Powered by Blogger.
अब दसैँको पौराणीक महत्व बुझनु पर्छ


प्रा.डा. माधव भट्टराई

दसैँको महत्त्वबारे बताइदिनुहोस् न ?

नेपाली समाजको निकै नै गौरवपूर्ण चाड हो । आश्विन शुल्कपक्षको दिनलाई बडादसैँ भन्ने चलन छ ।  सबै क्षेत्रका मानिस यसमा सहभागी हुने गरेकाले महत्त्व झनै बढ्दै गएको छ । दसैँलाई आआफ्नो रुचीअनुसार कसैले धार्मिक काम, कसैले अन्य काम गरेर मनाउने गरेका छन् । यसको मूलउद्देश्य धार्मिक उपासना हो । यो समयमा शक्तिको आराधना, उपासना गरिन्छ । त्यसमा आध्यात्मिक वा बाह्य दुवै शक्ति हुने गरेको छ । आश्विन शुक्ल पक्षदेखि विशेष पुजाआराधना गरिन्छ । दसैँमा दुर्गा र भगवतीको साधना गरिन्छ । यो अनिवार्यजस्तै छ । शास्त्र तथा धर्मग्रन्थमा लेखिएको छ कि, शरद्कालको नवरात्रमा गरेको उपासनाको फल पाइन्छ । माताका रुपमध्ये हामीले महाकाली, महालक्ष्मी, महासरस्वती, अथवा नवदुर्गाको पुजा गर्छौँ । दुर्गाका नौ रुप छन् ।

यसैलाई नवदुर्गा भनिएको हो । यसको संस्कृतमा यस्तो श्लोक छः ‘प्रथम शैलपुत्री च द्वित्तीयं ब्रम्हाचारिणी, तृतीय चन्द्रघण्टे ति कुस्माण्डे ति चतुर्थकम्, पञ्चमम् स्कन्दमाते ति षष्टम् कात्यायनी सप्तमम् कालरात्री ती महागौरी ति चाष्टमाम् नवौँ सिद्धिदात्रृ च नव दुर्गा प्रकृतिता ।’ बडादसैँको घटस्थापनादेखि नवमीसम्म पूजा गरिनु पर्ने यी देवीहरु हुन । यी नौ प्रकृतिका देवीको पुजा गरौँ या देविका अनन्त रुपमध्ये कसैको पनि पूजा गर्न सक्छौँ ।

यसमा धार्मिक पक्ष पनि रहेको छ । दसैँको समयमा मन्दिर जाने प्रचलन छ । शक्तिपीठ विशेष गरी देवीको मन्दिरमा जाने प्रचलन छ । कतिपयले घरमा नै मन्दिर बनाएर पूजा गर्ने प्रचलन छ । प्रतिपदाको दिन पूजा गरेर जमरा राखेर नौ दिनसम्म पुजा गर्ने प्रचलन छ । अन्तिम दिन दुर्गाको प्रसाद ग्रहण गर्ने मान्यजनको आशीर्वाद लिने गरिन्छ । यसबाट बल, उत्साह र प्रेरणा मिल्छ । यस्तै, यसको सामाजिक पक्षका कारण विदेशमा रहेको मानिस पनि दसैँमा मात्रै भए पनि घर फर्कने भेट गर्ने प्रचलन रहेको छ ।

जसले गर्दा लामो समयदेखि भेट नभएका परिवारको भेट हुने गरेको छ । यसले सद्भाव पनि कायम गर्ने गरेको छ । दसैँमा पिङ खेल्ने राम्रो लुगा लगाउने, मिठो खाने रमाइलो गर्ने प्रचलन विगतदेखि नै छ । नेपालीको ठूलो चाड भनेको दसैँ हो । यो हिन्दुको मात्र होइन नेपालीहरुको पर्व हो । विस्तारै सबै समुदायले यो पर्व मान्न थालेका छन् । यसले समाजलाई जोड्ने पनि काम गर्छ । जोडने कामलाई संस्कृतिमा पर्व भनिन्छ । जसले समाजलाई जोड्ने काम गर्छ ।

दसैँलगायतका पर्व क्षेत्री ब्राम्हणमैत्री भए भन्ने आरोप छ नि ?

