Powered by Blogger.
राणा शासनमा चम्केको दोलखाको गाउँ, जुन अहिले सुनसान छ


दोलखा, ३ असोज ।

जिल्लाको दक्षिणी भागका गाउँहरूको केन्द्र मेलुङ बजार । बजारमा रहेका टहरा र स–साना घरभित्रका पसलमा ग्राहक देखिँदैनन् । बजारको बीचमा हाट लाग्ने स्थान सुनसान छ । उत्तरपट्टिको टुँडिखेल चउरमा केही गाईबस्तु चरिरहेका देखिन्छन् । पश्चिमपट्टिको आकर्षक भवनमा रहेको जिल्लाकै पुरानोमध्येको विद्यालयमा पढिरहेका विद्यार्थीको हल्ला बजारसम्मै सुनिन्छ ।

टुँडिखेलछेउमा रहेको प्रतीक्षालयमा केही बूढापाका गफिँदै छन् । ‘१९३६ सालदेखि यहाँ अड्डा बसेको थियो, बडाहाकिम यहीँ बस्थे, राजा रजौटाहरूको भ्रमण भइरहन्थ्यो,’ कांग्रेसका गाउँ सभापतिसमेत रहेका स्थानीय वृद्ध श्रीबहादुर भण्डारीले मेलुङ बजारको इतिहासबारे सुनाए, ‘राणा शासनको मिलिसिया र फौजहरू यहीँ रहन्थे । उनीहरूको तालिम गर्ने थलो नै यही टुँडिखेलको चउर ।’

राणा शासनकालको सदरमुकाम दोलखाको मेलुङमा भण्डारीजस्ता बूढापाकाले सुनाउने यी इतिहास अचेल एकादेशका कथाजस्तै हुन थालेको छ । बुधबार मेलुङ बजार सुनसान थियो । बजारमाथि रहेको प्रहरी चौकीमा एक जनामात्र सेवाग्राही थिए । ‘यो ठाउँलाई राज्यले कहिल्यै हेरेन, अनि सधैं पछि परिरह्यो,’ अर्का वृद्ध बमबहादुर श्रेष्ठले मुख खोले ।

राणा शासनकालमा चर्चित थियो, मेलुङ । दोलखा र रामेछापको सदरमुकाम यही थियो । बडाहाकिम यहीँ बस्थे । दुवै जिल्लाको माल र अड्डा थियो । २००७ सालमा तत्कालीन मुक्तिसेनाले मेलुङ कब्जामा लिएपछि सदरमुकाम रामेछाप सर्यो । सात सालपछि समेत मेलुङ बजारले जिल्लाको मुख्य बजार केन्द्रमध्येमा आफूलाई चिनाइरह्यो । पुरानो स्थान भएकाले सात सालपछि पनि थुप्रै उच्च पदस्थ मानिस यहाँ आइरहन्थे । ‘२०१४ सालमा राजा महेन्द्र एक रात बसेर जानुभएको थियो,’ श्रेष्ठले सुनाए, ‘उहाँ आउँदा हाम्रो गाउँ निकै झकिझकाउ पारिएको थियो ।’

स्थानीयका अनुसार सदरमुकाम हिँडेपछि तत्कालीन पञ्चायत सरकारले गाउँमा प्रहरी चौकी, भेटरीनरी, हुलाकजस्ता सरकारी अड्डाको स्थापना गर्योँ । २०४३ सालमा राष्ट्रिय वाणिज्य बैंकको शाखासमेत स्थापना भएको थियो, पूर्व शिक्षकसमेत रहेका स्थानीय नुतन घिमिरे सम्भ्किन्छन्, बैंकमा पेन्सन लिन आउनेको घुइँचो लाग्थ्यो ।

सदरमुकाम हिँडेपछि तत्कालीन प्रधानपञ्च एवं गाउँका समाजसेवी स्वर्गीय ललितबहादुर कार्कीले गाउँमा चहलपहल बढाउन बजारको बीचमा हाटबजारको थालनी गरेका थिए । उनले प्रत्येक घरबाट एकएक वटा बस्तु र आफूले उत्पादन गरेको सामान लिएर बुधबार बिहान मेलुङ बजारमा आउन उर्दी जारी गरेको घिमिरे सुनाउँछन् । त्यसपछि छिमेकी जिल्ला रामेछाप र वरपरका दर्जनभन्दा बढी गाविसका मानिस हाट भर्न यहीँ आउन थाले, कार्कीको योगदान उनले सम्भ्किए, ‘जिल्लाकै दोस्रो पुरानो स्कुल त्रिभुवन उच्च मावि उहाँले नै बनाउनुभएको हो ।’

चहलपहल र स्थानीय अगुवाको रफ्तारले जिल्लाको चर्चित गाउँ मेलुङ द्वन्द्वपछि बिस्तारै ओझेलमा पर्न थाल्यो । तत्कालीन विद्रोही माओवादीको आक्रमणपछि चौकी उठ्यो । अन्य सरकारी अड्डासमेत झिटीगुन्टा कसेर सदरमुकाम फर्किए । बैंक सदरमुकाम सर्यो । गाउँमा हाटबजार लाग्नै छाड्यो । बजारका थुप्रै व्यापारी अन्यत्र सरे । सरकारी र विद्रोही पक्षबीचको भिडन्तमा एक स्थानीय सर्वसाधारणले ज्यान गुमाउनुपर्यो् । द्वन्द्वले नराम्ररी पिरोलेको मेलुङलाई त्यसपछि उठ्नै सकस परिरह्यो ।

