Powered by Blogger.
खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक, १६ असोज ।
वार्षिक २० अर्बको आयात र साढे २ अर्बको निर्यात गर्दै राज्यलाई ५ अर्ब रुपैयाँ राजस्व दिलाउने उत्तरको एक मात्र ठूलो तातोपानी नाका शुक्रबारबाट तिब्बतसँग जोडिएको छ । वैशाख १२ को भूकम्प, शक्तिशाली अनुकम्पन र बर्खाको बाढीपहिरोका कारण पाँच महिनादेखि अवरुद्ध अरनिको राजमार्ग चीन नाकासँग शुक्रबार साँझबाट सडक ट्र्याकले जोडिएको हो ।

पाँच दिन समय दिएर फुटाल्न थालिएको लिपिङबजारको चट्टाने पहिरो बीचबाटै ट्र्याक खोलेर तीन दिनमै नेपाल–चीन छुट्ट्याउने मितेरीपुलमार्फत जोडिएको छ । साँझ ६ बजे सडक ट्र्याकले नाका जोडिएसँगै काठमाडौंबाट गएका साना सवारी साधन मितेरी पुलमै पुगेका छन् । राजमार्ग खुलाउने सडक डिभिजन कार्यालय र सवारी कर्मचारीलाई मितेरी पुलमा तैनाथ चिनियाँ सुरक्षा अधिकारीले बधाइ दिँदै भव्य स्वागत गरेका छन् ।

राजमार्गले नाका जोड्ने कार्यभार पूरा ग¥यो राजमार्ग खुलाउने कामको नेतृत्व गरेको डिभिजन कार्यालय दोलखाका इन्जिनियर रामबहादुर गुरुङले भने । भूकम्पपछि पाँचौंपटक राजमार्गले नाका जोडिएको हो । यसअघि डिभिजन कार्यालय, स्थानीय व्यवसायी र नेपाली सेनाको प्रयासमा चार पटक राजमार्ग खोलिएपनि बर्खाको बाढीले उस्तै बनाएको थियो । बर्खा थामिँदै गर्दा व्यवसायीकै दबाबमा डिभिजनले आफ्नै स्रोतसाधन र उधारोमा पेट्रोलियम पदार्थ खरिद गरेर पाँचौंपटक भदौ १५ बाट राजमार्ग अवरोध हटाउन थालेको थियो ।

जारी नयाँ संविधानलाई लिएर भारतले दक्षिणी नाकामा अघोषित नाकाबन्दी गरेपछि मात्र यो मुख्य नाका सरकारी चासोमा परेको हो । सरकारले चासो दिएको सात दिनमै राजमार्गले चीन जोेडेको हो । भारतीय नाकाको तनाबले आपूर्ति असहज भएपछि साताअघि मात्रै वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनियाँ अधिकारी भेटेर उत्तरी नाका खुलाउन सहयोग गर्न आग्रह गरेको थियो ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारी नाका खुलाउन सकारात्मक भएपछि नाका अवरोध हटाउन सरकारले तीव्रता दिएको थियो । ‘केही ठाउँमा बाहेक राजमार्ग दुईतर्फी छ। कन्टेनर गुडाउन कुनै समस्या छैन,’ इन्जिनियर गुरुङले भने । तीन सातादेखि राजमार्ग खुलाउन थाले पनि अघि बढ्दै गर्दा मितेरी पुलको २ सय मिटरवर घरभन्दा अग्लो चट्टाने पहिरो फेला परेपछि त्यो पन्छाउन चुनौती देखिएको थियो । सय मिटर चौडा र २० मिटर अग्लो पहिरो हटाउन स्थानीय प्रशासनले पाँच दिन समय दिएकोमा सडक डिभिजनले दुई दिनमै त्यहीँमाथिबाट ट्र्याक खोलेर नाका जोडिदियो ।

 दक्षिणी नाका बन्द भएको र चाडबाडसमेत सुरु भएकाले तत्काललाई आपूर्ति सकेर बिस्तारै सडक स्तरोन्नति गर्न सकिने इन्जिनियर गुरुङले बताए । ‘सडक साबिक बमोजिम नै फराकिलो बनाएका छौं। तीन ठाउँमा मात्र एकोहोरो साधन हिँडाउनुपर्छ,’ उनले भने, ‘शनिबारबाटै थप फराकिलो र सडक व्यवस्थित बनाउने काम सुरु हुन्छ ु।’ दक्षिणी नाकामा भएको अघोषित नाकाबन्दीपछि सातादेखि मात्र तातोपानी सरकारको चासोभित्र परेको थियो । सय मिटर चट्टाने पहिरो हटाउन तीन दिनमा अत्याधुनिक नौ उपकरण प्रयोग गरियो । त्यो चट्टाने पहिरो नपन्छाई तत्कालका लागि त्यहीमाथिबाट ट्र्याक खोलिएको हो । तत्कालीन आवश्यकता पूरा भएपछि बिस्तारै हिँउदमा चट्टान पन्छाउन सकिने सडक अधिकारी बताउँछन् ।

राजधानी काठमाडौंसम्मको आपूर्तिका लागि चीनदेखि यो नाका सबैभन्दा सजिलो र छोटो दुरीको हो । आगामी असोज २४ देखि अर्को महत्वपूर्ण नाका रसुवागढी सञ्चालनमा आउँदैछ । छोटो दुरीका कारण यो नाका सरकारको प्राथमिकतामा छ । तर यो नाका तत्काल सञ्चालनमा ल्याउन विस्थापित खासा बजार पुनःस्थापित गर्नु जरुरी छ ।

भूकम्पपछि खासाबजार खाली गरेर त्यहाँबाट ४ सय ९१ किमी टाढा सिगात्से लगिएको छ । भन्सार, अध्यागमन, सुरक्षा निकाय, स्थानीय व्यापारी सबै उतै छन् । दोस्रोपटक बुधबार नेपालका लागि चिनियाँ राजदूत भेट्दै वाणिज्य सचिव ङइन्द्र उपाध्यायले खासाको सबै निकाय फर्काउन अनुरोध गरेका थिए । ‘त्यसका लागि केन्द्रीय सरकारलाई भनिरहेको छु । केन्द्रको आदेशपछि सबै निकाय खासा फर्कन्छन्,’ राजदूतको भनाइ उद्धृत गर्दै उपाध्यायले भने । उनका अनुसार पहिलो प्राथमिकतामा रहेका तातोपानी नाका खुलाउन सबै कूटनीतिक प्रयास जारी छ ।

खासा सडक ट्र्याकले जोडिएकाले भूकम्पअघिदेखि त्यहाँ रोकिएका सामान आयात गर्न व्यवसायीले प्रयत्न थाल्ने भएका छन् । भूकम्पका कारण चैतमा ल्याइएका ५ सय कन्टेनर सामग्री खासास्थित गोदाममै रोकिएका छन् । ‘ती सामान तत्कालै ल्याउन सकिने देखियो । अब प्रक्रिया थालिहाल्छौं,’ तातोपानीका आयातकर्ता नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.