Powered by Blogger.
पर्यटकीय क्षेत्र खुलेपछि पर्यटक आवागमन बढ्यो

इलाम, ९ असोज । 
रेडपाण्डाको प्रजनन समय भएको भन्दै दार्जिलिङको वन विभागले तीन महिनादेखि लगाएको पर्यटक प्रतिबन्ध खुल्ला गरेको छ ।

दार्जिलिङको सिंहलिला नेसनल पार्कमा रहेका रेडपाण्डा र विभिन्न जनावर र चराचुरुङ्गीको प्रजननमा असर नपुगोस् भनेर बर्सेनि तीन महिनाका लागि पर्यटक प्रतिबन्ध लगाउने गरिएको छ । पार्कले इलामको तुम्लिङदेखि पा“चथरको फालोटसम्मको नेसनल पार्क क्षेत्रभित्रको पदमार्गमा पर्यटक हिँड्डुलमा प्रतिबन्ध लगाएको थियो । पदमार्ग खुल्ला गरेपछि रेडपाण्डा हेर्नका लागि अहिले पर्यटक आउन थालेको स्थानीय छिरिङ फुञ्चोङ भोटियाले बताए ।

ठूलो सङ्ख्यामा दार्जिलिङ, मिरिकलगायत भारतीय सहर हु“दै भारतीय र पश्चिमा पर्यटक सन्दकपुर पुग्न थालेका छन् । मानेभञ्ज्याङदेखि चित्रे, लामिधुरा, मेघमा, तुम्लिङ, जौवारी, गैरीबास, कैयाकट्टा, कालपोखरी, बिखेभञ्ज्याङ, सन्दकपुर हुँदै फ्यालुटसम्म पर्यटक पुग्ने गर्छन् ।

कञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङका लागि भारतलगायत तेस्रो मुलुकका दर्जनौँ पर्यटक आवतजावत गर्न थालेका छन् ।

दुर्लभ रेडपाण्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको प्रजनन र यौन क्रियाकलापको समय भएको भन्दै पार्कले प्रतिबन्ध लगाएको थियो । ‘तीन महिना पर्यटक नआउँदा कारोबार ठप्प हुन्छ,’ चित्रेका छिरिङ फुन्चोङ भोटियाले भने,‘अब भने हिउँदभर पर्यटक आगमनले यहाँ भरिभराउ हुन्छ ।’ यो क्षेत्रमा असोज १५ देखि पर्यटकको अत्यधिक चाप बढ्छ । सगरमाथा, कञ्चनजङ्घालगायत नेपाल, भारत र भुटानका थुप्रै हिमाल देख्न सकिने, जैविक विविधताले भरिएको र धार्मिक आस्थाका कारण पनि सन्दकपुर क्षेत्रमा पर्यटकीय चाप हुने गरिएको छ ।

‘पर्यटकको जमघट सुरू भइसकेको छ’ भोटियाले भने,‘ तीन महिनादेखिको सुनसान पर्यटकको चहलपहल बढेको छ ।’ पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघ्मा, तुम्लिङ्ग, जौवारी, गैरिवास, कैँयाकट्टा, कालपोखरी, बिखेभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर पर्यटक आउने गरेका छन् ।

नेपालबाट पनि त्यस क्षेत्रमा पर्यटक पु¥याउने प्रयास भए पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन । तर विगतको तुलनामा आन्तरिक र बाह्य पर्यटक सन्दकपुर क्षेत्र पुग्ने क्रम भने बढेको छ । सीमावर्ती क्षेत्रको मनोरम वातावरण, विभिन्न क्षेत्रमा रहेका गुम्बा र धार्मिक केन्द्रलगायतका कारण हरेक स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् ।

नेपालतर्फबाट पनि सडक खुलाएर पर्यटकलाई सहज आवतजावतको सुविधा मिलाउने प्रयास जारी छ । तर आवश्यक बजेटको अभावमा निरन्तरता नपाउँदा झापाको काँकडभिट्टादेखि नेपाल भएर नै सन्दकपुरसम्म पुग्ने सडकको निर्माण कार्य पूरा हुन सकेको छैन । मानेभञ्ज्याङबाट ३१ किलोमिटर सीमावर्ती सडक पार गरेर सन्दकपुर पुग्न सकिन्छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.