पुष्पलालमार्ग स्थित मालुखोला–मिल्ती सडक खण्डको सितलीबाट एउटा उकालो लाग्ने सडक छ । यही सडकबाट ९ किलोमिटर यात्रा गरेपछि मेलुङ बजार पुग्न सकिन्छ । चौडा र स्तर नमिलेको सडकका एकाध स्थानबाहेक कहीँ पनि सोलिङ छैन । ठूल्ठुला खाल्डा र कठिन उकालो पार गर्नुपर्छ । स्थानीय शिक्षक सुदर्शन पोखरेलका अनुसार कतिपय स्थानमा त सडकको बीचमा गहिरो खोँच नै भेटिन्छ । बर्सातमा यो सडक चल्दैन, हिउँदमा जेनतेनमात्र चल्छ । ६ वर्षअघि खनिएको सडकका लागि ठूलो बजेट परेको यसै साल हो । स्थानीयका अनुसार संसद विकास कोषबाट परेको १० लाख रुपैयाँले आधा बाटोसम्म आउने गरी बनाए पनि केही ठाउँमा पहिरो र बाढीले दुःख दिएको छ ।
सडकलाई राष्ट्रिय योजनामा पार्न स्थानीयले प्रयास गरे पनि सरकारले सुनेको छैन । ‘यता सिन्धुपाल्चोकको मुडेपट्टिबाट आउने मुडे–मेलुङ सडकलाई राष्ट्रिय योजनामा पारेर काम थालिएको छ,’ शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष ताराबहादुर कार्कीले भने, त्यो सडक बजारसम्म मात्र आउने भएकाले सिंगो गाउँवासीको पहुँच रहँदैन, त्यसैले त्यही योजनाभित्र रहने गरी जोडेर सितलीदेखि मेलुङसम्मको सडकलाई समेत राष्ट्रिय योजनामा पार्न आग्रह गरेका हौं । गाउँमा सडकबाहेक अन्य विकास पूर्वाधारसमेत राष्ट्रिय योजना छैनन् । गाउँमा भइरहेको विकास निर्माण सबै जिल्ला स्तरका योजनाबाट मात्र चलिरहेको छ, कार्कीले भने ।

मेलुङ बजारमा पहिलेजस्तो चहलपहल अहिले छैन । पहिले १२ घन्टासम्म हाट लाग्थ्यो,ु स्थानीय पूर्व शिक्षक घिमिरेले भने, ुअहिले २ घन्टा पनि चल्दैन । बजारको छेउमा रहेको टुँडिखेलसमेत संरक्षणको अभावमा क्रमशः साँघुरिदै छ । चउरको छेउमा रहेका लाँकुरीको रूखहरूले खुब आकर्षण दिन्थ्यो, स्थानीय श्याम श्रेष्ठले सुनाए, ‘अहिले सबैतिरबाट कटान हुँदै गएका कारण साँघुरिदै छ ।’ बजार र स्कुल रहेको जग्गा नेपाली सेनाको शिवदल गुल्मको नाममा छ । गुल्मका सैनिक अधिकृतहरू आएर स्थानीयलाई सेनाले चाहेको बेलामा छाड्ने कागज गराएर गएको छ ।

मेलुङको विकासमा सरकारले उपेक्षा गरेकोमा स्थानीय निराश छन् । ‘अधिकांश गाउँमा १२ महिना चल्ने सडक पुगिसके,’ स्थानीय अगुवा एवं शिक्षक संघका पूर्व अध्यक्ष कार्कीले भने, ुहाम्रोमा बल्ल खनिएको सडकमा पनि सरकारले रकम हाल्न कन्जुस्याइँ गर्छ ।’ उनले गाउँमा सिँचाई खानेपानीको समेत प्रबन्ध राम्रो नभएको सुनाए ।

बजारमा बैंकलाई फर्काउन केही स्थानीय लागिपरे पनि सफल भएका छैनन् । ‘पेन्सन थाप्न बूढापाकाहरू सदरमुकाम पुग्नुपर्छ, बैंकलाई आइदिन पटकपटक अनुरोध गर्यौछ, तर सुनेनन्,’ स्थानीय श्रेष्ठले सुनाए । यस्तै विद्युत प्राधिकरणलाई बिल काउन्टर राखिदिन स्थानीयले पटकपटक आग्रह गरे पनि सुनुवाइ भएको छैन । ‘८० रुपैयाँ तिर्नलाई बस चढेर चरिकोट पुग्नुपर्छ, यहाँ प्राधिकरणले काउन्टर राखिदिए, मेलुङ डाँडाखर्क र भेड्पुका जनतालाई टेवा पुग्ने थियो,’ श्रेष्ठले भने । नागरिक दैनिकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.