Powered by Blogger.
कांग्रेसले अब के गर्छ ?



काठमाडौँ, २३ असोज ।

दुई दिनसम्म सरकारका विषयमा छलफल चलाए पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कुनै निष्कर्षमा नपुगी टुंगिएको छ । कांग्रेसले नयाँ सरकारका विषयमा केन्द्रीय सदस्यसँग सुझाब माग्न केन्द्रीय समिति बैठक बोलाएको थियो ।

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन एक दिन बाँकी छँदा छलफल थालेको कांग्रेसमा प्रधानमन्त्रीका लागि अन्तिम अवस्थामा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तीनैजनाको दाबेदारी रहेपछि केन्द्रीय समिति बैठक निष्कर्षविहीन हुन पुगेको हो ।

संसद्ले नयाँ प्रधानमन्त्री निर्वाचनको कार्यतालिका जारी गरेसँगै शनिबार जसरी पनि कांग्रेस एउटा निर्णयमा पुग्नैपर्ने हुन्छ । संसद्ले शनिबार प्रधानमन्त्रीको उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले दुई दिनसम्म बैठक चले पनि केही निर्णय नभएको जानकारी दिए । ‘सरकारका विषयमा कसरी अघि बढ्ने भन्ने केही निर्णय हुन सकेन,’ उनले भने, ‘केन्द्रीय समिति बैठक स्थगित गरेर दलहरूसँग कुरा गर्छौँ भनेर शीर्ष तीन नेताहरू जानुभएको छ, एमाओवादी, एमाले, राप्रपा नेपालसँग छलफल गरेर केन्द्रीय समिति बोलाएर पार्टी निर्णय लिनुहोला ।’

सभापति कोइरालाले आफैँ जित्ने अवस्था आए अघि बढ्नेजस्तो मनस्थिति बनाए, तर प्रधानमन्त्रीको उम्मेदवार हुन इच्छुक भएका नेता देउवा र उपसभापति पौडेललाई बाटो खोलिदिएनन् । कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले सहमति गरेर अघि बढ्ने जिम्मा तीन नेतालाई दिएको बताए । अरू दलसँग पनि छलफल चल्दै गरेको भन्दै उनले शनिबार बिहानसम्म कांग्रेसले ठोस धारणा तय गर्ने बताए ।

 एमाओवादीका शीर्ष नेतासँग कांग्रेसको शुक्रबार बालुवाटारमै छलफल भएको थियो । कांग्रेस शीर्ष नेताहरू एमाओवादीले समर्थन नदिएमा पार्टीबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिने पक्षमा नभएको बुझिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.