Powered by Blogger.
कुर्सी कुलतले नांगिएको कांग्रेस


काठमाडौँ, २४ असोज ।

संविधान निर्माण र सरकार संचालनको अठार महिना लामो सहयात्रालाई एकातर्फी रुपमा तोड्दै कांग्रेसले सुशील कोइरालालाई फेरी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रमुख तीन दलबीचको एकता धरापमा परेको छ । संविधान बनेपछि नयाँ सरकारको नेतृत्वबारे मौन बस्दै आएको कांग्रेसले उम्मेदवारी दर्ताकै दिन कुर्सी नछोड्ने एउटा आश्चर्यजनक निर्णय गरेर तीन दलको एकता चाहने सबैलाई निरास बनाएको छ । कुर्सी कुलतले कांग्रेस र सुशील दुवै नांगिएका छन् ।

निकै सुझबुझ र साहसका साथ संविधान ल्याउन सफल भएका तीन मुख्य दलको एकता नटुटोस् भनेर अन्तिम क्षणसम्म पनि सिंगो मुलुकले नै कामना गरिरहेको थियो र अहिले पनि त्यो कामना जारी छ । सामाजिक सञ्जालमा तीन दलको एकता नभत्कियोस् भनेर नागरिकस्तरमा निकै चर्को खबरदारी भयो । हरेक पार्टीका नेता, सदस्य, सुभचिन्तकदेखि सर्वसाधारणसमेतले पनि भनिरहेका थिए, ‘यस्तो संकटका बेला तीन दल फुट्नु हुँदैन ।’

कांग्रेस केन्द्रीय समितिको दुई दिनसम्म चलेको बैठकमा धेरै सदस्यले मुख्य दलहरुबीच भएको सहमतिअनुसार अघि बढ्नुपर्ने र तीन दलीय सहकार्य तोड्न नहुनेमा जोड दिएका थिए । एमाले र एमाओवादीसँगको सहयात्रा नतोड्न युवा नेताहरुले नेतृत्वलाई निरन्तर घच्घचाइरहेका थिए। तर यी सबै भावना, आग्रह र  अपेक्षालाई उपेक्षा गर्दै कांग्रेस अन्तिम क्षणमा आएर कुर्सीका पक्षमा खडा भयो र केही नेताहरु बालुवाटारमा बसेर सुशील कोइरालालाई फेरि उम्मेदवार बनाउने निर्णय गरे ।

करिब एक घन्टा अघि राजीनामापत्र शितलनिवास बुझाएर प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गर्न नयाँ बानेश्वर पुगेका सुशील फिस्स हाँसे पनि उनको अनुहारमा केही संकोच र सकस झल्किन्थ्यो । कांग्रेस तथा सुशीलका लागि यो निर्णय कुनै शक्तिबाट निर्देशित वाध्याता हो कि स्वभाविक सत्ता लिप्सा हो ? सबैतिरबाट अहिले कांग्रेसलाई सोधिएको प्रश्‍न यही हो । यसको जवाफ सुशील, शेरबहादुर र रामचन्द्रले दिनुपर्छ। कांग्रेसको निर्णय र शक्तिको स्रोतलाई रहस्यमयी बनाउने जुन प्रयास हुँदैछ, त्यसले पार्टीको छविमा निकै नकारात्मक असर पर्नेछ ।

राजनीति भनेको सधै जालझेल र खेल मात्र होइन, एउटा संस्कार, विश्वास र वचन पनि पनि हो। अठार महिनासम्म एमालेले कांग्रेसलाई अनेक असन्तुष्टी आक्षेप र थोरै अपमान सहेर भए पनि साथ दिएको हो । तर अहिले ुकेही लिखित छैनु भनेर तर्किनु कांग्रेसजस्तो पुरानो र जिम्मेवार पार्टीका लागि सुहाउने संस्कार होइन । यसले कांग्रेसको चरित्र र विश्‍वसनियतामा पनि धक्का पुग्नेछ ।

संविधानसभाको दोस्रो चुनावपछि संविधान निर्माण र सत्ता साझेदारी सम्बन्धमा २०७० माघ २६ मा कांग्रेस र एमालेबीच सातबुँदे सहमति भयो । त्यही सहमतिअनुसार एमालेको समर्थनमा सुशील प्रधानमन्त्री बने । सात बुँदेमा नलेखिए पनि संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमति भएको खुलासा त्यतिबेला पनि दुवै पक्षले नेताहरुले गरेका थिए ।

