Powered by Blogger.
बेलायती संसद अगाडि मोदीविरूद्ध प्रदर्शन गरिने


लन्डन, १९ कात्तिक ।

बेलायतको सर्बदलीय संसदीय समिति अन्तर्गत नेपाल र भारत डेक्स हेर्ने सांसद वीरेन्द्र शर्माले नेपालमा भारतले गरेकोे नाकाबन्दीले उत्पन्न समस्या समाधानमा पहल गर्न बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई पत्र लेखेका छन् ।

सांसद शर्माले क्यामरुनलाई लेखेको पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने बेलायत भ्रमणका बेला नेपालमा लगाइएको अघोषित नाकाबन्दीलाई पनि एजेन्डा बनाउन प्रस्ताव गरिएको छ । नेपाली दूतावास लन्डनमा आयोजित नेपाल डेस्टिनेशन प्रमोशन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले प्रधानमन्त्री क्यामरुनलाई लेखेको पत्रबारे जानकारी गराएका हुन् ।

नेपाली दूतावास लन्डन र पर्यटन बोर्डको संयुक्त आयोजनामा मंगलबार आयोजित उक्त कार्यक्रममा सांसद शर्माले नेपाली जनताले लामो प्रतिक्षापछि नयाँ संविधान प्राप्त गरेकोमा बधाई दिए । कार्यक्रममा सांसद शर्माले भारत र नेपालको ऐतिहासिक सम्बन्धका बारेमा पनि चर्चा गरे । उनले दुई मुलुकबीचको सम्बन्ध नबिर्गान भारतलाई सुझावसमेत दिए ।

कार्यक्रममा बोल्दै सर्वदलीय संसदीय समितिका उपसभापति बब ब्लायकमानले बेलायतको संसदमा जम्मा २५ प्रतिशत महिलाको प्रतिनित्व रहेको चर्चा गर्दै नेपालको नयाँ संविधानले ३३ प्रतिशत महिला संसदमा प्रतिनिधित्वको ग्यारेन्टी गरेको उल्लेख गरे । नेपालको नयाँ संविधानबाट बेलायतले पाठ सिक्नु पर्ने उनको तर्क थियो । उनले बेलायतले नेपालको विकास र समृद्धि हेर्ने चाहेको विचार ब्यक्त गरेका थिए ।

कार्यक्रममा बेलायतकालागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुगेर नयाँ संविधान जारी भएको बताए । नेपालमा हालै गएको भूकम्पपछि जनजीवन साधारण अवस्थामा फर्किसकेको जानकारी दिँदै उनले भ्रमणकालागि नेपाल सुरक्षित रहेको बताए ।

 कार्यक्रममा नेपाल इन्टरनेश्नल म्याराथोनका निक किरशव, नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत श्रद्धा श्रेष्ठ, प्रसाशन प्रमुख कमलप्रसाद भट्टराई, सूर्य थपलिया, ध्रुर्ब केसीलगायतले नेपालको पर्यटन प्रवद्र्धनका विभिन्न पक्षमा मन्तब्य राखेका थिए ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बेला बेलायतस्थित नेपाली समुदायले १२ नोभेम्बर दिउँसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्ने भएका छन् । सो प्रदर्शनमा रहेका करिब १ दर्जन सामाजिक तथा राजनीतिक संघसंस्थाको सहभागिता रहने अपेक्षा गरिएको आजको नागरिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.