यो निकै गम्भीर विषय हो । नेपालमा पनि हेर्ने हो भने पशुपतिनाथमा हिन्दुहरुलाई मात्र प्रवेश छ । तर त्यहाँ सबै धर्मका मानिस प्रवेश गर्छन् । त्यहाँ कुनै विभेद छैन । हामी स साना बालबालिकालाई मञ्जुश्रीमा लगेर कखरा पढाउछौँ । नेपालमा खै कहाँ छ विभेद ? यो विभेद राज्यले नै ल्याएको हो । जात, धर्म, लिंग जे भने पनि सबै राज्यले ल्याएको विभेद हो । यसको अन्त्य गर्नुपर्छ ।

 यस विषयमा विद्यालयमा अध्ययन हुनुपर्छ । हिन्दुको पूजाकोठामा बुद्धको पनि मूर्ति राखिन्छ । दशमध्ये नव अवतार प्रभु भनेर बुद्ध मान्ने प्रचलन छ । बुद्धबारे जान्न सबै हिन्दुग्रन्थ पढनु पर्छ । बुद्ध प्रवचनको भाषाको माध्यम हो पाली । त्यसको शास्त्रीय रुप संस्कृति हो । बाहिर पहेँलो–रातो जुन पोशाक लगाए पनि फरक पर्दैन ।

यो विभेद भाषणमा मात्र हो । व्यहारमा छैन र हुनु पनि हुँदैन । हाम्रो दर्शनले पनि भेद छैन भनेको छ । नेपाली सबले मिल्नु पर्ने भनाइ छ । नजिकिँदो दसैँसँगै यो हाम्रो पर्व होइन भन्ने प्रचलन छ । यस्तै तिहार हाम्रै हो भन्नेको पनि कमी छैन । तिहारमा देउसी ‘हामी त्यसै आएनौ, बलीमा राजाले पठाए’ भन्ने गरिन्छ । बलीहाङ राजा भनेको लिम्बुका राजा हुन्, तिहार लिम्बुले सुरु गरेको भन्ने प्रचलन पनि छ । यो भनेको पर्वमा राजनीति गर्नुहुँदैन ।

दसैँको समयमा बली रोक्नु पर्छ भन्ने आवाज उठिरहेको छ, पशुअधिकारका कुरा उठिरहेका छन्, हिन्दु संस्कारमा बढी बली दिनु पर्छ भन्छन् नि ? 


बली त हिन्दु धर्म मान्नेले भन्दा बढी अन्यले दिने गरेका छन् । बेलायत, अमेरिकामा कति बली दिइन्छ ? त्यसको हिसाब नै हुँदैन । इदमा कति काटिन्छ । त्यसको कुनै चर्चा हुँदैन । तर नेपालमा गढीमाईको विषयलाई लिएर धेरै कुरा गरिन्छ । विदेशमा हेर्ने हो भने हात्तिमात्र नभएर ऊट सबै भन्दा बढी काट्ने प्रचलन छ ।

यो दसैँ र बलीबीचमा के मेल छ ?

बलीप्रथा हामीले चलाएको होइन । यो त पुर्खाले चलाएको हो । दसैँमा हनुमान ढोकालगायतका ठाँउमा बली दिने प्रचलन छ । यो नेपालले आज सुरु गरेको होइन । यसको छुट्टै इतिहास छ । संस्कृतिमा नेपाल भारतको शिर हो । कुनै समयमा नेपालले विश्वलाई संस्कृति सिकाउने गरेको थियो । वेद नेपालमा निर्माण भएको हो । शास्त्रले भन्छ, ‘आफूले जे खाइन्छ, त्यो चढाएर खाए प्रसाद भयो ।

 ‘देवानपृति समभ्यच्च खादा माम्सम नदोसभा’ अर्थात् मासु खान्छौ भने देवतापृतिलाई चढाएर प्रसादको रुपमा मात्र खाए दोष लाग्दैन । स्वादको लागि खाए दोष लाग्छ । पहिलाको तुलनामा अहिले बली घट्दै गएको छ । बली दिने हो भने विधिपूर्वकमात्र दिने । बलीबाट अलग हुनु राम्रो कुरा हो । कसैले बली रोक्छु भनेर हुँदैन । यो चलिआएको प्रचलन हो । नेपाल भारतजस्तो होइन । शिवको पुजा गरे पनि हुने, सन्तोषीमाताको पुजा गरे पनि हुने, हनुमानको पुजा गरे पनि हुने । नेपाल धर्म समन्वयको देश हो । पञ्चायनको पुजा गर्ने चलन नेपालमा छ । भारतमा त्यो थाहा  छैन ।

 हजार वर्ष गुलाम भएर बसेको देश भारत कसरी थाहा होस् । नेपाल त गुलाम भएको छैन नि !  भारतका अधिकांस मन्दिरमा क्रिश्चियनले हात हालेका छन् । सबै मठमन्दिर अपवित्र भएका छन् । भारतका लामो समय मुसलमानले राज्य गरेका र पछि बेलायती क्रिश्चियनहरुले शासन गरेकाले । तर, नेपालमा कहाँ त्यस्तो छ । नेपालमा मौलिकता छ । त्यो कायम राख्नु पर्छ ।

दसैँमा केही मानिसले रामायण पाठ गर्छन्, केही चण्डी पाठ गर्छन्, कुनचाहिँ ठीक हो ?

