् । यीमध्ये आर्थिक एवं प्राविधिक रूपमा बलियो कम्पनी परामर्शदाता छनोट हुनेछ ।

छनोट हुने परामर्शदाताले काम सुरु भएको डेढ वर्षमा डीपीआर तयार गर्नेछ । निर्माणाधीन माथिल्लो तामाकोसीको पानी सिधै सुरुङमार्गबाट लैजाने भएकाले आयोजनाका लागि बाँध आवश्यक नपर्ने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना शृंखला प्रारूप (क्यासकेड)मा निर्माण हुनेछ । यकिन लागत र वार्षिक विद्युत् ऊर्जा उत्पादन र आर्थिक पक्षबारे डीपीआरपछि मात्र थाहा हुनेछ । डीपीआर तयारीपछि मात्र आयोजनाको निर्माण प्रारूप र लगानी संरचना तयार हुनेछ ।

प्राधिकरणले आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ । यसअनुसार आयोजनाको जडित क्षमता ८७ मेगावाट हुनेछ । यसबाट वार्षिक ४६ करोड युनिट बिजुली उत्पादन हुने देखिएको छ । आयोजना बनाउन १३ अर्ब रुपैयाँ (१३ करोड अमेरिकी डलर) लाग्ने अनुमान छ । यसको प्रतिमेगावाट लागत साढे १५ करोड रुपैयाँ लाग्ने देखिएको छ ।

त्यस्तै, प्राधिकरण र कोरिया वाटर रिसोर्स कर्पोरेसन ९के–वाटर०ले संयुक्त रूपमा निर्माण गर्ने भनेको मोदी ‘ए’ र माथिल्लो मोदी दुबै आयोजनाको डीपीआर तयारीका लागि परामर्शदाता छनोटको तयारी गरेको छ । दुबै आयोजनालाई एउटै संरचनाबाट ६२।५ मेगावाट क्षमतामा निर्माण गर्ने सहमति भएको छ । के–वाटरले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनले मोदी ‘ए’ लाई ४२ मेगावाट र माथिल्लो मोदीलाई २०।५ मेगावाटमा डिजाइन गरी दुबैलाई क्यासकेड रूपमा निर्माण गर्न सुझाएको छ ।

आयोजनामा विदेशी लगानी आउने भएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार थप अध्ययनका लागि परामर्शदाता नियुक्त गर्न लागिएको हो । यसका लागि बोलपत्र आह्वानको तयारी भइरहेको छ । आयोजना बनाउन १२ अर्ब रुपैयाँभन्दा बढी (१२ करोड ४५ लाख डलर) लाग्ने अध्ययनले देखाएको छ । आयोजनामा प्राधिकरणको ६०, के–वाटरको ३० र स्थानीय÷सर्वसाधारणको १० प्रतिशत सेयर लगानी हुुनेछ । आयोजनामा ६० प्रतिशत कर्जा र बाँकी ४० प्रतिशत स्वपुँजी लगानी हुनेछ । कारोबार दैनिकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.