Powered by Blogger.
जिरी क्षेत्रमा हिमपात, विद्यालय बन्द


जिरी, १३ माघ ।
 
स्वीजरल्याडको जुरिच सहरसँग तुलना गरिने दोलखाकोे जिरी र आसपासको क्षेत्रमा गएरातिको वर्षासँगै परेको हिमपातले अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै टहरामा जीवन निर्वाह गर्दै आएका सर्वसाधारणको जनजीवनलाई नराम्रो प्रभाव पारेको छ ।

मङ्गलबार वर्षासँगै दोलखाको शैलुङ, कालिञ्चोक, च्योर्दङलगायतको उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएकोे थियो । हिमपातपछि विशेषगरी वृद्ववृद्वा र बालबालिका बढी प्रभावित बनेका छन् । हिमपातसँगै बढेको चिसोले दोलखा जिरी र श्यमाका विद्यालय बन्द भएका छन् । चिसोका कारण विद्यार्थीको उपस्थिति न्यून रहेका कारण विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापकले बताएका छन् ।

अस्थायी शिक्षण केन्द्र जस्तापाताले छाएको र हिमाली सिरेटोले चिसो बढेका कारण विद्यालय सञ्चालन गर्न कठिन भएको सेतीदेवी प्रावि श्यामाका शिक्षक निरबहादुर कार्कीले बताए । कार्कीकाअनुसार केही दिनदेखि बढेको चिसोसँगै विद्यालयमा ज्वरो आउने, रुघाखाकी लाग्नेजस्ता बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ ।यता हिमपातसँगै दोलखा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्वि भएको छ ।

भूकम्पपछि दोलखामा पर्यटकको सङ्ख्या न्यून रहेको भए पनि उच्च हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि राजधानीलगायतका क्षेत्रबाट हिउँ खेल्न र घुम्न दोलखा आउनेको सङ्ख्यामा वृद्धि भएको जिरीका होटल व्यवसायीले बताएका छन् । जिरी र आसपासका क्षेत्रमा हिउँ परेसँगै जिरीमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ ।जिल्ला बाहिरबाट हिउँ खेल्न आउनेमा युवा वर्ग रहेका छन् । हिउँ खेल्नका लागि दोलखाको कालीञ्चोकमा बढी जाने गरेका छन् ।

यता जिरी बजार हुँदै च्योर्दुङ, पटासेडाँडा, रामेछापको बाम्तीभण्डार, देउराली, सेर्दिङ, गुम्देललगायतका क्षेत्रमा पनि हिउँ खेल्ने युवायुवतीको चहलपहल बढेको छ । स्थानीय युवा पनि उत्साहितका साथ हिमाली क्षेत्रमा हिउँ खेल्न जाने गरेका छन् । तर वृद्ववृद्वालाई भने चिसाको समस्याले सताएको छ ।

त्यस्तै वर्षासँगै हिमपात भएपछि कृषक पनि खुसी बनेका छन् । यो समयमा हिउँ परे गहुँखेती राम्रो हुने भएकाले कृषक खुसी देखिएका छन् । समयमा नै हिउँ परेको कारण गहुँखेती राम्रो हुने अनुमान गरिएको छ । हिउँ परेसँगै जिरीको तामक्रम ६ डिग्री सेल्सियस पुगेको छ । नेप्जिलबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.