Powered by Blogger.
आईओसीले फेरि इन्धन रोक्यो

काठमाडौँ, २८ असोज ।

भारतले रक्सौल डिपोबाट इन्धन उपलब्ध गराउन आनाकानी गर्दा नेपाल आयल निगम (एनओसी) ले झन्डै डेढ गुणा अतिरिक्त व्ययभार बेहोरेर अन्य डिपोबाट इन्धन आपूर्ति गर्दै आएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पछिल्लो २२ दिनदेखि रक्सौल नाकाबाट निगमलाई इन्धन उपलब्ध गराएको छैन । पछिल्लोपटक असोज ५ गते आईओसीले रक्सौल नाकाबाट इन्धन उपलब्ध गराएको थियो ।

यसअघि उपत्यकामा खपत हुने कुल मागको ९५ प्रतिशत इन्धन रक्सौल नाकाबाट आपूर्ति हुन्थ्यो । रक्सौल डिपो उपत्यकाबाट नजिक भएकाले सोही स्थानबाट कुल मागको ९५ प्रतिशत त्यहींबाट आपूर्ति गरिन्थ्यो । ‘सबैभन्दा छोटो मार्ग रक्सौल डिपो भएकाले उपत्यकामा खपत हुने सबै इन्धन त्यहींबाट आपूर्ति हुन्थ्यो,’ निगमका प्रवक्ता दीपक बरालले बुधबार भने, ‘तर ६ गतेदेखि उक्त नाकाबाट आईओसीले इन्धन दिन नमानेपछि अहिले डेढ गुणा अतिरिक्त ढुवानी खर्चमा अन्य तीन नाकाबाट इन्धन आपूर्ति गर्दै आएका छौं ।’

रक्सौल नाका अवरुद्ध भएपछि एनओसीले अहिले झन्डै प्रतिलिटरमा ३ रुपैयाँ अतिरिक्त ढुवानी खर्च जोडेर अन्य नाकाबाट इन्धन आपूर्ति गर्दै आएको छ । निगमले अहिले प्रतिलिटर इन्धनलाई ढुवानी खर्चमात्रै पाँच रुपैयाँ गर्दै आएको छ ।

रक्सौलबाट ढुवानी गर्दा प्रतिलिटर दुई रुपैयाँ ढुवानी खर्च लाग्थ्यो । निगमले अहिले नेपालगन्ज नजिकैको गोन्डा डिपो, भैरहवानजिकैको बेतालपुर डिपो, धनगढी नजिकैको बन्थरा डिपो, विराटनगर नजिकैको बरौनी र काँकडभिट्टा नजिकैको सिलिगुडी डिपोबाट अतिरिक्त खर्च गरेर इन्धन ल्याइरहेको छ । वीरगन्जनजिकैको रक्सौल डिपोबाट इन्धन आपूर्ति ठप्प छ ।

निगमका अनुसार आईओसीले पछिल्लो समयमा ुमाथिु को आदेश भन्दै रक्सौलबाट इन्धन उपलब्ध गराउन बन्द गरेको छ । प्रवक्ता बरालका अनुसार रक्सौलबाहेक अन्य स्थानबाट दुई लाख लिटर इन्धन आपूर्ति गर्दा प्रतिलिटर पाँच रुपैयाँका दरले १० लाख रुपैयाँ ढुवानी खर्च लाग्दै आएको छ । 

यसअघि भने रक्सौलबाट आपूर्ति गर्दा २० लाख लिटरलाई दुई रुपैयाँका दरले चार लाख रुपैयाँ खर्च हुँदै आएको थियो । एक ट्यांकरमा २० हजार लिटर इन्धन हुन्छ।वरालले भने, स्वचालित मूल्य प्रणाली लागेपछि निगम नाफामा गएकाले अतिरिक्त ढुवानी खर्च भए पनि हामीलाई घाटा भएको छैन ।

 थप व्ययभार बेहोरेर पनि हामी अझै एकडेढ महिनासम्म आपूर्ति गर्न सक्षम छौं । अतिरिक्त व्ययभार वहन गरेर पनि आमउपभोक्तालाई केही सीमित मात्रामा भए पनि निगमले इन्धन उपलब्ध गराउँदै आएको छ ।

निगमका अनुसार अतिरिक्त ढुवानी खर्च ६ लाख रुपैयाँबाट आईओसीको मूल्यअनुसार १३ हजार ९१ लिटर पेट्रोल वा १३ हजार सात सय २९ लिटर डिजेल खरिद गर्न पुग्थ्यो । आईओसीले निगमलाई अन्य खर्चबाहेक प्रतिलिटर पेट्रोल ४५ रुपैयाँ ८३ पैसा र डिजेल ४३ रुपैयाँ ७० पैसामा उपलब्ध गराउँदै आएको छ ।

आईओसीले बुधबार फेरि माथि’ को आदेश भन्दै पर्याप्त इन्धन दिन मानेको छैन । भारतका विभिन्न ६ स्थानका डिपोमा बुधबार पुगेका एक सय २६ ट्यांकरमध्ये २८ वटामा मात्रै आईओसीले इन्धन लोड गरेको छ ।

मंगलबार डिपोमा पुगेका ट्यांकरमध्ये ७० प्रतिशतमा लोड गरेको आईओसीले बुधबार करिब २५ प्रतिशतमा मात्रै इन्धन लोड गरिदिएको छ । मंगलबार एक सय ५० मध्ये एक सय एक ट्यांकरमा इन्धन लोड गरिएको थियो । गत शनिबार आईओसीले आवश्यक परिमाणमा इन्धन उपलब्ध गराउने आश्वासन दिए पनि व्यवहारमा भने अझै थोरै परिमाणमा उपलब्ध गराएको निगमले जनाएको छ ।

निगमले जहाजबाट इन्धन ल्याउने भन्‍ने हल्ला निराधार भएको जनाएको छ । निगम स्रोतका अनुसार जहाजबाट ल्याउँदा झन्डै प्रतिलिटर दुई सयदेखि तीन सय रुपैयाँ लाग्ने भएकाले त्यसबारे आधिकारिक रूपमा वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमले कुनै छलफल र निर्णय गरेको छैन ।

निगमले बंगलादेशबाट जहाजमार्फत ल्याउँदा प्रतिलिटर दुई सय रुपैयाँ ढुवानी खर्चका दरले एक लाख लिटरलाई दुई करोड रुपैयाँ ढुवानी खर्च लाग्ने जनाएको छ । यसैगरी कोलकाताबाट जहाजमार्फत ल्याउँदा प्रतिलिटर एक सय ५० रुपैयाँ ढुवानी खर्च लाग्छ । ‘यो निक्कै महँगो र घाटाको व्यापार हुन्छ’ निगमका एक अधिकारीले भने, ‘यस्तो घाटाको व्यापार कल्पना पनि गर्न सकिँदैन ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.