Powered by Blogger.
युरो-डलर खानेहरूको खतरनाक खेल


काठमाडौँ, १७ असोज ।

भारतको विदेश सचिव सुब्रमन्यम जयशंकर नेपालमा संविधान जारी हुनुभन्दा अघिल्लो दिन अचानक काठमाडौं आएर संविधान रोक्न नसके पनि नेपालमा जातीय तथा क्षेत्रीय साम्प्रदायिक दंगाको बिऊ रोपेर फर्किएको खुलासा भएको छ । संविधान जारी गर्ने प्रक्रियाबाट नेपालका शीर्ष नेतालाई रोक्न नसकेपछि उनले तराईमा मधेशी र थारुलाई मिलाउने र पहाड तथा हिमालमा खस आर्य र आदिवासी जनजातिलाई भिडाउने सूत्र फमाएर हिंडेको उच्च स्रोतले जनाएको छ ।

जयशंकर फर्किए लगत्तै नाटकीय रुपमा थारु मधेशी सहकार्यको प्रक्रिया अघि बढ्नु र आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरूले संविधान अस्वीकार गर्दै महासंघका अध्यक्ष नगेन्द्र कुमाल र महासचिव पेम्बा भोटेको राजीनामा माग्नुलाई संयोगमात्र मान्न सकिदैन । स्रोतका अनुसार, विदेश सचिव जयशंकरले भारत फर्किनु अघि मधेशी मोर्चाका नेताहरू र थारु आन्दोलनकारी नेताहरूलाई राजदूतावासमै बोलाएर संयुक्त रुपमा सत्ता विरुद्ध आन्दोलन केन्द्रित गर्न निर्देशन दिएका थिए । ‘आप लोग एक होकर आन्दोलन आगे बढाइए, जो कुछ चाहिए ओ सब राजदूतावाससे आपको मिलेगा’ जयशंकरको भेटमा सहभागी एक थारु नेताले भने ।

जयशंकरले आदिवासी जनजाति नेताहरूलाई पनि भेट्न खोजेका थिए । तर अहिले नै नेपालका आदिवासी जनजाति नेताहरूलाई विश्वास गर्ने अवस्था नरहेको र संविधानमा आदिवासी जनजातिहरूको समर्थन रहेकाले उनीहरूका नेतालाई बोलाएर कुरा गर्दा ब्याक फायर हुने सुझाव राजदूतावासका अधिकारीले दिएपछि उनी भेट नगरी हिंडेका थिए । त्यसपछि राजदूतावासले बिभिन्न च्यानलबाट आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरू, जो अहिले कुण्ठा पालेर बसेका छन् उनीहरूलाई उपयोग गर्न खोज्यो ।

सुरेश आलेमगर, परशुराम तामाङ, ओम गुरुङ, पासाङ शेर्पा र राजकुमार लेखीले संयुक्त पत्रकार सम्मेलन गरेर संविधानलाई पूर्णतस् अस्वीकार गर्ने बताए । जबकि यो संविधान आदिवासी जनजातिको हितमा रहेको भन्दै महासंघका अध्यक्ष तथा कांग्रेस सभासद नगेन्द्र कुमाल र महासचिव तथा एमाले सभासद पेम्बा भोटेले संविधानमा हस्ताक्षर गरिसकेका छन् । संविधानसमा प्रतिनिधित्व गर्ने १९१ जनजाति सभासदमध्ये एकजना अशोक राई बाहेक ९० जनजाति सभासदले हस्ताक्षर गरेका छन् । संविधानमा आदिवासी जनजातिले भनेका प्रायस् सबै मागहरू समेटिएको भन्दै यसको स्वागत समेत गरिसकेका छन् ।

संविधानलाई मुलुकका आदिवासी जनजातिले स्वागत गरिसकेको अवस्थामा केही समय यता महासंघमा हालिमुहाली गर्न नपाएर बेरोजगार बनिरहेका केही पूर्व पदाधिकारी मधेश र थारु आन्दोलनको समर्थन गर्दै बाहिर आए । यद्यपि यो खेल राजकुमार लेखीको थियो । केही समयअघि पद्मरत्न तुलाधरलाई नेता बनाएर सम्झौताहीन आदिवासी जनजाति आन्दोलन गर्ने भनेर हिंडेका पर्शुराम, ओम र पासाङहरूसंग भिड्न लेखीले महासंघका कुमाल र भोटेलाई साथ दिएका थिए । यो प्रकरणमा लेखीले जितेका छन् ।

