Powered by Blogger.
दोलखाका भूकम्पपीडितको गुनासो ‘मरेपछि पठाउँछौं राहत’


दोलखा, १३ माघ । 

 दोलखा झुले ८ की मसली तामाङ सरकारले दिने भनेको मौसमी राहतको पर्खाइमा बसेको झण्डै दुई महिना भयो । घर भत्किएपछि जस्ताको टहरामा बस्दै आएका उनीसहित उनको परिवारको आशा भनेको सरकारले दिने भनेको १० हजारबाट न्यानो किन्ने र लाउने भन्ने नै हो ।

उनले गाउँमा रकम बाँढेको खबर पनि सुनिन् तर उनको घरसम्म रकम आइपुगेन रकम नपाएपछि उनी भन्न लागेकी छन्, ‘सरकार, के अब हामी चिसोले मरेपछि मात्र राहत पठाउँछौं ? न्यानोको आवश्यकता परेको बेला रकम नपठाएपछि अब कहिले पठाउँछ ? यस्तै झुले ८ कै अम्बरबहादुर कार्कीको पनि गुनासो उस्तै छ ।

घर भत्किएपछि जस्ताको टहरामा रात बिताउँदै आएका कार्कीले सरकारले आफूहरूलाई हेलाँ गरेको आरोप लगाए । सस्तो लोकप्रियताको लागि एक साताभित्र सबै भूकम्पपीडितको घरघरमा दस हजार रुपैयाँ पुर्‍याउने घोषणा गरे पनि त्यसलाई कार्यान्वयन गर्न नसकेको बताए । ‘सरकारले नै बोलेको कुरा पूरा गर्न सक्दै भने यो देशमा कस्को कुरा पत्याउनेु, आक्रोशित हुँदै उनले भने ।

आफूहरू जसोतसो गरेर बसे पनि ८० वर्षीया आमालाई भने चिसो बाट जोगाएर राख्न धेरै समस्या भएको उनले बताए । चिसोका कारण आमा बिरामी भएको उनको भनाइ छ । अन्य गाविसमा विभिन्न सघंसस्थाले न्यानो कपडा वितरण गरेको खबर सुनेको बताउँदै उनले आफ्नो गाउँमा भने कुनै पनि संघसंस्थाबाट सहयोग नपाएको बताए ।

उनले पहिलो चरणमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) मार्फत जस्तापाता र त्रिपाल सहयोग पाएको र त्यसपछिका कुनै पनि राहत आफ्नो गाविसमा नआएको बताए । झुले गाविसमा आरआरएन नामक संस्थाले सहयोग गर्ने भने पनि अन्य सघंसंस्थालाई गाउँमा आउन रोकेको खबर सुनेको भन्दै यस्तो नगर्नसमेत उनले आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय दोलखाबाट निकासा भएको रकम गाउँमा बाढ्न समस्या भएपछि सर्वदलीय सहमतिमा वडा नम्बर १ बाट बाँढ्न सुरु गरिएको र वडा नम्बर ६ मा आइपुगेपछि पैसा सकिएको गाविसका सहलेखापाल रामबहादुर कार्कीको भनाइ रहेको छ ।

आफूहरूले चहाँदा चहाँदै पनि सबै पीडितलाई रकम बाँढ्न नसकिएको सहलेखापाल कार्कीको भनाइ छ । यो समस्या झुले गाविसको मात्र नभई दोलखाका झण्डै २६ हजारभन्दा बढी स्थानीयको हो । जिल्लामा दुई दिन राम्रोसँग घाम लागे पनि पुनः पानी र हिमपात सुरु भएको छ । जिल्लाको उच्च भूभागमा हिमपात भएको छ भने धेरै भागमा पानी परेको छ । पानीका कारण चिसो ह्वात्तै बढेको छ ।

चिसो बढेपछि भूकम्पपीडितहरूको बिचल्ली भएको छ । जस्ताको छानोमा घाम लाग्दा धेरै गर्मी हुने र पानी पर्दा धेरै चिसो हुने भएकाले पनि पीडितहरू अझै पीडित बनेका हुन् । सरकारले घर बनाउने मापदण्ड नबनाइदिएको र अनुदान रकम दिने घोषणा गरेकै कारण पक्की घर बनाउन स्थानीयहरूले आनाकानी गरिरहेका छन् ।

सोमबार दिउँसोबाट सदरमुकाम चरीकोटलगायत अधिकांश स्थानमा पानी परेको छ । पानी परेपछि चिसो एक्कासि बढेको छ । सरकार गम्भीर नभएकै कारण जिल्लामा एक दर्जनभन्दा बढी भूकम्पपीडितहरूको ज्यान गएको भन्दै तत्काल १० हजार रुपैयाँ सबै पीडितहरूलाई पुर्‍याउनुपर्ने नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केको भनाइ छ ।

सरकारले भूकम्पपीडितको नाममा विभिन्न सहयोग गर्ने प्रतिवद्धता जनाएर लोकप्रियता कमाउन खोजे पनि कार्यान्वयन गर्न नसक्दा पीडितहरूलाई झन् पीडा दिएको संयोजक मास्केको भनाइ छ । पछिल्लो समय धेरै संघसंस्थाले जिल्लाको उत्तरी गाविस केन्द्रित गरी न्यानो कपडा वितरण गरेको र दक्षिणी झुले, भीरकोट, जफे, मेलुङलगायतका गाविसका स्थानीय चिसोको मारमा परेकाले सो क्षेत्रमा पनि सहयोग गर्नुपर्ने उनले बताए ।


यसैबीच जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले गृहमन्त्रालयबाट निकासा भएको रकम गाउँगाउँमा पठाइसकिएको र बाँकी रकम माग गरी केन्द्रमा पठाइएको बताए । आफूहरूलाई प्राप्त जानकारी अनुसार अर्थमन्त्रालयले रकम निकासा नगर्दा समस्या भएको उनले बताए ।
सरकारले एक साताभित्र रकम सबै पीडितहरूलाई पठाउने र सहयोग नगर्ने कर्मचारीलाई कारबाही गर्नेसमेतको चेतावनी दिइएको थियो । सरकारको निर्देशनलगत्तै जिल्लाका प्रमुख जिल्ला अधिकारी लामिछाने र स्थानीय विकास अधिकारी सीता परियार आफैं गाउँगाउँमा पुगेर रकम बाँढेका थिए ।

प्रशासनले आवश्यक रकम निकासा नगरपछि गाउँ विकास समितिका सचिवहरूले रकम बुझ्न आनाकानी गरेका थिए । तर प्रजिअ र स्थानीय विकास अधिकारी नै गाउँमा जान लागेपछि रकम बाढ्न सुरु गरे पनि तीन साता बितिसक्दा पनि बाँकी रकम आउन सकेको छैन । रकम नआउँदा आफूहरूलाई गाउँ जान निकै समस्या भएको सचिवहरूको भनाइ छ ।

गाउँमा जाँदा स्थानीयहरूले रकम माग्ने भएकै कारण गाउँ जानसमेत समस्या भएको झुले गाउँ विकास समितिका सचिव सुनील बस्नेतले बताए । जिल्लामा चिसो बढेपछि भूकम्पपीडितहरू बिरामी पर्न थालेका छन् । रुघाखोकी, ज्वरो, जिउँ दुख्ने, आँखा सुन्निनेलगाइतका समस्या आएको स्थानीयको भनाइ  रहेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.