Powered by Blogger.
ओमान जाने भन्‍दै कुवेततिर हिँडेका चार युवती पक्राउ

Airport - Kathmandu, Nepalगलत कागजात र विवरण देखाई कुबेत र सिंगापुर हिँडेका चार युवती आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

विमानस्थल प्रहरीले वैदेशिक रोजगारीमा ओमान जाने भन्दै ढाँटेर कुवेत जान लागेकी एक युवतीलाई पक्राउ गरेको हो भने सिंगापुर अध्यामगनले फर्काएका तीन युवतीलाई विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थलस्थित अध्यागमन डेस्कमा ओमान जाने कागजपत्र देखाएकी कास्कीकी गीता दमाईंको साथबाट कुवेतको पेपर भिसा भेटेपछि प्रहरीले पक्राउ गरेको हो । सिंगापुर अध्यागमनले फर्काएका पाल्पाकी गंगा पोख्रेल, पोखराकी शान्ति गुरुङ र बुटवलकी विनिता कुँवर पनि पक्राउ परेका हुन् । पर्यटक भिसामा सिंगापुर उडेका यी युवतीको फर्कने टिकटलगायतका कागजपत्रमा शंका लागेपछि सिंगापुर अध्यागमनले फर्काएको थियो ।

सिल्क एयरबाट सिंगापुर उडेका उनीहरूको फर्कने टिकट थाई एयरको पाएपछि सिंगापुर अध्यामगनले शंकास्पद भन्दै फिर्ता गरेको थियो । सिंगापुरबाट नेपाल फर्कन थाई एयरको सीधा उडान छैन।स्रोतका अनुसार उनीहरूसँग थाई एयरको टिकटसमेत नक्कली थियो । बुटवलकी विनिताले भनिन्, ‘सिंगापुरबाट थाई एयरको उडान छ भनेर टिकट काटेका हौं तर रहेनछ । त्यसमै शंका गरेर सिंगापुर अध्यामगनले हामी तीनैजनालाई फर्काइदियो ।’

अध्यागमनका एक उच्च कर्मचारीले भने, ‘भिजिट भिसामा उनीहरू कसरी सजिलै गए म आश्चर्यमा परेको छु । प्रहरी र अध्यागमनकै सेटिङमा उनीहरूलाई पठाइएको हुनुपर्छ ।’ ती कर्मचारीले प्रहरी, सम्बन्धित एयरलाइन्सका कर्मचारी र प्रहरीको सेटिङबेगर भिजिट भिसामा कुनै पनि हालतमा जान नसक्ने दाबी गरे । अध्यामगन विभागले तीनैजना युवतीलाई धरौटीमा छाडेको छ ।

कुबेतको पेपर भिसासहित पक्राउ परेकी दमाईंलाई प्रहरीले थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाएको छ । विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भूपाल भण्डारीले ओमान जान लागेकी दमाईंको साथबाट कुवेतको पेपर भिसा पाइएपछि पक्राउ गरिएको बताए ।  विगतमा ४-५ वर्ष ओमानमा काम गरेकी दमाईं त्यहाँ आकर्षक तलब नभएपछि कुबेत जान लागेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । फ्लाई दुबईको उडानबाट जान लागेकी दमाईंले दुबईबाट ओमन गएर केही दिन बसेपछि कुबेतमा आएर काम गर्ने योजना बनाएकी थिइन् ।

भिजिट भिसामा कुबेत जाने युवतीहरूको यात्रालाई कडाइ गरेपछि दमाईंले वैकल्पिक उपाय अपनाएकी थिइन् । विमानस्थल अध्यामगनमा ओमान जाने भन्दै सबै कागजपत्र देखाएपछि अध्यागमनले उनलाई प्रस्थान अनुमति दिएको थियो । अध्यागमनले प्रस्थान अनुमति दिएपछि अन्तिम सुरक्षा जाँचमा उनको साथबाट कुवेतको भिसा पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

असजिलो तरिकाले हिँडेको देखेपछि महिला प्रहरीले शंका लागेर दमाईंको शरीर खानतलासी गरेको थियो । प्रहरीले स्यानिटरी प्याडभित्र लुकाएर राखेको कुवेतको पेपर भिसा भेटेपछि उनलाई तत्काल पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रहरीसँग उनले म्यानपावर कम्पनीको एजेन्टको परामर्शअनुसार आफूले कुबेतको भिसा लुकाएर लगेको बताएकी आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.