Powered by Blogger.
नाकाबन्दीको असर,७ हजार कन्टेनर भारतमा अलपत्र



काठमाडौँ, २ कात्तिक  ।
 भारतले गरेको अघोषित नाकाबन्दीका कारण चीन तथा तेस्रो मुलुकबाट नेपाल आउन लागेका करिब ७ हजार मालवाहक कन्टेनर भारतमा अलपत्र छन् । भारतले सीमा क्षेत्रमा असुरक्षाको कारण देखाउँदै सामान बोकेका ट्रक नेपाल छिर्न रोकेपछि कोलकाता बन्दरगाहलगायत अन्य भन्सारमा कन्टेनर अलपत्र परेका हुन् ।

समयमा कन्टेनर जाँचपास गरेर नेपाल भित्रिन महिनौं लागेपछि आयातकर्ता व्यवसायीले कन्टेनर रोकिएवापतको करोडौं रुपैयाँ बिलम्ब शुल्क तिर्नुपरेको छ । कन्टेनर र कार्गो आवागमनमा धेरै ढिलो हुँदा ठूलो नेपाली व्यवसायीले करोडौं रुपैयाँ विलम्ब शुल्क तिर्नुपरेको कोलकाताका लागि नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले बताए ।

कोलकाता बन्दरगाह, कन्टेनर तथा कार्गो जाँच हुने भारतीय भन्सार र नेपाल–भारत सीमामा चीन तथा तेस्रो मुलुकबाट आएका ६ हजार ९ सय कन्टेनर अहिले भारतीय भूमिमा रोकिएको उनले कोलकाताबाट टेलिफोनमा जानकारी दिए । ‘भारतले निर्यात गर्ने सामानका ट्रक÷कन्टेनर त यसै रोकिएका छन्,’ उनले भने, ‘तेस्रो मुलुकबाट आएका सामान यहाँ रोकिँदा बन्दरगाह, भन्सार, सिपिङ लाइनर्स (पानी जहाजका ढुवानीकर्ता) र ट्रक÷रेलमा नेपालको सीमासम्म कन्टेनर ढुवानी गर्नेलाई समेत बिलम्ब शुल्क तिर्नुपरेको छ ।’

तेस्रो मुलुकबाट आएका सामान नेपालसम्म पु¥याएर समयमै कन्टेनर सिपर कम्पनीलाई फर्काउनुपर्छ । तर, छोटो अवधिमा उक्त काम पूरा गर्न सम्भव हुँदैन र बढी समय लाग्नासाथ कम्पनीले व्यवसायीलाई प्रतिदिन उच्च दरमा डिटेन्सन चार्ज (ढिलाइवापत तिर्नुपर्ने जरिवाना) लगाउँछ । यही चार्ज तिर्न अहिले व्यवसायी हैरानी बेहोरिरहेको महावाणिज्य दूतावासले जनाएको छ ।

कोलकाता बन्दरगाहमा मात्र अहिले २ हजार ४ सय कन्टेनर जाँचपास हुन नसकेर थन्किएका छन् जसका कारण बन्दरगाह भरिएर अरू कन्टेनर ल्याएर राख्ने ठाउँसमेत नरहेको घिमिरेले बताए । उनका अनुसार बन्दरगाहबाट कन्टेनर पास नभई रोकिँदा व्यवसायीले सिपिङ लाइनर्सलाई प्रतिदिन प्रतिकन्टेनर १ सय ३५ अमेरिकी डलर (करिब साढे १३ हजार रुपैयाँ) बिलम्ब शुल्क डलर तिर्नुपरेको छ ।

उक्त बन्दरगाहमा रोकिएका सम्पूर्ण कन्टेनरका लागि प्रतिदिन करिब ४ करोड रुपैयाँ (२.५० करोड भारु) बिलम्ब शुल्क तिर्नुपर्ने महावाणिज्य दूतावासले जानकारी दिएको छ । भारतबाट नेपालमा सामान आयात गर्ने रक्सौल, जोगबनी र नौतनवा मुख्य नाका हुन् ।

