Powered by Blogger.
दोलखाका भूकम्पपीडितले घर बनाउन पाएनन्


चरिकोट, ५ साउन ।

दोलखा सदरमुकाम चरिकोटका सुन्दर कार्की वैशाख १२ गते गएको भूकम्पबाट घर भत्किएपछि टहरामा बस्दै आएका छन् । स्थायी घर बनाउन ऋणका लागि राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्दा कार्यविधि नआएको भन्दै बैंकले दिएन ।

 सदरमुकाम चरिकोटमै होटेल व्यवसाय सञ्चालन गर्दै आएका किशोर नेपालीले पनि राष्ट्रबैंकले भनेअनुसार घर निर्माणका लागि ऋण पाउन सकेनन् । राष्ट्रबैंकले भूकम्प गएको अर्को सातानै भूकम्पपीडितलाई घर निर्माण गर्न दुई प्रतिशत ब्याजमा पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो ।

 राष्ट्रबैंकले भूकम्प प्रभावितका लागि घर निर्माण गर्न बैंक तथा वित्तीय संस्थालाई शून्य प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउने र रकम बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत ब्याजदरमा भूकम्पपीडितलाई दिने कार्यविधि बनाएको थियो ।


कार्यविधि बनेको चार महिना भए पनि अहिलेसम्म एक रुपैयाँ पनि भूकम्पपीडितले घर निर्माण गर्न भनेर कर्जा लगेका छैनन् । राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामार्फत काठमाडौं उपत्यकामा बढीमा २५ लाख र बाहिर बढीमा १५ लाख रुपैयाँ कर्जा दिन सक्ने व्यवस्था गरेको छ ।

नेपाल बैकर्स संघका अध्यक्ष उपेन्द्र पौडेले अहिलेसम्म भूकम्पपीडितबाट घर निर्माणका लागि कर्जाको आवेदन नपरेको जानकारी दिए । कार्यविधिले बैंक तथा वित्तीय संस्थालाई ऋण तिर्न सक्ने व्यक्तिलाईमात्र ऋण दिन भनेको छ, उनले भने, ‘भूकम्पपीडितले ऋण तिर्न सक्ने क्षमताका आधारमा बैंकले ऋण दिने हो ।’

राष्ट्रबैंकले बनाएको कार्यविधि अनुसार १० वर्षसम्मका लागि बैंक तथा वित्तीय संस्थाले ऋण दिन सक्नेछन् । भूकम्पपीडितले यसरी लिएको कर्जाबाट भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ । घरको नक्सा पनि सरकारले तोकेबमोजिम हुनुपर्ने व्यवस्था छ ।

राष्ट्रबैंकले सरकारले कुनै राहत घोषणा गर्नुभन्दा अगाडि पुनर्कर्जाको घोषणा गरे पनि त्यसबाट एक रुपैयाँ पनि कर्जा जान नसक्नुले राष्ट्रबैंकको नीति असफल देखिएको छ । राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनी राष्ट्रबैंकले १० वर्षसम्मका लागि ऋण दिने कार्यविधि बनाए पनि अहिलेसम्म कर्जा नगएकोमा आफूहरू पनि अचम्ममा परेको बताउँछन् ।

राष्ट्रबैंकले शून्य प्रतिशत ब्याजदरमा पुनर्कर्जा दिने घोषणा गरेर त्यो अनुसारको कार्यविधि बनाएको छ ,उनले भने, ‘अहिले वर्षाको समय भएको र नयाँ घर निर्माण त्यति हुँदैन । दसैं र तिहार सकिएपछि कर्जा जाने अनुमान हामीले गरेका छौ ।’

कार्यविधिले ऋण दिने अन्तिम अधिकार बैंक तथा वित्तीय संस्थालाई दिएको छ । पीडितको घर अर्को स्थानमा भए पनि घर निर्माण कर्जा नपाउने व्यवस्था कार्यविधिमा छ । ग्रामीण क्षेत्रमा आम्दानीको स्रोत पशुपालन र कृषि भए पनि भूकम्पका कारण त्यो पनि प्रभावित भएकाले आम्दानीको स्रोत नियमित छैन ।

