Powered by Blogger.
तीन दर्जन बढी नेताहरु पुगे भारतीय राजदूतको दिवाभोजमा


काठमाडौँ, २६ मंसिर ।

मुख्य दलका शीर्ष नताहरु मधेस आन्दोलन अन्त्य गर्न सहमति प्रयास गरिरहेका बेला भारतीय दूतवासले सरकार र प्रतिपक्षीमा रहेका सबैजसो राजनीतिक दलका नेताहरुलाई दिवाभोजमा निम्त्याएर विस्तारै समाधानतर्फ जान सुझाव दिएको छ । भारतीय नाकाबन्दीले मुलुकको जनजीवन अस्तब्यस्त रहेको अवस्थामा राजनीतिक दलका नेताहरु भारतीय दूतवासमा पुगेर दिवा भोजमा सरिक भएका हुन् । 

राजनीतिक दलका नेता तथा सांसदहरू सामान्यतः विशेष कार्यक्रम हुँदा मात्र समुहमा दूतावास जाने गरेको भएपनि शुक्रबार विशेष कार्यक्रम विना नै पुगेका थिए । दूतावासले उनीहरुलाई तीन दिन पहिले ‘लन्च मिटिङ’ का लागि निमन्त्रणा आएको थियो । निमन्त्रणा राजनीतिक दलहरुको संसदीय दलको कार्यालयमा आएको थियो ।

निम्तालु नेताहरु शुक्रबार मध्यान्न बोलाईएको समयभन्दा १० मिनेट अगावै दूतवास प्राङ्गणमा पुगेका थिए । उनीहरुलाई पार्किङ देखिनै दूतावासका कर्मचारीले इन्डिया हाउस (राजदूत निवास) अगाडी प्राङगणमा लगेर दिवाभोजमा सरिक गराएको उपस्थित एक नेताले बताए । त्यहाँ उनीहरुबीच संयुक्त र छुट्टा छुट्टै अनौपचारिक छलफल भएको थियो । 

छलफलमा राजदूतले यो विशेष अवसरका लागि नभएर चीनजान र आत्मियताका लागि बोलाइएको उपस्थित नेताहरुलाई बताएका थिए । दिवाभोजबारे जानकारी लिन सम्पर्क गर्दा पनि दूतावासले औपचारिक रुपमा चीनजानका लागि निम्त्याइएको प्रतिक्रिया दिएको छ । छलफलमा राजदूतका अलवा दूतावास उपप्रमुख विनय कुमार र अन्य कर्मचारीहरु पनि थिए ।

राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा संसदको विषयगत सभापतिलाई पनि बोलाइएको सहभागिले जनाए । कतिपय सांसदहरुले पछिल्लो अवस्था, दिल्ली भ्रमण र दलहरुबीचको वार्ताकै बारेमा छलफलहरु अनौपचारिक रुपमा गरेका थिए । अधिकांश छलफल दुईपक्षीय र साना साना समुहमा उभिएर नै भएको सहभागिले बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संगठन विभाग प्रमुख आनन्द ढंगानाले लैनचौरबाट फर्केपछि भने, ‘सबै राजनीतिक दलका नेताहरुलाई बोलाइएको थियो । यो सामान्य भेटघाट हो भनियो । अनौपचारिक छलफलहरु भए ।’

पुर्वमन्त्री देखि दलमा प्रभावकारी नेताहरु सहभागि रहेको भएपनि अधिकांश तराई केन्द्रित नेताहरु थिए । ढुंगाना बाहेकमा कांग्रेसबाट विमलेन्द्र निधी, अमरेशकुमार सिंह, गणेश मण्डल, रामअयोध्याप्रसाद यादव लगायत थिए भने एमालेबाट सुरेन्द्र पाण्डे, नागेन्द्र चौधरी, बंशिधर मिश्र लगायत थिए । त्यस्तै एमओवादीका प्रभु साह, जनकराज जोशी, रविन्द्र प्रताप शाह, राप्रपा नेपालका दिलनाथ गिरी, राप्रपाका दिपक बोहोरा लगायत थिए । सदभावना पार्टीका संसदिय दलका नेता लक्ष्मणलाल कर्ण, सभासद नरसिंह चौधरी, फोरम उपाध्यक्ष तथा सभासद लालबाबु राउतको पनि उपस्थिती थियो ।

राजनीतिक दलका नेताहरु भारतीय दूतावास पुगेर पछिल्लो राजनीतिक अवस्थाबारेमा छलफलमा जुटेका हुन ।  यसअघि गोप्यरुपमा गएको भन्ने आरोप खेपेकाहरु अहिले संसदिय दलको कार्यालयमा उपलब्ध निमन्त्रणा बोकेर नै दूतवास पुगेका थिए । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा तथा मधेसि दलका नेताहरु छलफलमा सहभागि थिए ।

लामो समय विवादमा अल्भिmएर बस्नुभन्दा विस्तारै सहमति गर्दै समाधानमा जानु उपयुक्त हुने सुझाव राजदूत रायले दिएको बुझ्न कठिन नभएको ढंगनाले बताए । औपचारिक रुपमा केही नभने पनि अनौपचारिक रुपमा यस्तो सन्देश दिएको बुझिन्थ्यो, ढूंगनाले भने । अर्का नेता विमलेन्द्र निधीले पनि यो सामान्य लन्चको लागि बोलाइएको हुनाले यसलाई अर्को रुपमा लिन नहुनेबताए । उनी भन्छन,हामी हामी बीच कुराकानी भयो तर राजदूतले त्यस्तो खास कुरा गर्नु भएन । अहिलेको विषयमा चासोहरु ब्यक्त भए । 

दिवाभोजमा भारतीय नाकाबन्दीबारे भने  औपचारिकरुपमा कुनै कुरा नउठेको बताइएको छ । दिवाभोजमा गएका स्वतन्त्र सांसद मुसलमानले राजदूतले सम्बन्ध सुधारका लागिमात्रै बोलाएको हुन सक्ने बताए । ‘त्यहाँ कुनै राजनीतिक विषयमा कुरा भएन,’ उनले भने, ‘विशुद्ध पाहुनाकोरुपमा व्यवहार भयो ।’ उनका अनुसार भारतीय राजदूत पनि राजनीतिक विषयमा प्रवेश गर्न चाहेनन् । ‘उहाँले कसैसँग व्यक्तिगतरुपमा केही राजनीतिक कुरा गर्नुभयो भने अलग्गै कुरा हो,’ उनले भने, ‘तर, लञ्च लिंदा पोलिटिकल कुरा निस्किएन ।’

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र आन्दोलनरत मधेसी मोर्चाका नेताहरु नयाँदिल्ली भ्रमणबाट फर्किएलगत्तै नेपालका लागि भारतीय राजदूत रणजित रायले दिल्लीबाट फर्केका नेताहरु सहित अन्य राजनीतिक दलका सांसदहरुलाई आफ्नो निवासमा बोलाएर यसरी छलफल गर्नुलाई अर्थपूर्ण मानिएको नेताहरुले बताए । प्रमुख तीन दलबीच भएको सहमतिअनुसार समाधानको पहल भइरहेको बेला दूतावासको सक्रियतालाई सरकारले पनि नियाली रहेको परराष्ट्र उच्चअधिकारीले जानकारी दिएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.