Powered by Blogger.
किबी खेतीबाट मनग्य आम्दानी



खोटाङ, २३ भदौ ।

जिल्लाका एक कृषकले किबीको बिरुवा बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । विगत तीन वर्षदेखि किबीको व्यावसायिक नर्सरी सुरु गर्नुभएका दोर्पा चिउरीडाँडा–८ का शुभचन्द्र राईले यस वर्षमात्रै साढे पाँच लाख रुपैयाँ आम्दानी गरेका छन् ।

विभिन्न प्रजातिका किबीको नर्सरी राख्नुभएका राईले प्रति बिरुवा ६ सय रुपैयाँमा बिक्री गरेका छन् । गोल्डेन, हेवार्ड र रेड प्रजातिका गरी यस वर्ष छ हजार  सात सय वटा बिरुवा बिक्री गरेको उनले बताए । राईका अनुसार हेवार्ड प्रजातिको किबीको बिरुवा प्रतिवटा  ३ सय ५०, रेड पाँच र गोल्डेन ६ सय रुपैयाँमा बिक्री हुने गरेको छ । उत्पादन गरेका बिरुवा नर्सरीबाटै बिक्री हुने गरेका छन् ।

पछिल्लो समय जिल्लाका कृषक किबी खेतीप्रति आकर्षित बनेपछि आगामी वर्ष बाह्र हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको राईले बताए । नर्सरीमा उत्पादित किबीको बिरुवा जिल्लाभित्रका सबै गाविस तथा छिमेकी जिल्ला भोजपुरमा समेत निर्यात हुने गरेको छ ।

शुभ कृषि फार्म दर्ता गरेर व्यावसायिक नर्सरी थालेका राईले स्थानीय तीन जना युवालाई रोजगारीसमेत दिएका  छन् । व्यावसायिक नर्सरी थालेका उनले सदरमुकाम दिक्तेल नजिकपर्ने नेर्पाको तालखर्कस्थित २० रोपनी जग्गामा किबी खेती पनि गरेका छन् । थोरै लगानीले धेरै आम्दानी गर्न सकिने भएकाले किबी खेती सुरु गरेको राईले बताए । ‘तीन वर्ष पहिले रोपेको बिरुवाले यस वर्षबाट फल दिन थालेको छ’, उनले भने, ‘सुरुबाटै राम्रो फल दिएकाले आगामी दिनमा अझै बढाउने तयारी गरेको छु ।’

कानुनमा बिएल तथा समाजशास्त्र र राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेका राईले विभिन्न पेसा छाडेर कृषि पेसा अपनाएका छन् । ४५ वर्षीय राईले लामो समयसम्म विभिन्न क्याम्पसमा अध्यापन तथा वकालतको काम गरेका थिए । फार्ममा किबीसँगै पाउलोनिया, सिताके च्याउ, कुरिलो, स्याउ, नास्पातीका साथै विभिन्न प्रजातिका माछासमेत लगाइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.