Powered by Blogger.
वैदेशिक रोजगारीमा १० करोडको ठगी

काठमाडौँ, १६ असोज ।

वैदेशिक रोजगारीको नाममा साउन र भदौमा नौ करोड ७२ लाख ३४ हजार चार सय ७१ रुपैयाँ ठगी भएको भन्दै वैदेशिक रोजगार विभागमा विगो दावी गरिएको छ । सो अवधिमा तीन सय ५६ उजुरीमा सो रकम बराबरको ठगी भएको भन्दै विभागमा उजुरी दर्ता भएको छ ।

सो ठगीमा विभागले एक करोड ४८ लाख ९५ हजार १० रुपैयाँ पीडक बाट पीडितलाई विगो भराएको छ । विभागमा परेको तीन सय ५६ ठगीका उजुरीमा एक सय चार उजुरी विभागले फरफारक गरेकोे छ भने ४३ वटा उजुरी अदालतमा दायर भएको छ । सो उजुरीबाट एक करोड ६३ लाख २० हजार चार सय २० रुपैयाँ अदालतमा विगो दावी गरिएको छ । ठगीको उजुरीमा एउटा मात्र उजुरीको विभागले निर्णय गरेर एकलाख रुपैयाँ क्षतिपुर्ति भराएको छ ।

वैदेशिक रोजगारीको नाममा व्यक्तिगत र संस्थागत रुपमा ठगी हुँदै आएको छ । विभागमा संस्थागत (म्यानपावर) अन्तर्गत दुई सय ७८ ठगीको उजुरी परेको छ । सो उजुरीमा चार करोड ९३ लाख तीन हजार सात सय ७१ रुपैयाँको विगो दावी गरेको छ । विगो दावीमा एक करोड आठ हजार १० रुपैयाँ विभागले क्षतिपुर्ति भराएको छ । विभागमा परेको ठगीको उजुरीमा ९६ वटा उजुरी फरफारक भएको छ भने दुई वटा अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीको क्षेत्रमा व्यक्तिगत ठगीका उजुरी पनि आउने गरेको छ । व्यक्तिगत ठगीमा आन्तरिक लेनदेन, घर जग्गाको कारोबार, कन्सल्टेन्सीबाट रोजगारीका लागि विदेश पठाउछु भनेर गरिने ठगी, ढुकुटी लगायतका उजुरी विभागमा आउने गरेको बताइएको छ । व्यक्तिगत पैसा लिने र वैदेशिक रोजगारीमा पठाउने भन्दै कागज बनाउने प्रवृति बढेको छ । जसले गर्दा आन्तरिक लेनदेनका विषय वैदेशिक रोजगारीको ठगीमा पर्ने गरेको छ ।

व्यक्तिगत रुपमा ठगीको संख्या कम हुने र विगो दावी रकम बढी हुने गरेको छ । यस्तै सस्थागतरुपमा उजुरीको सख्या बढी पैसा कम हुने गरेको छ । संस्थागतमा म्यानपावर व्यवसायीहरुले राहदानी नियन्त्रणमा लिने, भनेको समयमा विदेश नपठाउने, बढी शुल्क लिने, रसिद नदिनेजस्ता उजुरी पर्ने गरेको छ । साउन र भदौमा विभागमा व्यक्तिगत तर्फ ७८ वटा ठगीको उजुरी परेको छ ।

जसमा चार करोड ७९ लाख ३० हजार सात सय रुपैयाँको विगो दावी गरिएको छ । विभागमा परेको सो विगो दावीमा ४८ लाख ८७ हजार रुपैयाँ विगो भराएको छ । विभागमा परेको उजुरीमा आठ वटा फरफारक भएको छ भने ४१ वटा उजुरी अदालतमा दायर भएको छ । जसको अदालतमा १० करोड ६३ लाख २० हजार चार सय २० रुपैयाँ विगो दावी गरिएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.