Powered by Blogger.
दोलखालीको फेरि खुसी खोसियो

दोलखा, २८ भदौ । 
बल्लबल्ल जीवनको ४६ वर्षमा सहयोग जुटेर घर बन्दै थियो । सुकुम्बासी परिवार भनेर देशविदेशबाट रकम आउँदै थियो। करिबकरिब घरको धुरी मेटिन लागेको थियो । भुइँचालो आयो, घर चिराचिरा भयो । त्यस्तै जोखिम भए पनि घरमै बस्न लाग्दा नलाग्दै माथिबाट पहिरो आएर घरलाई धक्का दियो ।

जिजुबाजेले लिएको २० रुपैयाँ ऋण तिर्न नसकेर चार पुस्ता सुकुम्बासी जीवन बिताएका वीरबहादुर थामीको परिवार पुन घरविहीन भए । घरको धुरी मेटिन लागेकाले भएको झुप्रो पनि भत्केपछि उनी अलमलमा छन् । पुस्तौ‌पुस्तादेखि घरमा बस्ने चाहना अधुरै रहेको यो परिवारको झुप्रो पनि भत्किएकाले बस्ने ठाउँ नै छैन ।

स्वदेश र विदेशमा बस्ने दाताले दिएको रकमबाट घर निर्माण क्रममा आएको ठूलो भुइँचालो घरको दक्षिणतर्फका गाह्रा चिरिए । झ्यालढोकामा क्षति पुगेको छ । अर्को विकल्प नहुँदा उनीहरू चर्किएको घरमै छन् । पश्चिमतर्फबाट आएको पहिरोले घरको केही भाग क्षति हुँदा पनि उनीहरू त्यहीँ छन् । ‘अहिले पनि डराउँदै यही घरमा छौं,’ रीताले भनिन् । वीरबहादुर बोल्न र राम्रोसँग कुरा गर्न नसक्ने भएकाले परिवारको जिम्मेवारी पत्नी रीताले लिएकी छन् ।

दुई साना छोराहरूसहित कष्टकर जीवन बिताउँदै आएको यो परिवारबारे कान्तिपुरमा समाचार आएपछि घर बनाउन सहयोग जुटेको थियो । घरबारविहीन उक्त परिवारका लागि अमेरिकास्थित टेक्सास नेपाल परोपकार समितिका संस्थापक दोलखा जन्मघर भएका माला महतको पहलमा ३० हजार, हङकङ निवासी पोखराका गोविन्द गुरुङले २५ हजार ५ सय, तामाकोसी आयोजना प्रमुख विज्ञान श्रेष्ठले २५ हजार, दोलखा मेलुङ घर भई काठमाडौं बस्ने रामहरि श्रेष्ठले २५ हजार ५ सय सहयोग गरेपछि घर बनाउन सुरु भएको थियो ।

यस्तैगरी दोलखा माइती भएकी विष्णुलक्ष्मी श्रेष्ठले ५ हजार, लाइन्स क्लब दोलखाले १५ हजारसमेत सहयोग गरेका थिए । उनको घर बनाउन सहयोग गर्दै आएका लाइन्स क्लब दोलखाका पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठले घरमा नबस्नू भने पनि उनका परिवारका सबै सदस्य जोखिमपूर्वक त्यहीँ बसेका छन् ।

छिमेकी सुन्द्रावती डुम्कोटबाट जिजुबाजे बाङ्सुरे थामी २० रुपैयाँ ऋण तिर्न नसकेपछि घरबार छाडेर दोलखा बजारमा ज्यामी गर्न आएका थिए । उनले दोलखामा अर्काको घरमा नोकर बसेर बिताए भने पछिल्ला पुस्ताको पनि जीवन सहजपूर्वक बितेन । यो परिवारले आफ्नो थातथलो छाड्नुपरेको त्यस्तो बेथा पुस्ता हस्तान्तरण हुनेबेला एकले अर्काबाट सुन्दै आउँछन् ।

उनीहरूलाई सहयोग गर्दै आएका भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले उक्त परिवारलाई जोखिम घरबाट स्थानान्तरण गरिनुपर्ने बताएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.