Powered by Blogger.
३ नं प्रदेशकै छोटो र वैकल्पिक बन्न सक्छ लामाबगर नाका

दोलखा, २१ असोज ।

भारतले नेपालविरुद्ध नाकाबन्दी गरेपछि उत्तरी नाका खोल्ने चर्चा चल्दा दोलखाको लामाबगर नाकालाई अरुभन्दा सुरक्षित र छोटो विकल्पको रुपमा हेर्न थालिएको छ । विगतमा नेपाल–तिब्बत आर्थिक करिडोरका रुपमा रहेको यो नाका खोल्न सरकारले सडक विभागमार्फत बर्सेनि रकम खर्चने गरी पनि त्यो बालुवामा पानी हाले सरह भएको छ ।

जानकारका अनुसार तिब्बतको प्रमुख व्यापारिक सहर सिगात्सेबाट नेपाल आइपुग्ने सबैभन्दा छोटो लामाबगर नाका हो । ‘कोदारीभन्दा ७१ किलोमिटर छोटो पर्छ,’ नेपाल–चीन हिमालय मैत्री समाजका अध्यक्षसमेत रहेका दोलखा क्षेत्र नम्बर २ का एमाले सांसद आनन्द पोखरेलले भने ।

सांसद पोखरेलका अनुसार लामाबगर नाका मधेस र मध्यपूर्वी भेगका लागि तिब्बतसँग व्यापार बढाउने सजिलो विकल्प हुन सक्छ । पहिरोको जोखिम बढी भएको केरुङ र कोदारीभन्दा लामाबगर नाका सुरक्षित पनि छ । ‘अधिकांश भूभाग चट्टाने पहराले बनेकाले यसमा पहिरोको जोखिम असाध्यै कम छ,’ पोखरेल भन्छन् ।

मितेरी नाका खुल्नु अघिसम्म लामाबगर हिँडेर तिब्बत आउजाउ गर्नेको मुख्य बाटो थियो । काठमाडौं आसपासका जिल्ला र दोलखा रामेछाप, सिन्धुलीसम्मका मानिस नुन लिन भोट जाँदा यही नाका प्रयोग गर्थे ।

ुद्वन्द्वकाल अघिसम्म यहाँको भन्सार कार्यालयले राजस्व संकलन गर्दै आएको थियोे,ु स्थानीय मिजार शेर्पाले भने । द्वन्द्वकालमा भन्सार विस्थापित भएपछि हिँडेर आउजाउ गर्नेसमेत घटेको शेर्पा बताउँछन् । ‘अहिले सीमासँग जोडिएको लप्ची गाउँका बासिन्दा मात्र आउजाउ गर्छन्,’ मिजारले भने । पछि सरकारले लामाबगरमा भन्सार कार्यालय खोले पनि चहलपहल छैन ।

सदरमुकाम चरिकोटबाट साढे ४ किलोमिटर परको दोलखा बजारबाट माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले खनेको सडक सुरु हुन्छ । फराकिलो चौडा ग्राभेल सडक ३८ किलोमिटर परको सिगँटी बजार हँुदै लामाबगर उपत्यका पुग्छ । कतिपय स्थानमा चट्टानयुक्त भीर छेडेर लगिएको सडक सदरमुकामबाट ६८ किलोमिटर यात्रा गरेपछि लामाबगर उपत्यका पुगिन्छ । केही ठाउँमा गत वैशाखको भूकम्प ल्याएको पहिरोले सडक बिगारेको छ । यसलाई मर्मत गर्ने तयारी आयोजनाले थालिसकेको छ । लामाबगर उपत्यकामा बन्दै गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधस्थलसम्म उसैले सडक बनाइसकेको छ ।

यही बाँधस्थलबाट सुरु हुन्छ– सरकारले खोल्ने योजना बनाएको लामाबगर नाका पुग्ने बाटो । केही परसम्म सडकको ट्र्याक जस्तो खोलिएको छ । बर्सेनि यसका लागि बजेट छुट्ट्याइन्छ । ठेकेदारले काम नगर्दा फ्रिज हुन्छ । ‘ठाडो भीर र चट्टानयुक्त पहाड फोरेर सडक बनाउनुपर्ने जटिलताका कारण ठेकेदारले कामै गर्न सक्दैनन्,’चरिकोट सडक डिभिजन सडक कार्यालयमा ३ वर्ष काम गरेर भर्खरै सरुवा भएका डिभिजन प्रमुख कमलेशकुमार कर्ण भन्छन्, ‘त्यसैले बर्सेनि रकम फिर्ता पठाउनुको विकल्प हामीसँग हुँदैनथ्यो ।’

उनी २–४ करोड बजेट छुट्ट्याउनुको सट्टा आयोजना नै बनाएर सुरुङसहितको योजना बनाए यो नाका खोल्न सहज हुने बताउँछन् । लामाबगरबाट तिब्बत जोड्न अधिकारीहरुले सुरुङ मार्ग र सोझै सडक गरी दुई विकल्प अघि सारेका छन् । सुरुङबाट जोडे ६ किलोमिटरमा लामाबगरबाट तिब्बतको फलाक पुगिन्छ । सडकबाट ३१ किलोमिटर हुन्छ । फलाकसम्म चीन सरकारले सडक ल्याइसकेको छ । फलाकबाट टिंग्री हुँदै सिगात्से पुग्न ४ सय ३५ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सिगात्सेबाट कोदारी निस्कन ५ सय ६ किलोमिटर पर्छ ।

स्थानीय अधिकारीहरु लामाबगर नाकाले मध्यपूर्वी पहाडदेखि मधेससम्मलाई सजिलो बनाउने बताउँछन् । ‘यो नाका खोल्दा सिंगै मध्यपूर्वलाई सजिलो हुन्छ,’ डिभिजन सडक कार्यालय चरिकोटमा भर्खरै आएका प्रमुख रामहरि पोखरेल भन्छन् ।

यो नाका अन्यभन्दा सजिलो र सुरक्षित छ । ‘अधिकांश सडक चट्टानयुक्त भिर छेडेर लगिएका कारण पहिरोको जोखिम अन्तभन्दा असाध्यै कम छ,’ सांसद पोखरेलले भने । यस्तै लामाबगरबाट भारतीय सीमा पुग्नसमेत अन्यत्रबाट भन्दा छोटो हुने बताउँछन् । ‘यसलाई नेपाल भएर भारत–चीन व्यापार गर्ने सबैभन्दा छोटो बाटो पनि बनाउन सकिन्छ, पोखरेल भन्छन्,दोलखाबाट रामेछाप, सिन्धुली, महोत्तरी हुँदै भिटामोड नाका जोड्न सहज हुन्छ ।’

लामाबगरसहित केही नाका खोल्न चीन सरकारले नेपाल सरकारसँग लिखित समझदारी गरिसकेको छ । ‘यो नाका खोल्न लिखित समझदारी भइसकेको छ,’ सांसद पोखरेल भन्छन् ‘छिटो नाका खोल्न सरकारले चिनियाँ दूतावासमार्फत कुरा अघि बढाउनु पर्छ ।’

लामाबगर नाका खोले दोलखासहित मध्यपूर्वी पहाड र सिंगै देशमा सामान आयात गर्न सजिलो हुने जिल्लाका व्यवसायी बताउँछन् । ‘३ नं प्रदेशकै छोटो र वैकल्पिक नाका लामाबगर बन्न सक्छ,’दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमालले भने, ‘अन्य नाकामा अफ्ठेरो र समस्या हुँदा यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।’
नागकिर दैनिकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.