‘महासंघका नाममा डलर र युरो खाएर हिंडेकाहरू पछिल्लो समय पद्मरत्न आन्दोलनका नाममा विदेशमा रहेका नेपालीहरूबाट बीस तीस लाख रुपैयाँ उठाउन सफल भए, अहिले युरो र डलरले नपुगेर भारुतिर आकर्षित भएका हुन्’ महासंघका एक पदाधिकारीले भने । भारतको उद्देश्य नेपालमा सबैतिर साम्प्रदायिक दंगा मच्चाउने र त्यही निहुँमा आफू छिर्ने रहेको रिपोर्ट गृह मन्त्रालयले पाएको स्रोतको दावी छ । त्यसका लागि पहाडमा जनजाति र खस, आर्य भिडन्त गराउनुपर्ने हुन्छ ।

त्यो काममा महासंघका केही पूर्व प्रमुखहरूलाई प्रयोग गर्न खोजिए पनि आदिवासी जनजाति कुनै खाले प्रायोजित आन्दोलनमा नजाने महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताइसकेका छन् । त्यस्तै महासचिव पेम्बा भोटेले आफूहरूको राजीनामा माग्ने पूर्व प्रमुखहरूलाई महासंघका कुनै पनि निकायमा एक तिहाई संख्या पुर्‍याएर देखाउन चुनौती दिएका छन् । धर्म निरपेक्षता, समावेशी समानुपातिक, जनजाति आयोग जस्ता उपलव्धीहरू जनजाति सभासद र महासंघको पहलमा भएको भन्दै उनीहरूले केही पूर्व प्रमुखहरू जनजाति आन्दोलन बद्नाम गराउन हिंडेको बताएका छन् ।

पहाडमा भारतले चाहे जस्तो दंगा हुन असम्भव छ । किनकि पहाडका जनजाति र खस आर्य सदियौंदेखि सहअस्तित्वमा बाँचिरहेका छन् । अर्को कुरा पहाडी आदिवासी जनजातिहरू एमाले, कांग्रेस र एमाओवादी पार्टीको गाउँदेखि केन्द्रसम्मको नेतृत्व तहमा छन् ।

यी पार्टीले संस्थागत निर्णय नगरेसम्म जमानत जफत भएर सभासद बन्ने सपना तुहिएपछि कुण्ठा बोकेर हिंडेका परशुराम तामाङ, ओम गुरुङहरूले भनेका भरमा कोही सडकमा आउने अवस्था पनि छैन । आउने भए पद्मरत्न नेतृत्वको आदिवासी जनजाति आन्दोलनमा पाँचसय मान्छे जुटाउन नसकेर जनजाति महासंघको आन्दोलनसामु आत्मसमर्पण गर्ने थिएनन् ।

भारतको पहिलो प्राथमिकता मधेशी र थारु मिलाउने हो । किनकि थारु र मधेशी नमिलेसम्म तराईमा आफूले भने जस्तो नहुने भारतले बुझेको साँघुमा खवर छ । त्यसका लागि उसले थारु समुदायका केही पात्रलाई प्रलोभनमा पारेर हात लिएको चर्चा थारुहरूबीच नै चलेको छ । भारतीय राजदूतावासमा गएका थारुहरूमध्ये कतिपयले भारतको योजना सुनेपछि हात झिकेको स्रोतको दावी छ ।

थारुको आन्दोलन अलग्गै हुनुपर्छ, मधेशीसंग मिल्नु हुदैन भन्दै आएका राजकुमार लेखी, रामजनम चौधरीहरू अहिले राजेन्द्र महतोसंग मिल्न उद्यत देखिनु गम्भीर कुरा हो । तर, मधेशीसंग मिल्ने सवालमा थारु आन्दोलनकारी प्रष्ट रुपमा विभाजित भएका छन् । नेपालमा सबै समुदायबीच विभाजन ल्याएर दंगा मच्चाउने भारतीय योजना असफल पार्न सबै एकजुट हुनुपर्ने देखिएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.