Powered by Blogger.
पराल ओढेरै बित्छ रात


दोलखा, ९ पुस ।

नाम्दु–८, ठोट्नेरीकी लक्ष्मी मिजार पराल ओछ्याउँछिन्, पराल ओढ्छिन् र त्यसमाथि चित्रा खाप्छिन् । तैपनि रातको चिसोले उनलाई निद्रा पर्दैन । उमेरले ७० लागेकी लक्ष्मीको छाप्रोमा ओढ्ने, ओछ्याउने छैन ।

न्यानो लुगा र पोषणयुक्त खानेकुरा पनि छैन । एक मात्र सहारा दृष्टिविहीन वृद्ध श्रीमान् पनि बिरामी परेपछि उनी झन् कष्टमा परेकी छन् । भूकम्पले घर भत्किएपछि छाप्रामा बस्नुपरेकाले चिसो बढ्दै गएपछि रात बिताउन निकै कष्ट भइरहेको उनी बताउँछिन् । ‘ठन्डीले हामी दुवैलाई रातभरि खोकी लाग्छ, मुटु फुट्लाजस्तो हुन्छ, आँखाबाट आँसु बग्छ,’ लक्ष्मीले भनिन् ।

ठोट्नेरीका अधिकांश बासिन्दा सरकारले न्यानोका लागि दिने भनिएको १० हजार रुपैयाँ कुरेर बसेका छन् । तर जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयअनुसार यो गाउँका बासिन्दाले तत्काल यो रकम पाउने छैनन् ।

८५ करोड आवश्यक भएको दोलखालाई सरकारले ५० करोडमात्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने उत्तरी गाविसहरू पहिलो प्राथमिकतामा राखिएकाले उक्त गाउँमा रकम जान केही ढिला हुने बताउँछन्

पश्चिमतिर फर्किएको ठोट्नेरी बस्ती अहिले चिस्यान केन्द्रजस्तै छ । यो गाउँका भूकम्पपीडितलाई जस्तापाता नदिइएकाले न्यानो टहरा कसैको पनि छैन ।
कसैकसैले पुरानो जस्तापाताको टहरा बनाएका छन्, कतिपय त्रिपाल र चित्राको छाप्राभित्र गुजार्दै छन् । त्रिपालको दैनिकी कष्टकर भएपछि कोही भने टहरा बनाउने सुरसारमा छन् ।

आएको राहत बाटामै लुटिएकाले ठोट्नेरी बस्ती अन्यायमा परेको स्थानीयवासीको गुनासो छ । केही खानेकुरा र त्रिपाल मात्र पाएका ठोट्नेरीवासीले सरकारले दिएको १५ हजार भने हात पारे । तर उक्त रकम खानेकुरा र उपचारमा सिद्धियो ।

त्यसैले यो बस्तीका बासिन्दाले आएको रकमबाट न्यानो टहरा बनाउन सकेनन् । ४५ वर्षीया राधा मिजार पाइएको रकमजति रासनपानीमै सकिएकाले चिसो छेक्न फरियाको थाङ्ना बेरेर रात कटाउनु परिरहेको दुस्खेसो सुनाउँछिन् । ठोट्नेरी र डाँडागाउँमा पिउने पानीको पनि अभाव छ । यहाँका चेलीहरू पानीका लागि दैनिक दुई घण्टा ओहोरदोहोर गर्छन् । भुइँचालोपछि सुत्केरी भएकी डाँडा गाउँकी पार्वती ढुंगेल पानी बोक्नकै लागि बिहान ३ बजे उठछिन् ।

फर्कंदा बच्चा चिसोले कठ्यांग्रिएको हुन्छ । त्यसैले चिसो बढेसँगै बच्चा बिरामी भइरहन्छ । खडिनी चौरबाट पाइप बिछ्याउन सके गाउँलेको सकस कम हुने उनी बताउँछिन् । डिभिजन खानेपानी कार्यालय प्रमुख विद्यानाथ भट्टराई उक्त गाउँको खानेपानीको समस्या समाधान गर्न कार्यालयले पहल गर्ने कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.