कार्यविधिले बैंक तथा वित्तीय संस्थालाई नियमित आम्दानीको स्रोत हुनेलाई मात्र कर्जा दिन भनेको छ । पुनर्कर्जा राष्ट्रबैंकले ६ महिनाका लागि दिने र त्यसपछि यसलाई नवीकरण गर्दै जाने भनेको छ । तर, पुनर्कर्जा दिने नीतिपछि परिवर्तन भएमा के गर्ने भन्ने प्रष्ट छैन ,बैंकर्स संघका अध्यक्ष पौडेलले भने, ‘हामीले १० वर्षसम्मका लागि कर्जा दिने हो । यसमा कर्जा लिनेले आम्दानी नियमित हुनुपर्ने हुन्छ । आम्दानीको अवस्थालाई आधार बनाएर कर्जा दिन्छौ ।’

अन्योलमा भूकम्पपिडित

दोलखा झुलेका राजेन्द्र योञ्जन कुखुरा पाल्न तयार पारेको गोठमा बसिरहेका छन् । गोठमा बसेको पनि पाँच महिना बितिसक्यो । सरकारले दिएको १५ हजार रकम घरखर्चमै सकिएपछि विभिन्न संघसंस्थाले दिएको जस्ताले छानो छाएका छन् ।

केही त्रिपालले अन्नपानी राख्न सानासाना कटेरो बनाएका छन् । परिवारको साथ बस्दै आएका योञ्जन घर बनाएर ढुक्क सँग बस्ने दिनको प्रतीक्षामा छन् । गोठमा बस्दा सुरक्षाको समेत चुनौती रहेको भन्दै छिट्टै घर बनाउने तयारीमा रहेको बताए। तर, सरकारको घर निर्माण सम्बन्धी कार्यविधि नहुँदा उनी अन्योलमा छन् ।

उनले भने, ‘आफूखुसी घर बनाउँदा सरकारले दिने भनेको रकम नपाउने डर छ । नबनाउँदा बस्न नै समस्या ।’ सरकारले पुनर्निर्माण प्राधिकरणमा प्रमुख नियुक्ति गरेसँगै काममा तीव्रता हुन्छ भन्ने आशामा रहेका योञ्जन अहिले कार्यविधि समेत सार्वजनिक गर्न नस्कदा निराश छन् ।

सरकारले घरको मोडल मात्र सार्वजनिक गरे पनि आफूले त्यहि किसिमको घर बनाउने जानकारी दिँदै आफू जस्तै धेरै स्थानीय अन्योलग्रस्त भएको उनले बताए । अहिले अनलाइनमार्फत विभिन्न कम्पन्नीले सस्तो र सुलभमूल्यमा घर बनाउने जानकारी आफूले पाए पनि त्यो विश्वास गर्ने आधार नभएको उनले बताए ।

चरिकोटकै निमा शेर्पा भूकम्पले घर भत्किएपछि अहिले कोठा भाडामा लिएर बसेका छन् । घर बनाउने मनसाय हुँदाहुँदै पनि सरकारले स्पस्ट खाका नदिएका कारण घरबनाउन समस्या भएको बताए । अहिले तत्काल घर बनाउँदा सरकारले दिने राहत रकम नपाउँला भन्ने डर भएकै कारण घर नबनाएको उनको भनाइ छ । सकारले रकम नदिए पनि कार्यविधि मात्र सार्वजनिक गरेमा आफूले घर बनाउने बताए ।

उनी जस्तै झुलेकै पेमा लामा पनि अन्योलमा छन । ‘घर बनाउन कुनै कार्यविधि छैन, नबनाउ बस्न छैन,’ लामाले भने । ठूलाठूला चाडपर्व नजिकिँदै गर्दा लामालाई पाहुनाका लागि बस्ने ठाउँको समेत चिन्ता बढ्दै गएको छ ।

पक्कि घर नभएकै कारण दोलखाका धेरै स्थानीय समस्यामा परेका छन् । पक्कि घर नभएकै कारण अन्न जोगाउन समस्या भएको छ । अस्थायी टहरा भित्र भण्डारण गरेर राखेको अन्नपात बादरले खान लागेपछि झुले, जफे, मालुलगायतका स्थानीय समस्यामा परेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.