Powered by Blogger.
किन लुकाइँदै छ दोलखामा राहतको हिसाब ?

दोलखा, १५ पुस ।

भूकम्पपछि सरकारको स्वामित्वमा रहेका गोदामबाट विभिन्न व्यक्ति र संस्थाका नाममा खाद्यान्न बुझेर ल्याएको लगत विवरण जिल्ला दैवीप्रकोप उद्धार समितिले माग्दा दिन इन्कार गरिएको छ ।

दोलखाका भूकम्पपीडितका लागि भन्दै काठमाडौंस्थित सरकारी स्वामित्वको गोदामबाट बुझेर लगेको चामल, नुन, चिनी र त्रिपालको हिसाबकिताब नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ कन्सर्नलगायत निकायले नपठाएपछि उक्त गुनासो तत्कालीन राष्ट्रपतिसमक्ष पनि गरिएको थियो । पटकपटक पत्राचार गर्दा पनि हिसाब पठाउन इन्कार गरेको घटना पछि सेलाउँदै गएको थियो ।

सरकारी निकायबाट जिल्ला पठाएको विवरण एकद्वार प्रणालीअन्तर्गत जिल्ला दैवीप्रकोप उद्धार समितिको भण्डारमा दालिखा भएपछि मात्र वितरण गर्ने नियम छ । उक्त नियमविपरीत पहुँचवालाले सरकारी गोदामबाट बुझेर लगेको सामान आफूखुसी बाँड्नु दुरुपयोग मानिन्छ । सरकारी सम्पत्ति भूकम्पपीडितका नाममा आफूखुसी बाँड्नेमा सबैभन्दा बढी राजनीतिक दलका नेता देखिएका छन् ।

त्यसपछि पहुँचवाला व्यक्तिको नामबाट बुझेर लगेको देखिन्छ । त्यसरी लगेका कतिपय सामग्री पीडितमा नपुगी बाटोबाटै गायब हुन थालेपछि दैवीप्रकोप उद्धार समितिले सम्बन्धित निकायलाई पत्राचार गरेको हो । दोलखा लान लागिएको पाल राजधानीकै व्यापारीले बेच्न लागेको थाहा पाएर प्रहरीले सामानसहित पक्राउ गरेको थियो । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले खाद्य संस्थान, साल्ट ट्रेडिङलगायतबाट सामान पठाएको विवरण नआएको बताए ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले पटकपटक ताकेता गर्दा पनि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाले हिसाब पेस गरेका छैनन् । उनीहरूले काम गर्ने स्वीकृति लिएका छन् तर हिसाब भने दिँदैनन् । प्रजिअ लामिछानेका अनुसार दातासँग हिसाबको कुरा गर्दा ‘हामीले जिल्ला प्रशासन वा दैवीप्रकोप उद्धार समितिलाई बुझाउने होइन’ भन्ने जवाफ आउने गरेको छ । माथि नै प्रतिवेदन बुझाउने भन्दै कुनै पनि गैरसरकारी संस्थाले आर्थिक प्रतिवदेन पेस नगरेको प्रजिअले बताए ।

केही समयअघि यूएन ओचाले अपुष्ट हिसाब सार्वजनिक गरेको थियो । उक्त निकायले अनौपचारिक रूपमा प्रशासनलाई दाताले गरेको करिब डेढ अर्ब जतिको आधिकारिकता नभएकाले जिल्ला प्रशासनले त्यसलाई थन्क्याएको मात्र छ । आफूखुसी खर्च गर्ने गैससको कामलाई व्यवस्थित गर्न प्रयास मात्र गरेको दैवीप्रकोप उद्धार समिति पनि पछिल्लो समय चुपचाप देखिन्छ ।

भूकम्प जानेबित्तिकै दोलखाका लागि आएको सामग्री नेपाली सेनाको ब्यारेकभित्र राखियो । त्यो सामान विवरणप्रति आम नागरिकले संशयपूर्वक हेरे । केही कुहिएका चामल बाहिर गएपछि त्यसको छानबिन पनि भएको थियो ।
इकान्तिपुर

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.