Powered by Blogger.
तिब्बतसँगको नाका खुलाउन दोलखाबासीको आग्रह


काठमाडौँ, ९ असोज ।

सरकारले भदौ पहिलो साता चीनसँगको सम्झौतामा थप ३ वटा नाका खोल्ने बताएको थियो । जसमा  दोलखाको लामाबगर नाका समेत खुल्ला हुने भएपछि दोलखा बासी निकै उत्साहित थिए ।

दोलखाबासीहरुले सरकारसँग तिब्बतसँगको नाका चाँडो खोलाउन माग गरेका छन् । सरकारसँग तिब्बती सीमामा बस्ने लप्चीबासीले तिब्बत जोड्ने नाका तत्कालै खोल्न माग गरेका हुन् । नाका खुलाउने विषयमा सरकारलाई जानकारी गराए पनि स्थानीय बासिन्दा सडक बाटो नहुँदा समस्यामा रहेका छन् ।  हिमालपारीका गाउँ भनेर चिनिने लामाबगर लप्चीबासीहरुले  हिँड्ने राम्रो बाटो नहुँदा कठिन भएको गुनासो छ । के हामी नेपाली होईन र ? सरकारले हामीहरुलाई राम्रो गोरेटो बाटो बनाई दिए मात्रै भए पनि केही राहत पुग्ने थियो भन्दै थिए स्थानियवासीहरु ।

लामाबगरदेखि छोटोे नाका ङ्याङलुङ (फलाक)तिर १२ किलोमिटरमा जोडिन्छ । सडक विभागले ६ वर्षदेखि टेन्डर निकालेर काम गराए पनि २ किलोमिटर सामान्य ट्रयाकभन्दा धेरै प्रगति हुन सकेको छैन । अहिलेसम्म २० करोडभन्दा बढी यही सडकको रकम फ्रिज भइसकेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधस्थल प्रभावित क्षेत्रमा बाहिरी सतहबाट सडक निर्माण जटिल भएपछि सुरुङ मार्गको सर्भे भएको छ । बाँध प्रभावित क्षेत्रमा नौ सय मिटर सुरुङमार्ग निर्माण गर्नुपर्ने र त्यसको लागत २१ करोड लाग्ने अध्ययन प्रतिवेदनमा छ । सो प्रतिवेदन डेढ वर्षअघि नै यातायात तथा भौतिक योजनामन्त्री र मुख्य सचिवसम्म पुगे पनि ठोस प्रगति हुन सकेको छैन ।

 माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको समन्वयमा सडक विभागले आयोजनाको निर्माण कम्पनी चिनीयाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनमार्फत विस्तृत सर्भे गराएको हो । सिनोले २ महिना लगाएर गरेको अध्ययनअनुसार ९०० मिटर सुरुङ मार्ग निर्माण गर्नुपर्ने सुझाव दिएको छ । सडक अन्तर्राष्ट्रियस्तरको राजमार्ग हुने भएकाले त्यही अनुसारको ट्राफिक सिग्नल सहितको दोहोरो गाडी चल्न सक्ने गरी सुरुङमार्गको डिजाइन गरेको हो । वैशाख १२ गते र त्यसपछिको भूकम्पले लामाबगरदेखि लप्चीसम्म जाने बाटो पहिरोले अवरुद्ध छ ।

लप्चीमा बस्नेहरूलाई आफन्तले हरेक १५ दिनमा हेलिकप्टरमा खाद्यान्न ढुवानी गरेर बचाएका छन् । तिब्बतबाट नाका जोडिदिने हो भने सधैं हेलिकप्टरको भर पर्नुपर्ने अवस्था नआउने लप्चीका अगुवा कर्मा शेर्पाले बताए । भूकम्पपछि सरकारसँग समन्वय गर्ने लप्चीमा फसेका स्वदेशी र विदेशीलाई उद्धारमा कर्माले महत्वपूर्ण भूमिका खेलेका छन् । राज्यले लामाबगरसम्म पुगेको सडक तन्काएर सीमा पु¥याए जिल्ला र राष्ट्रलाई नै फाइदा हुने उनले बताए ।

भूकम्पका कारण घरमात्रै भत्केन सदरमुकाम चरिकोट संगको सम्र्पक समेत टुटाई दिएको छ । लप्चीगाउँ लामाबगर १ मा पर्छ भने जुन लामाबगरबाट लप्ची पुग्न २ दिनको कठिन र जोखिमपुर्ण यात्रा पुगिन्छ । लप्ची तिब्बतको सीमानजिकै करिब ४ हजार मिटर उचाइमा पर्ने लप्चीमा केही उब्जनी हुँदैन । उनीहरूको मुख्य पेसा नै चौंरीपालन हो ।

सदरमुकाम चरिकोटबाट ७ कोष टाढा लामाबगर पर्छ । त्यत्तिकै दूरीमा लामाबगरकै लप्ची गाउँ पर्छ । हुनेखानेहरू लप्ची आउँदा हेलिकप्टर चढेर आउने र यहाँ गाउँमा बस्ने तर बाटो पनि राम्रो हिँड्न नपाउने स्थानीयको भनाइ छ । लामाबगरदेखि लप्ची जाने बाटोको लुम्नाङसम्मको एक दिनको बाटो धेरै कठिन छ । त्यहाँसम्म भोटेकोसी किनारको दाउरा र गल गाडेर बनाएको अस्थायी बाटो हिँड्नु पर्छ । त्यो पनि ठाउँ–ठाउँमा भत्किएकोे छ । थोरैमात्र खुट्टा चिप्लिए एकैचोटि तामाकोशीमामै पुगिने अवस्था रहेको छ ।

लुम्नाङदेखि लप्चीसम्मको बाटोका लप्ची खोलाको ५ ठाउँमा फड्के बनाएको छ । त्यो पनि वर्षात्मा ठूलो बाढी आउँदा फड्के बगाउँदा त्यो बाटो पनि अवरुद्ध हुन्छ । चरिकोटदेखि लामाबगरसम्म ६८ किलोमिटर सडक माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेर सञ्चालनमा आएको छ । चिनियाँ कम्पनीको इस्टिमेटपछि आयोजनाले सडक विभागसँग छलफलसमेत भइसकेको छ ।

 नेपाली कांग्रेस दोलखाका सभापति ताराबहादुर कोइरालाले १२ किमी सडक निर्माणमा सरकारले चासो देखाउनुपर्नेमा जोड दिए । तिब्बतको फलाकसम्म यो सडक जोडिए भारतको भिट्टामोडसम्म २१० किमीमा चीन र भारत जोड्ने उत्तर–दक्षिण लोकमार्ग तयार हुनेछ । भूकम्पले तातोपानी नाका ५ महिनादेखि अवरुद्ध छ । यो नाका खुलेमा तातोपानीको विकल्पको रूपमा समेत प्रयोग हुनेछ । उता सडक विभागले टेन्डर गरेर ठेकेदार छनोट गरे पनि उल्लेख्य प्रगति हुन नसकेपछि छिटोछरितोका लागि विभागले आयोजनालाई नै दिने तयारी गरेको थियो ।
स्रोत : कारोबार दैनिक

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.