तराई–मधेसमा जारी आन्दोलनको कारण देखाउँदै उक्त नाकाबाट भारतले अहिले कुनै पनि सामान पठाएको छैन । जोगबनी र नौतनवा अर्थात भैरहवा नाकाबाट सामान्य आयात भए पनि रक्सौल अर्थात वीरगन्ज नाका ठप्प छ । रक्सौल सुक्खा बन्दरगाहमा मात्र अहिले २ हजार ५ सय कन्टेनर रोकिएका छन् ।

कोलकाता महावाणिज्य दूतावासका अनुसार अहिले जोगबनीमा ५ सय र नौतनवामा १ सय ५० कन्टेनर रोकिएका छन् । नाकाबन्दी कारण ८० हजार मेट्रिक टन रासायनिक मल, १ लाख ५० हजार मेट्रिक टन औद्योगिक सामग्री र ३० हजार मेट्रिक टन डन्डी तथा छड निर्माणमा आवश्यक कच्चा पदार्थ (आइरन ब्लेड) रोकिएको घिमिरेले जानकारी दिए ।

बन्दरगाहमा सामान÷कन्टेनर आएपछि बढीमा २१ दिनभित्र जाँचपास गरी सिपरलाई कन्टेनर फिर्ता गर्नुपर्छ । तर, अहिले २ महिनासम्म त्यहाँ सामान रोकिएका छन् । बन्दरगाहबाट सामान छुटाउन वा राफसाफ गर्नका लागि दुई सय ४४ एजेन्ट कम्पनी सूचीकृत भए पनि करिब ४० कम्पनीले त्यहाँ काम गर्दै आएका छन् ।

एजेन्ट कम्पनीले सामानमा उच्च बिलम्ब शुल्क लगाउँदा नेपाली व्यवसायीले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । व्यापार तथा पारवहन सन्धिअनुसार तेस्रो मुलुकबाट आएका कन्टेनर भारतीय सीमाबाट १५ दिनभित्र पास भइसक्नुपर्छ । नत्र व्यवसायीले आयात गरेको सामानको कुल मूल्यको १ प्रतिशत जरिवाना तिर्नुपर्छ । अहिले व्यवसायी भारतकै कारण नाकाहरूमा उक्त जरिवानासमेत तिर्न बाध्य छन् ।

नेपाली आयातकर्ता व्यवसायीले तिर्नुपर्ने विलम्ब शुल्क मिनाहा गर्ने विषयमा शुक्रबार कोलकाता महावाणिज्य दूतावासमा बैठक बसेर यसको निकास खोज्ने प्रयास गरिएको थियो । उक्त बैठकमा सिपिङ लाइनर्स, बन्दरगाह सञ्चालक, नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधि, आयातकर्ता व्यवसायीका एक प्रतिनिधि र भन्सार जाँचपासका प्रतिनिधि सम्मिलित रहेको दूतावासले जानकारी दियो ।

महावाणिज्य दूतावासले नेपाली आयातकर्ता व्यवसायीलाई आफ्ना आयातकर्ता एजेन्ट र सिपिङ लाइनर्सलाई विलम्ब शुल्क नलिइदिन अनुरोध गर्न आग्रह गरेको छ । यो विषय उसले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत पत्र लेखी व्यवसायीले तिर्नुपरेको विलम्ब शुल्क मिनाहा गर्नेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ ।

कोलकाता बन्दरगाहबाट नेपालको सीमासम्म कन्टेनर बोकेका रेल बढीमा २० दिन र ट्रक १० दिनमा आइपुग्छन् । सीमा कन्टेनर आएपछि १५ दिनभित्र जाँच गरी भन्सार कटाउनुपर्छ, नत्र भन्सारमै जरिवाना तिर्नुपर्छ । भारतका विभिन्न भन्सारमा कन्टेनर बोकेका ट्रक रोकिएकाले रेल र ट्रकका लागि तोकिएको अवधि ३० दिनसम्म पु¥याइदिन समेत सिपिङ लाइनर्सलाई दूतावासले आग्रह गरेको छ ।

महावाणिज्य दूतावासका अनुसार अहिले कोलकनता बन्दरगाहबाट जाँचपास गरी नेपालतर्फ हिँड्न तयार रहेका कन्टेनरको संख्या १ हजार छ । यस्तै, त्यहाँबाट ३ सय ५० कन्टेनर बोकेर केही ट्रक हिँडिसकेका छन् भने जाँचपास हुन बाँकी ३ सय कन्टेनर रहेको आजको नागरिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.