Powered by Blogger.
सरकारसँग थारू आक्रोशित

काठमाडौँ, १५ भदौ । 
सरकारको शैलीबाट आक्रोशित थारूहरूले प्रधानमन्त्री सुशील कोइरालासँग सोमबार भेट गरी आन्दोलनका लागि वातावरण बनाउन आफ्ना सातबुँदे माग स्वीकार गर्नुपर्ने अडान दोहोर्‍याएका छन् ।

प्रमुख चार दलका शीर्ष नेताहरूको तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाले दोस्रोपटक आइतबार वार्ता लागि आह्वान गर्दै पठाएको पत्र थारू आन्दोलनविपरीत भएको भन्दै उनीहरूले अस्वीकृत गरेका हुन् । थारू आन्दोलन केन्द्रीय सचिवालयका प्रवक्ता एवं सभासद् अमनलाल मोदीको नेतृत्वमा सोमबार अपराह्न प्रधानमन्त्री कोइरालासँग भेटेको प्रतिनिधिमण्डलले वार्ताका लागि वातावरण बनाउन पनि आफ्ना माग पूरा हुनुपर्ने अडान लिएको थियो ।


प्रधानमन्त्रीले प्रतिनिधिमण्डलसँग थारूहरू वार्तामा बसेपछि उनीहरूले राखेका मागमाथि विचार हुनसक्ने भन्दै थारूहरूलाई झनै आन्दोलित बनाएर पठाएको प्रवक्ता मोदीले जानकारी दिए । उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘वार्तामा बसेपछि तपाईंहरूको माग सरलीकरण गरौंला ।’ मोदीका साथ प्रधानमन्त्री कोइरालासँग भेट्न सचिवालयका सदस्य एवं सभासद्द्वय सन्तकुमार चौधरी र जनकराज चौधरी गएका थिए ।

प्रधानमन्त्रीलाई भेट्नुअघि सोमबार नै प्रधानमन्त्रीले दोस्रोपटक पठाएको पत्रका बारेमा छलफल गर्न बसेको बैठकका क्रममा पत्रको भाषाप्रति आपत्ति प्रकट गर्दै माग सम्बोधन गर्ने विषयमा कुनै शब्द नसमेटिएको ठहर गर्दै थारू अगुवाहरू प्रमुख चार दल र सरकारसँग आक्रोशित भएका थिए । सिंहदबारमा सोमबार बसेको थरुहट, थारूवान संयुक्त संघर्ष समिति, केन्द्रीय संयोजन तथा आन्दोलन परिचालन समितिको सचिवालयको बैठकले यथास्थितिमा वार्तामा बस्न नसक्ने निर्णयसमेत गरेको छ ।

वार्ताका लागि आफूहरूले अघि सारेको सातबुँदे माग पूरा गर्नुपर्ने थारू कल्याणकारी सभाका पूर्वअध्यक्ष राजकुमार लेखीले बताए । ‘हामी वार्ताविरोधी होइनौं । तर सरकारले हाम्रा न्यूनतम सर्त पनि पूरा गरेन । कसरी वार्तामा बस्न सक्छौं ?’ उनले भने ।

थारू नेत्री एवं सभासद् रुकमणी चौधरीले सरकारले थारूहरूप्रति हेपाहा प्रवृत्ति राख्दै गैरजिम्मेवारी ढंगमा पत्राचार गरेको आरोप लगाइन् । उनले भनिन्, ‘हामी सरकारसँग वार्तामार्फत निकास खोज्न तयार छौं तर सरकारले पठाएको पत्रको भाषा अत्यन्त कम्जोर छ, हेपाहा प्रवृत्तिको छ ।’

सरकारले थारूहरूको सम्मान गर्दै अर्को पत्र पठाएमा वार्तामा बस्नेबारे सोच्न सकिने उनले बताइन् । थारू आन्दोलनकारीले वार्ताका लागि कैलालीलगायतका जिल्लामा थारूहरूमाथि सबै प्रकारका दमन रोक्नुपर्ने, घाइतेको उपचार र क्षतिपूर्ति दिनुपर्ने, सेना परिचालन फिर्ता हुनुपर्ने र थारूलाई संघीय राज्य दिनुपर्नेलगायत माग राखेका छन् ।

मधेसी मोर्चाको मंगलबार बस्ने बैठकले प्रधानमन्त्री कोइरालाले पठाएको वार्ता प्रस्तावबारे निर्णय लिने भएको छ । तराईमधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले सर्लाहीमा रहेका आफ्ना नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रप्रसाद यादव मंगलबार बिहान राजधानी आउने र दिउँसो मोर्चाको बैठक बसेर यसबारे निर्णय हुने जानकारी दिए ।

मोर्चा बैठकले प्रधानमन्त्रीको दोस्रो पत्र, जारी आन्दोलन र पश्चिम नेपालको घटनाबारे निर्णय लिने जानकारी दिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.