Powered by Blogger.
दोलखामा जन्मनासाथ दुई शिशुको मृत्यु


दोलखा, २८ पुस । 

उत्तरी दुर्गम गाउँ कालिन्चोकमा तीन दिनयता जन्मिएलगत्तै दुई नवजात शिशुको ज्यान गएको छ । भूकम्पले घर भत्काएपछि जस्ताका टहरामा रात काटिरहेका गर्भवती र सुत्केरीलाई अत्यधिक चिसोले सताएको छ । चिसोकै कारण जन्मिनासाथ शिशुको मृत्यु भएपछि स्थानीय चिन्तित छन् ।

स्थानीय स्वास्थ्य कार्यकर्ताका अनुसार दुई साताअघि गाउँमा भएको गर्भवती स्वास्थ्य जाँच शिविरमा २९ जना महिलाले गर्भ जाँच गराएका थिए । तिनको उमेर १६ वर्षदेखि ४८ वर्षसम्म छ ।

स्थानीय सामाजिक कार्यकर्ता पदम थामीका अनुसार आइतबार मध्यरात सुत्केरी भएकी कालिञ्चोक ३ बेगुम्पाकी विष्णुमाया थामीले सुत्केरी भएलगत्तै छोरी गुमाएकी छन् । गाउँमै रहेकी सुडेनीमार्फत सुत्केरी गराएकी विष्णुमायाको कोखबाट छोरी जन्मनेबित्तिकै मृत्यु भएको उनका पति जंगे थामीले बताए ।

‘७ बजेदेखि व्यथा लाग्न थालेपछि फुपू पर्ने सुडेनीलाई बोलाएँ,’ जंगेले टेलिफोनमा भने, ‘११ः३० बजेतिर बच्चा निकाल्न थालेपछि केहीबेर अड्किएको थियो, बाहिर निकालेलगत्तै मृत्यु भयो ।’ उनको घर स्वास्थ्य चौकीबाट नजिकै छ । गाउँको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नबस्ने भएकाले आफूले नबोलाएको उनले सुनाए । जंगेको यसअघि एउटी छोरी छ ।

बच्चाको मृत्यु भएपछि उनको परिवार शोकमा छ । यसअघि नियमित रुपमा स्वास्थ्य चौकीमा गर्भ जाँच गराइरहेको जंगेले सुनाए । ‘हेल्थपोस्टमा नियमित गर्भ जाँच गराउँदा गाउँमा भएका स्वास्थ्यकर्मीले राम्रै छ भन्थे,’ उनले भने । भूकम्पपछि कटेरोमा बसिरहेका जंगेले सुत्केरी श्रीमतीलाई जाडोबाट जोगाउनै समस्या परेको सुनाए । ‘रोइरहन्छिन्, शरीर सुन्निएको छ,’ उनले भने ।

यसअघि शुक्रबार साँझ कालिन्चोक–१ मुङ्चाकी २६ वर्षीया हारमती थामीले पनि पाउनासाथ शिशु गुमाएकी थिइन् । ‘घरका सबै सदस्य गाउँकै छिमेकीको घ्यावामा गएका बेला हारमतीले साँझ ७ बजेतिर कटेरोछेउ थुपारिएको नलमा बसेर बच्चा पाइछन्,’ स्थानीय सामाजिक कार्यकर्ता पदमले भने,‘पछि सासूससुरा घर फर्कंदा बुहारी सुत्केरी भएको र पाउनेबित्तिकै बच्चा खेर गएको थाहा पाएलगत्तै राति नै सद्गत गरेछन् ।’ हारमतीका पति विदेश छन् ।

स्थानीय स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (सुत्केरी गराउने केन्द्र) छैनन् । स्वास्थ्यकर्मीसमेत बस्दैनन् । ‘एचएसहित ५ जना स्वास्थ्यकर्मीको दरबन्दी छ, तर अहिले १ जना मात्र बस्छन्,’ पदमले सुनाए ।

स्थानीय स्वास्थ्य केन्द्रका अहेब सुनिल राय यादवले दुवै सुत्केरीले स्वास्थ्यकर्मीलाई नबोलाएको दाबी गरे । ‘दरबन्दीअनुसार कर्मचारी त हुनुहुन्न तर मैले स्वास्थ्य संस्था चलाएर बसेको थिएँ, मलाई पनि बोलाउनुभएन,’ उनले टेलिफोनमा भने, ‘सोमबार बिहान विष्णुमायाको अवस्था हेर्न पुगेको थिएँ ।’ उनले विष्णुमायाको अवस्था सामान्य रहेको समेत बताए ।

यहाँ अत्यधिक चिसो छ, जन्मनेबित्तिकै तापक्रम नमिलेर वा पेटभित्रै पनि निधन भइसकेको हुनुपर्छ, दुवै बच्चा हेर्नै पाइएन, उनले बर्थिङ सेन्टर नहुँदा गाउँले सुत्केरी गराउन स्वास्थ्य चौकी नआएको पदमले बताए ।

‘एक त स्वास्थ्यकर्मी बस्दैनन्, त्यहीमाथि बर्थिङ सेन्टर छैन,’ उनले भने, ‘यहाँ रहेका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई सुत्केरी गराउने तालिम नै दिइँदैन ।’

अहेव यादवले समेत आफूहरुले तालिम नपाएको गुनासो गरे । बर्थिङ सेन्टर भएकालाई मात्र तालिम दिइन्छ, उनले भने, ‘यहाँका स्वयंसेविका र स्वास्थ्यकर्मी नियमित रुपमा तालिम नै पाउँदैनन् । छिमेकी गाविस खोपाचागु र बाबरेमा मात्र बर्थिङ सेन्टर रहेकाले कालिन्चोकका गर्भवतीलाई पायक पर्दैन ।

‘छिमेकी गाविसको बर्थिङ सेन्टर पुग्न डोकामा बोकेर वा स्ट्रेचरमा राखेर दुई घन्टा हिँडाएर पुर्यामउनुपर्छ,’ पदमले भने । गाउँमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन् । भएकाहरु पनि बिदामा छन् । हेल्थ असिस्टेन्ट विष्णुप्रसाद ओली दुई सातादेखि गाउँमा छैनन् । दुई जनाको दरबन्दी रहेको अहेवमध्ये सुनिल मात्र गाउँमा छन् । अर्का अहेव सुरेन्द्र यादव २२ गतेदेखि बिदामा छन् । अनमीको दुई दरबन्दी रिक्त छ ।

पदमले गाउँका गर्भवती महिलाको स्वास्थ्य जोखिममा रहेको सुनाए । ‘त्यो जाँच गराउन आउने सात जनाका आमासम्म थिए,’ उनले भने, ‘त्यति मात्र होइन, १६ देखि ४८ वर्ष उमेरसम्मका थिए । उनले गाउँका गर्भवती र सुत्केरीको स्वास्थ्यप्रति बेलैमा सजगता नअपनाए गम्भीर समस्या उत्पन्न हुने बताए । ‘जिल्ला स्वास्थ्यले तत्काल टोली खटाएर सबैको स्वास्थ्य जाँच गरी यहाँसमेत तत्काल बर्थिङ सेन्टर स्थापना गर्छ भन्ने आशामा छौं,’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालय, दोलखाका प्रमुख डाक्टर माधव लम्सालले कालिन्चोकमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन नगएका कारण बच्चाहरुको मृत्यु भएको बताएको नागरिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.