Powered by Blogger.
‘नेपाली वैज्ञानिकले मंगल ग्रहमा बगिरहेको पानी भेटाए’



एजेन्सी, १३ असोज । मंगल ग्रहको सतहमा बग्दो पानी भेटिएको अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले जानकारी दिएको छ । नासाले सोमबार राति यस्तो जानकारी दिएको छ ।

यसबाट अब मंगल ग्रहमा जीवन मिल्न सक्ने सम्भावना बढेको छ । सतहमा पानी तरल अवस्थामा देखिनु जीवनका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ । नासाका खगोल विज्ञान विभागका निर्देशक जिम ग्रिनले पत्रकार सम्मेलनमा भने, ‘मंगल ग्रह पहिला सोचेजस्तो सुक्खा र रुखो ग्रह हैन । मंगलमा केही निश्चित अवस्थामा पानी तरल अवस्थामा भेटिएको छ ।’

वैज्ञानिकहरूले लामो समयदेखि मंगल ग्रहमा जीवनको सम्भावना रहेको अनुमान गर्दै आएका थिए । नासाले तरल अवस्थामा पानी भेटिनुले हाल पनि त्यहाँ जीवनको प्रचुर सम्भावना रहेको बताएको छ ।

नासाका विज्ञान अभियान निर्देशनालयका सहायक प्रशासक एवं अन्तरिक्ष वैज्ञानिक जोन ग्रुंसफेल्डले भने, ‘सबैभन्दा रोमाञ्चक कुरा मंगलका बारेमा हाम्रो प्राचीन मान्यता, मंगलमा जीवनको सम्भावनाका बारेमा खोजी भइरहेको छ ।’

उनले मंगलमा तरल अवस्थामा पानी भेटिएको र त्यो निकै नुनिलो भएको बताए । यसबाट मंगलमा जीवन रहेको भने ठूलो प्रमाण हुनसक्छ । उनले मंगल ग्रहमा भविष्यमा हुने खोजीलाई निष्कर्षमा पुर्याउन सहज हुने बताए ।

पानी भेटिएपछि मंगलमा मानव पठाउन सहज हुने नासाको भनाइ छ । नासाले यसअघि सन् २०३० सम्म मानव पठाउने योजना बनाएको थियो ।

ग्रुंसफेल्डले भने, ‘सतहमा बाँच्नका त्यहाँ स्रोत साधन छन् ।’ उनले जीवनका लागि पानी महत्वपूर्ण भएको र त्यसका साथै नाइट्रोजन प्रयोग गरेर त्यहाँ ग्रिन हाउस बनाएर विरुवा उत्पादन गर्न सकिने जानकारी दिए ।

मंगलमा पानीको सम्भावना भने ‘द मार्सियन’ चलचित्र रिलिज हुनुपूर्व नै आशंका गरिएको थियो । त्यस चलचित्रमा ‘म्याट डेमोन’लाई मृत्यु होस् भनेर मंगलमा एक महिनासम्म बिनाभोजन छोडिएको हुन्छ ।

तर उनी एक महिनापछि पनि जीवितै भेटिन्छन् । यसरी साहित्यका, कलाकारले विभिन्न कृति तथा कलामा मंगलमा पानी र जीवन भएको प्रस्तुत गर्दै आएका थिए । वैज्ञानिकले मंगलमा कुनै बेला पानी बग्ने र त्यसबाट विभिन्न ताल तलैया बनेको अनुमान गरेका थिए । तीन अर्ब वर्षअघि जलवायुमा आएको परिवर्तनले मंगल प्रभावित भएको उनीहरूको अनुमान छ ।

ग्रिनले भने, ‘आज हामीले यस ग्रहका बारेमा नयाँ कुरा पत्ता लगाएका छौं । मंगल ग्रहको खोजी अभियानबाट यहाँको हावामा आद्र्रता रहेको पुष्टि भएको छ ।’ यहाँको माटो पनि अनुमान गरिएभन्दा निकै कोमल छ ।

मंगलको सतहमा चार वर्ष पहिले गहिरा धर्सा देखिएका थिए । वैज्ञानिकले ती रेखा गर्मीमा बढ्ने र चिसोमा हराउने गरेको पाएका थिए । यो निष्कर्षले ती धर्सा पानीको भएको उनीहरूले दाबी गरेका छन् ।

मंगलमा पानी खोजीका कारक लुजेन्द्र

मंगल ग्रहमा पानी खोज्नेको श्रेय लुजेन्द्र ओझालाई जान्छ । उनी नेपाली हुन् । उनले मार्स रिकन्निसेन्स अर्बिटरले पठाएका तस्बिरको विश्लेषण गरेका थिए ।

तस्बिरलाई विश्लेषण गर्न उनले नयाँ प्रविधि खोजेका थिए । त्यही प्रविधि प्रयोग गरेपछि मंगलको सतहमा नुनिलो पानी भएको थाहा भएको हो ।

नेपाली मूलका वैज्ञानिक लुजेन्द्र ओझा


२५ वर्षीय लुजेन्द्रले एटलान्टास्थित जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट पिएचडी गरिरहेका छन् । उनले आफू खगोलविद् वा अन्तरिक्षविद् मान्न तयार छैनन् । उनी भन्छन्, ‘सम्भव भएको भए म कुनै ब्यान्डमा गितार बजाइरहेको हुन्थें ।’

 विज्ञानका क्षेत्रमा पनि आफू सबैतिर लाग्न खोजेको तर कतै पनि गम्भीर हुन नसकेको स्विकार्छन् । हाल भूकम्पका विषयमा अध्ययन गर्न चासो दिएको बताउँछन् । ब्यान्डमा लागेर पैसा कमाउन नसकेपछि विज्ञानतर्फ आकर्षित भएको उनको भनाइ छ । उनी भन्छन्, ‘विज्ञानमा पनि पैसा रहेनछ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.