Powered by Blogger.
दोलखामा घूसको शल्यक्रिया (भिडियोसहित)


काठमाडौँ, २० मंसिर । 

दोलखा सिंगटीका बोधराज श्रेष्ठ पाँच दिनमा सक्नुपर्ने कामका लागि १३ दिन धाए । काठमाडौंको घरको हालसाबिक गर्न कातिक ३० देखि मनमैजुस्थित नापी कार्यालय धाइरहे । सहजै काम गराउन उनले त्यसको जिम्मेवारी लेखनदासलाई दिएका थिए । ती लेखनदासले १५ हजार मागे । आधा नाप्न जाने सर्भेयरलाई दिने र आधा आफैं राख्ने उनको सोच रहेछ ।

 मंसिर १ गते छठको बिदाका दिन सर्भेयर रामप्रमोधकुमार महासेठले मनमैजु ८ ‘घ’ को कित्ता नम्बर ७१३ मा बनेको घरको नापजाँच गरे । मंसिर २ गते फेरि कार्यालय समयपछि महासेठ सँधियारलाई दस्तखत गराउन गए । बोधराजले सदियार बोलाएर राखेका थिए । सही गर्ने बेलामा पश्चिमतर्फको जग्गा धनीलाई महासेठले डर देखाइदिए । भने, ‘तपाईंको जग्गा यो घरले मिचेको पनि हुन सक्छ है ।’ त्यसपछि जग्गाधनी हर्कबहादुर तामाङ झस्किए, दस्तखत गरेनन् । पूर्वतर्फको घरधनी रूपाकुमारी भट्टराईको चाहिं हाल साबिक भइसकेको थियो । उनले दस्तखत गर्न कुनै आपत्ति जनाइनन् । चौथो दिन सदियार तामाङले पनि दस्तखत गरे । त्यसपछि भने महासेठले झुलाउने अर्को बाटो पहिल्याए ।

‘तपाईंको जग्गाको आकार पहिले लाम्चो थियो, अहिले घर बन्दा त्यस्तो छैन । समस्या हुने भयो ।’ यसले बोधराजलाई झस्कायो । लेखनदासले मागेको १५ हजारमध्ये पाँच हजार उनले बैना दिइसकेका थिए । महासेठले अरूलाई लगाउनु पर्दैन म आफैं गर्छु भन्दै लेखनदासबाट फाइल मगाउन लगाए । अनि, काम फत्ते गर्न ७५ हजार रुपैयाँ चाहिने प्रस्ताव राखे । बोधराज हैरान भए । उनी कार्यालय धाएको निकै दिन भइसकेको थियो । ७० वर्षीय बुबालाई बिहान १० बजे लिएर जान्थे, बेलुकी चार बजे फर्कन्थे । १० गते बिहीबार बिहान फेरि उनी नापी कार्यालय गए । सर्भेयर महासेठलाई भेटे । उनले ७५ हजार भए तत्काल काम गरिदिने आशा फेरि देखाए । आफ्नो कतै कमजोरी छ कि भन्ने बोधराजले खोजे । फाइलको कागज सबै फोटोकपी गरेर लेखनदास र आफन्तलाई पनि देखाए । 

कति दिन धाउने ? दिक्क भएर उनले गुनासो गर्ने ठाउँ खोजे । नापी कार्यालय प्रमुख भेटे, जो सम्बन्धित फाँटवालालाई भेट्न भन्दै पन्छिए । अनि बोधराजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्न आफन्तले सुझाए । उनलाई यो सुझाव ठीक लाग्यो । ‘नापीका कर्मचारीले सेवाग्राही छिरेदेखि नै बार्गेनिङ गर्छन् । फिल्ड जानुपर्‍यो भने दुई हजारभन्दा कम पैसामा जान मान्दैन,’ उनले सुनाए, ‘यस्तालाई कानुनी कठघरामा ल्याउनु सज्जन नागरिकको कतव्य ठानें । अनि अख्तियार गुहारें ।’ ११ गते शुक्रबार उसैगरी बुबालाई लिएर उनी नापी कार्यालय धाए । ७५ हजार रुपैयाँ दिएको भोलिपल्टै काम गरिदिने आश्वासन फेरि पाए । त्यसपछि घर फर्किएर बुबालाई छाडेर उनी अख्तियार हानिए । आयोगमा आफ्नो समस्या सुनाए । त्यो दिन चार बजिसकेको थियो । आइतबार ‘स्ट्रिङ अपरेसन’ गर्ने योजना बन्यो ।

बोधराजले नापीमा निवेदन दर्ता गरेको १४ औं दिन अर्थात् मंसिर १३ गते बोधराजले महासेठलाई फोन गरे । बेलुका चार बजेसम्म जति बेला आए पनि काम गरिदिने महासेठले बताए । अख्तियार टोली दिउँसो १२ बजेपछि बोधराजको बालाजुस्थित घर पुग्यो, त्यहीँ अपरेसनको योजना बन्यो । घूस दिने रकम आयोगले प्रमाणका लागि आफैंले ल्याएको रहेछ । हजारको ७५ वटा नोटको फोटो कपी पनि गरेको रहेछ । उक्त पैसा बोधराजलाई दिएर टोली नापीतिर अघि बढ्यो । आयोगले बोधराजलाई महासेठसँगको कुराकानी पनि रेकर्ड गर्न लगाएको थियो । उनीसँगको गतिविधि नियाल्ने छुट्टै उपकरण पनि पठाएको थियो । आयोग टोली सवा एक बजे नापी कार्यालय पुग्दा सेवाग्राहीको भीड थियो । 

