Powered by Blogger.
प्रहरीले दसैंखर्च मागेर सताए : व्यवसायी

पोखरा, १ कात्तिक ।
 इन्धन अभाव झेल्दै चलेका सार्वजनिक सवारीलाई प्रहरीले दसैंखर्च माग्दै दुःख दिएको गुनासो यातायात व्यवसायीले गरेका छन् । प्रहरीले यात्रु बढी बोकेको, छतमा राखेको भन्दै दसैंखर्च माग्ने, ब्लुबुक राख्ने र एक हजार रुपैयाँसम्म जरिबाना तिराउने गरेको उनीहरूको गुनासो छ । ‘पेट्रोलियम पदार्थ नपाएर यात्रुको टिकट काट्ने कि, नकाट्ने भइरहेको छ’, यातायात व्यवसायी महासंघका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले भने, ‘उता प्रहरीले भने ठाउँठाउँमा गाडी रोकेर दसैंखर्च ले भन्दै जरिबाना तिराएर दुःख दिएका छन् ।’

उनले लामो दूरीमा यातायात सञ्चालन गर्दै आएको पृथ्वी राजमार्ग यातायात व्यवसायी महासंघसँग १ हजार २ सय ५० वटा बस रहेको जानकारी दिँदै चलेका १० प्रतिशत पनि तेल नपाएर बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । ‘यात्रु दसैं मान्न घर जान नपाएर बिचल्लीमा परेका छन्’, उनले भने, ‘ठूलो नोक्सानी बेहोरेका यातायात व्यवसायीले धन्न सेवा दिए भन्नुपर्नेमा उल्टै हामीलाई सताउने ?’

उनले पोखरामा मात्रै भाडाका करिब १० हजार सवारीसाधन रहेको बताउँदै राज्यले तेलको व्यवस्था गर्न नसकेका कारण बन्द हुन लागेको जानकारी दिए ।

अस्तायो अनुगमन समिति

सार्वजनिक सवारीले यात्रुसँग मनपरी भाडा असुलेर ढाड सेके पनि अनुगमनकारी निकायले कारबाही गरेको छैन । इन्धन अभावको बहाना बनाएर व्यवसायीले यात्रु ठगे पनि राज्यका निकायले ध्यान नदिँदा लुटतन्त्र फस्टाएको आरोप उपभोक्ताले लगाएका छन् ।

कास्कीमा जिल्ला अनुगमन समिति, बजार अनुगमन समिति, यातायात व्यवस्था समितिलगायत उपभोक्ताको हकहितका पक्षमा काम गर्ने डेढ दर्जन समिति भए पनि सबै सक्रिय नहुँदा उपभोक्ता ठगिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

‘यातायात व्यवस्था कार्यालयको अनुगमन समिति भएनभएको पत्तो छैन’, उनले भने, ‘त्यसैले पनि यात्रु चरम ठगिएका छन् ।’ जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरीनिरीक्षक श्यामु अर्यालले इन्धन अभाव भएकाले भित्र र छतमा यात्रु कोचेर राख्ने सवारीसाधनलाई कारबाही गर्न नसकिएको बताए । ‘राष्ट्रिय समस्या भएकाले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाही गर्न सकेका छैनौं’, उनले भने, ‘तर बढी भाडा असुल्नेलाई कारबाही गरेका छौं । यात्रुले बढी भाडा तिर्नुपरेको गुनासो हामीकहाँ आएको छ । सवारी नम्बरसहित गुनासो आएकालाई त्यसै छाडेका छैनौं ।’

बढी भाडा लिने बसलाई कारबाही गरे पनि प्रहरीले ट्याक्सीलाई भने कारबाही गरेको छैन । ‘ब्ल्याक’ मा तेल किनेर चलाएकाले महँगो परेको भन्दै कारबाहीतर्फ चासो नदिएको एक प्रहरी अधिकृतले बताए । लमजुङका प्रमुख जिल्ला अधिकारी मोहन अकेलाले पेट्रोलियम पदार्थको कालोबजारी र मनलाग्दी भाडा असुली सम्बन्धमा प्रशासनले चासोपूर्वक हेरेको आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.