गत जेठ २५ गते  मुख्य चार शक्तिहरुबीच संविधान निर्माणका लागि १६ बुँदे सहमति हुँदा पनि संविधान बनेपछि ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको कुरा नेताहरुले सार्वजनिक रुपमा बोलेका थिए । सुशीलले संविधान बनेको भोलिपल्ट राजीनामा दिन्छु भनेर पटकपटक सार्वजनिक रुपमा बोलेका थिए । संविधान जारी भएपछि गत असोज १५ गते संसद्को बैठकलाई सम्बोधन गर्ने क्रममा पनि उनले त्यही प्रतिवद्धता दोहोर्‍याउँदै पद त्यागको घोषणा गरेका थिए तर राजीनामा भने दिएनन् ।

बालुवाटारमा पछिल्लो पटक बसेको तीन दलको वार्ता र सर्वदलीय बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान बनेपछि ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति तीन पटक भएको खुलासा गरेका थिए । सुशील कोइरालाले भद्र सहमति भएको स्वीकार गरेका थिए। उनले आफू फेरि प्रधानमन्त्री बन्न खोजेको भन्दै गलत हल्ला फैलाइयो भनेर आक्रोश पनि पोखेका थिए । आफ्ना यी सबै वचन, बोली र व्यवहार विपरीत कोइराला एक्कासी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रेका छन् ।

सबैलाई थाह छ । दक्षिणको हाम्रो छिमेकी अहिले खुसी छैन र रिसाएको छ । उसको साथ र सहयोग हामीले लिनुपर्छ । तर त्यो भन्दा धेरै गुना महान् र मूल्यवान हाम्रो स्वाधिनता र स्वाभिमान हो । त्यसमा चोट पुर्‍याएर कुनै शक्तिलाई खुसी बनाउने हक कसैलाई छैन र त्यस्तो हर्कत गर्नेलाई इतिहासले पनि माफ दिने छैन । त्यस्तो हर्कतको माध्यम यदि कांग्रेस वा कांग्रेसका कोही पात्र बन्न खोज्दै छन् भने त्यो कांग्रेसका लागि निकै दुर्भाग्यपूर्ण हुनेछ ।

अहिले मुलुक सहज अवस्थामा छैन । जनताका प्रतिनिधिले पहिलोपटक संविधान बनाउँदा छिमेकी खुसी हुन सकेको छैन । नयाँ संविधानको सजाय स्वरुप तीन हप्तादेखि नाकाबन्दी खेप्नुपरेको छ । आपूर्ति व्यवस्था ठप्प छ र हाहाकारको स्थिति छ । एकथरी मधेस केन्द्रित दलहरु भारतीय पक्षको त्यही नाकाबन्दीलाई सघाउन सिमामा धर्ना बसेका छन् र पराईको भूमिमा टेकेर नेपालतिर ढुंगा हानिरहेका छन् । यस्तो बेला फुटेर होइन, अझ् जुटेर संयम र साहसका साथ नयाँ संविधानको कार्यान्वयन गर्नुपर्ने दायित्व र चुनौती तीन दलसमक्ष छ । यो सबै अवस्थालाई बुझेका कांग्रेसका केही नेताहरु भने कुर्सी छोड्दा कांग्रेस नै सकिन्छ कि भन्ने भ्रमबाट निर्देशित देखिएका छन् ।

विगतको पृष्ठभूमि जे जस्तो भए पनि संविधान बनाएर सुशीलले एउटा बेग्लै उचाइ हासिल गरेका छन् । कांग्रेसले पनि यसमा जस लिने र गर्व गर्ने अवस्था  छ । तर कुर्सीका लागि कांग्रेस जसरी नांगै कुद्‍न खोजेको छ, यसले  सुशीलको सादगी छविमा दाग लाग्ने छ र कांग्रेसको ऐतिहासिक पहिचान एव‌ं चरित्रमा खिया पनि लाग्ने खतरा छ ।

अठार महिना सँगै हिडेको कांग्रेसबाहेक यतिबेला केपी ओलीलाई सबैको साथ र सहयोग छ । केपीलाई रोक्न शक्ति केन्‍द्रको सक्रियता र चलखेलसँगै उनी झन् बलियो भएका छन् । आम साहानूभूति केपीको पक्षमा छ । त्यसैले अझै पनि समय छ । सुशील र कांग्रेसले आफूलाई सच्चाउने र जोगाउने अवसर थोरै बाँकी छ । सुशीलले उम्मेदवारी फिर्ता लिनुपर्छ र हार्दिक रुपमा ओलीलाई सघाउनुपर्छ । सुशीलको यो उम्मेदवारी कांग्रेस र यसका सुभचिन्तक पछिसम्म पछुताउनु पर्ने एउटा भूल हुने आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.