बोधराजले महासेठलाई भेटे । मागेजति रकम पाउने भएपछि महासेठको टोलीले उनको काम फटाफट गर्‍यो । आयोग टोली भने कर्मचारीहरूलाई निगरानी गरिरहेको थियो । रकम पनि लिने अनि उनको काम पनि टुंग्याउन महासेठ दोस्रो तल्लाको कार्यालय प्रमुखको कोठातिर लागे । निमित्त कार्यायल प्रमुख विजयकुमार यादवलाई फाइलमा सही गर्न लगाए । अनि महासेठ त्यो कोठाको भित्रपट्टि सर्भर–रुममा छिरे । त्यहाँ बोधराजले ५० हजार पेस्की लिन आग्रह गरे । लालपुर्जा बनेपछि थप २५ हजार दिने आश्वासन दिए । पैसा बुझाउँदै गर्दा बोधराजले ढोकैमा बसेको अख्तियारबाट खटिएका प्रहरीलाई फोन गर्न भ्याए । पैसा बुझाएर बोधराज बाहिर निस्कनेबित्तिकै सिभिलमा खटिएका प्रहरी भित्र छिर्दा महासेठ सर्भर रुमको ढोका लगाउँदै थिए । उक्त कोठामा निमित्त कार्यालय प्रमुख विजय र महासेठ मात्रै थिए । कार्यालय प्रमुखको कोठामा सादा पोसाकका प्रहरीले उनलाई बाहिर जान रोके । 

केही बेरमै अपरेसनका लागि खटिएका सादा पोसाकका डीएसपीसहित प्रहरी र कर्मचारी पनि आइपुगे । डीएसपीले आफू अख्तियारबाट आएको परिचय दिए । त्यतिन्जेलसम्म यादव भने कोठाभित्रको गतिविधि थाहै नपाएको जस्तै गरी सेवाग्राहीको काम गर्न व्यस्त थिए । आयोग टोलीले महासेठलाई सोधपुछ गर्न थाल्यो । बोधराजको काम नियमसंगत थियो÷थिएन ? खल्तीमा कति पैसा छ ? खल्तीमा भएको पैसाको बन्डलमा कति–कतिको नोट छन् ? कस्तो रबरले बाँधिएको छ ? महासेठले मलीन स्वरमा घर खर्चको लागि पैसा बोकेको सुनाए । रबरको रंग थाहा नभएको बताए । कतिको नोट छ भन्ने पनि खुलाउन सकेनन् । ज्याकेटको देब्रेतर्फका खल्तीमा राखेको पैसा बारम्बार निकाल्न खोज्थे । तर आयोग टोलीले एकछिन भन्दै रोकिरहन्थ्यो । 

टोली खानतलासी गर्ने पुर्जी दिएपछि मात्रै खल्तीको पैसा निकाल्न चाहन्थ्यो । महासेठको शरीर खानतलासी गर्नुअघि नजिकका प्रहरीलाई बोलाइयो । कार्यालयका सबै कर्मचारी अघि राखियो । वरपरका स्थानीयलाई पनि बोलाइयो । महासेठको ज्याकेटको देब्रो खल्तीको पैसा बोधराजले दिएको हुन सक्ने टोलीले आकलन थियो । तर, उक्त पैसा अर्कै भएको पुष्टि भयो । त्यसपछि थप अनुसन्धान अघि बढ्यो । बोधराजले दिएको पैसा उनले कहाँ राखे ? पैसा लुकाएको ठाउँ देखाउन बारम्बार आग्रह गर्‍यो टोलीले । तर महासेठ तयार भएनन् । पछि आयोग टोलीले नै खोजी गर्दा सर्भर र वाइफाईको डिभाइस (राउटर) राखेको ठाउँमा फ्याँकिएको रहेछ । 

उनले आफूले राखेको स्वीकार नगरेपछि आयोगले ‘फिङ्गर प्रिन्ट लिने प्रक्रिया अघि बढायो । प्रयोगशालाबाट टोली झिकाइयो । त्यसपछि महासेठ आफैंले उक्त ठाउँबाट पैसा निकाले । अनि महासेठको पूरै शरीर खानतलासी गरियो । ज्याकेटमा ३० हजार रुपैयाँ भेटियो । त्यो रकमको स्रोत उनले खुलाएनन् । अनि आयोगले फोटोकपीसँग राउटरमाथिको पैसा भिडायो । ५० हजारको बन्डलका सबै नोट आयोगबाटै पठाइएको पाइए । टोलीले फोटोकपीमा महसेठलाई उक्त रकम आफ्नो साथबाट बरामद भएको लेख्न आग्रह गर्‍यो । तर, उनले इन्कार गरे ।

‘त्यो पैसा मैले राखेकै होइन किन मेरो साथबाट भन्नु ?’ उनले भने, ‘मेरो साथबाट भन्नेचाहिं लेख्न नपरे हुन्थ्यो । यसरी लेख्दा त मलाई अप्ठ्यारो हुन्छ ।’ अनि उनले यसरी लेखे, ‘यस फोटोकपीमा रातो मसीले ठीक लगाएका नोटहरू कार्यालय प्रमुखको ढोकासँगैको कम्प्युटर सर्भर राउटर राखिएको स्थानबाट बरामद गरिएको ठीक साँचो हो ।’ आयोग टोलीले सबै प्रक्रिया पूरा गर्दा साँझ साढे ५ बजेको थियो । आयोगले नियन्त्रणमा लिएर जानुअघि उनले कहाँ लाने हो भन्ने जिज्ञासा राखे । उनका साथीहरू मिलाउनुपर्छ भन्दै दबाब दिइरहे पनि बोधराजले टेरेनन् ।
स्रोत : कान्तिपुर दैनिक

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.