Powered by Blogger.
ओलीलाई ३३२ सांसद्को समर्थन

काठमाडौँ, २३ असोज । 

 पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन एमालेले संसद्मा रहेका विभिन्न दलका नेतासँगको भेटघाट र छलफललाई तीव्रता दिएको छ । शुक्रबार बिहानैदेखि ओलीनिवास बालकोटमा सुरु भएको भेटघाट साँझसम्म जारी रह्यो ।

संसद्मा रहेका ३१ वटै दललाई सरकारमा सहभागिता र समर्थनका लागि पत्राचार गरिसकेको एमालेले संसद्मा रहेका र संविधान निर्माण प्रक्रियामा सहभागी भएका सबै दललाई बोलाएर सरकार गठनबारे छलफल गरेको थियो । एमाले शीर्ष नेताले १४ वटा साना दल, एमाओवादी र राप्रपा नेपालसँग भेटवार्ता गरेको र उनीहरू सबै ओलीलाई समर्थन गर्न सकारात्मक भएको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।

शुक्रबार बिहानै एमालेले १४ वटा साना दलसँग कुराकानी गरेको थियो । बैठकमा राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, नेपाली जनता दल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, मधेस समता पार्टी, दलित जनजाति पार्टी, बहुजन शक्ति पार्टी, जनजागरण पार्टी नेपाल, अखण्ड नेपाल, समाजवादी जनता पार्टी सहभागी थिए । छलफलमा बालुवाटारमा केही दिनअघि भएको सर्वदलीय बैठकको स्पिरिटमै कुराकानी भएको थियो ।

१६ बुँदे सहमतिको जगमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउनुपर्ने र यदि बहुमतीयमा जानुपरे एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा मतदान गर्ने निर्णय भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

साना दलपछि एमाले र एमाओवादी बैठक बसेको थियो । पार्टीको स्थायी समिति बैठक सकेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, कोषाध्यक्ष हरिबोल गजुरेल, नेता गिरिराजमणि पोखरेल, अग्नि खरेल, शक्ति बस्नेतलगायतका नेताहरू ओलीनिवास बालकोट पुगेका थिए ।

भेटवार्तामा एमाओवादीले स्थायी कमिटीले गरेका तीनवटा निर्णयबारे जानकारी गराएको थियो । एमाओवादीले १६ बुँदे सहमतिअनुसार नै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय पार्टीले नै गरेको बताएको थियो ।

त्यसलगत्तै, एमाले नेतृत्वले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग छलफल गरेको थियो । छलफलमा एमालेबाट अध्यक्ष ओली, नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, विद्यादेवी भण्डारी, अग्नि खरेल, विष्णु पौडेल सहभागी थिए ।

एमाले अध्यक्ष ओलीका स्वकीय सचिव आचार्यका अनुसार अहिलेसम्म एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र संघीय सद्भावना पार्टी, अन्य १३ साना दल तथा एक स्वतन्त्र सभासद्समेत गरी ३ सय ५२ जनाको समर्थन ओलीलाई छ । ओलीलाई अहिलेसम्म ८३ सिट रहेको एमाओवादी र १२ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले औपचारिक समर्थन जनाएका छन् ।

त्यसबाहेक पाँच सिट रहेको माले, तीन सिट रहेको नेकपा संयुक्त, तीन सिट रहेको राष्ट्रिय जनमोर्चा, दुई–दुई सिट रहेको नेपाल परिवार दल र जनमुक्ति पार्टी र एक सिट भएका नेपाली जनता दल, नेपास् राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय पार्टी, मधेस समता पार्टी, दलित जनजाति पार्टी, बहुजन शक्ति पार्टीले ओलीलाई समर्थन जनाएका छन् ।

बैठकमा उपस्थित नभएका अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी र स्वतन्त्र सभासद् चन्द्रेश्वर झाले ओलीलाई प्रधानमन्त्री बनाउन सघाउने प्रतिबद्धता जनाएका छन् । नेपाल मजदुर किसान पार्टीले यसअघि नै ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने बताइसकेका छन् । नेमकिपासँग चारजना सभासद् छन् ।

गच्छदारसँग अलग्गै वार्ता

एमाले टोलीले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको मोर्चासँग अलग्गै कुराकानी गरेको छ । कुराकानीका क्रममा गच्छदार ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्न सकारात्मक भएको ओलीका स्वकीय सचिव आचार्यले बताए । शनिबार मोर्चाको बैठक बसेर आधिकारिक निर्णय गर्ने मोर्चाले जनाएको छ । तीन दलको यो मोर्चासँग १८ सभासद् छन् ।

प्रधानमन्त्रीलाई पुनः स्मरण

शुक्रबार बिहान एमाले नेता नेपाल र उपमहासचिव विष्णु पौडेलसहितको टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर विगतको भद्र सहमतिभन्दा बाहिर नजान पुनः स्मरण गराएको छ । भद्र सहमतिअनुसार सरकार गठन गर्न र एमालेको नेतृत्वमा बन्ने बहुमतको सरकारमा कांग्रेस पनि सहभागी हुन आग्रह गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.