शक्तिको उपासना भएका कारण जसलाई चण्डी भनिन्छ । खास पढ्नु पर्नेचाहिँ चण्डी नै हो । रामायण पढेर पनि कुनै नराम्रो कामचाहिँ भएन । पढ्नेचाहिँ चण्डी नै हो । हिमालकी पुत्रीको पाठ गर्नुपर्छ । जुन नेपालमा छ । यसमा दुर्गाको कुरा पनि आउँछ । जुन मार्कण्य पुराणमा छ । यो समयमा देवी भागवत, मार्कण्ड्य पुराण पाठ गर्ने समय हो । एक घण्टा चण्डी पढ्नेले दुई घण्टा रामायण पढ्ने गरेका छन् ।

दसैँमा जमराको महत्त्व के छ ?

जमरा ‘यवाङ्कुर’ हो । ‘यवाङ’ भनेको जौ हो । यो समयमा जौ टुसाउनु पर्छ । मुख्य भनेको जौ नै हो । जौको साथमा अन्य पनि राखेको हुन्छ । त्यो नगर्दा राम्रो । चलनअनुसार मकै पनि राख्ने गरेको छ । जौ धार्मिक तथा स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । औषधिमा पनि यसलाई मुख्य मानिन्छ । जौको जुन जमरा बन्छ, त्यो जौको टुसामात्र खाँदा पनि केही रोग थाहा हुन्छ । देवी देवताको पुजामा पनि जौ चाहिन्छ । नौ दिनसम्म पूजा गरेर राखिन्छ । चोखो ठाउँमा राखेको हुन्छ । यो जमरालाई देवीको प्रसादका रुपमा लिइन्छ । हामीले रोतो टीका लगाएर जमरा लगाउने प्रचलन छ ।

टीका लगाउन विषेशगरी कस्तो पोशाक र रंग प्रयोग गर्नुपर्छ ?  


रातो रंगको टीका लगाउनु पर्छ । यो शक्तिको रंग पनि हो । हुन त क्रान्तिको रंग पनि हो । दुर्गाले जस्तो क्रान्ति कसले ग¥यो र ? त्यो क्रान्ति पो क्रान्ति, अहिलेको क्रान्ति के क्रान्ति ? त्यसकारण रातो प्रयोग गर्नुपर्छ । दसैँमा जुन देवताको पूजा गर्ने हो, त्यही रंग प्रयोग गर्नु पर्छ । फुल पनि रातो, अक्षता पनि रातो, कपडा पनि रातो लगाउनु पर्छ ।

कुन मन्त्र उच्चारण गर्नुपर्छ ?

यो आशीर्वाद नै आशीर्वादले भरिएको मन्त्र हो । आयु द्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे, ऐश्वर्यंनउशे गतिश्च पवने मानञ्च दुर्योधने दानं सुर्यसुते बलं हलधरे सत्यंम्च कुन्ति सुते सज्ञाने विदुरे भवोतिभवताम् किर्तिश्च नारायणे ।

भनेको गुरु द्रोणाचार्यको छोराको अस्वस्थामा (जो चिरञ्जीवी थिए) जस्तो आयु होस् । दशरथ राजाजस्तो श्रीसमृद्वि होस् । रामको जस्तो शत्रु नास गर्ने क्षमता होस् । नउश राजाजस्तो ऐश्वर्य होस् । हावाको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् । कर्ण जस्तो दानी हुनु । बलरामजस्तो बल होस् । भगवान नारायणको जस्तो कीर्ति चलोस् । यो आशीर्वादको पराकाष्टा हो । यो भन्दा ठूलो छैन ।

 यस्तै महिलाका लागि जयन्ती मंगलाकाली भद्रकाली कपालिनि, दुर्गा क्षमा शिवाधातृ स्वाहास्वधा नमस्तुते, सर्वमंगलमंगल्यै शिवेसर्वार्थसाधिके शरणे त्र्यैम्वके गौरी नारायणी नमस्तुते, भनिन्छ ।
प्रस्तुतिः शोभित थपलिया

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.