Powered by Blogger.
४२ दिनको बन्दले १ खर्ब भन्दा बढी क्षति, बन्द हटने सम्भावना न्यून


रुपन्देही, असोज ९ ।

विगत ४२ दिनदेखी तराई बन्द हुँदा आम मानिसको जनजिवन अत्यन्तै प्रभावित भएको छ । संघिय प्रदेशको सिमांकनको विषयमा असहमति जनाउदैं आन्दोलन थालेका मधेस केन्द्रित दलहरुले  भर्खरै जारी नेपालको संविधान २०७२ को विरोध गर्दै कडा संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

९१ प्रतिशत जनप्रतिनिधीबाट जारी भएको संविधानलाई अबैध भन्दै विदेशीको सहयोगमा अहिले मधेसी मोर्चा आन्दोलनमा कम्मर कसेर लागेको सत्तापक्ष दलहरुले आरोप लगाएका छन् । सत्तापक्ष कांग्रेस, एमाले र एमाओवादीले भारतको इशारामा मधेसी मोर्चाले आन्दोलन गरिरहेको बताइरहेका छन् ।

बन्दको कारण खरबौं नोक्सान 


लामो समयदेखीको भैरहवा क्षेत्र ठप्प हुदां एक खरब भन्दा बढी नोक्सानी भएको उद्योगी व्यवसायीले दाबी गरेका छन् । ३ हजार उद्योग व्यापार दर्ता रहेको  सिद्धार्थ उद्योग वाणिज्य  संघमा अहिले व्यापारीहरु ब्याज मिनाहा, किस्ता समय थपकोलागी बैंकलाई पहल गरिदिनुहुन भन्दै आउनेको भींड लाग्ने गरेको छ । करिब डेढ महिनादेखी उद्योग व्यवसाय ठप्प हुदां बैंकको ब्याज तिर्न नसक्दा उद्योगीहरु घर न घाटका बन्नुपर्ने अवस्था आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामुकमार शर्माले जनाए ।

अध्यक्ष शर्माले भने,‘न्दको कारण उद्योगी व्यवसायीको मात्रै नभएर मजदुर बढी प्रभावित भएका छन् । हाम्रा सदस्य प्रतिष्ठानमा प्रत्यक्ष रोजगारी गर्ने एक लाख भन्दा बढी मजदुर अहिले वेरोजगार भएका छन् ।’ बन्दले गरिखाने वर्ग बढी प्रभावित भएको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष खिमबहादुर खत्री बताउंछन् । अध्यक्ष खत्रीले भने,‘१४ सय प्रतिष्ठान भएको हाम्रो संगठनका सबै प्रतिष्ठान अहिले चौपट अवस्थामा छन् ।

यहि ताल हो भने अब उद्योग व्यवसाय बन्द गरेर हामी पनि सडकमा आउनुपर्ने अवस्था आउंछ ।’
धकधई परासी औद्योगिक करिडोर, लुम्बिनी करिडोर, सिद्धार्थ राजमार्ग औद्योगिक करिडोर जस्ता मुलुककै प्रतिष्ठीत उद्योग धन्दाहरु रहेको करिडोर ठप्प हुदां कम्तीमा सवा खरब नोक्सानी भएको उद्योगी व्यवसायी बताउंछन् । 

दशगजामा भारतीय पक्षले कार्यक्रम गर्न नदिने

संयुक्त मधेसी मोर्चाले देशभरका भन्सार नाका बन्द गर्ने कार्यक्रम तय गरि भैरहवा भन्सार नाकाबन्दी गर्न  नेपाल भारत सीमा क्षेत्रमा हुने दशगजामा कुनैपनि राजनितीक गतिविधी गर्न नदिने भारतीय पक्षले जनाएको छ ।

नेपालको रुपन्देही जिल्लासंग सीमा जोडिएको भैरहवा भन्सार नजिकको दसगजामा संयुक्त मधेसी मोर्चाले विरोध सभा गर्न खोजेपछि भारतीय पक्षले त्यसलाई रोक्ने बताएको हो । दसगजा क्षेत्रमा मोर्चाको नेताहरुले सम्बोधन गर्नेगरी नेपाल सरकारको विरोधमा हुने सभालाई  भारतीय अधिकारीले दसगजा क्षेत्रमा गर्न  कुनैपनि गतिविधी गर्न नदिने जनाएको हुन् ।

भारतीय माथिल्लो सुरक्षा रणनीति अनुसार भैरहवाको दसगजामा विरोध सभाकोलागी भारतीय सुरक्षाकर्मिले रोक लगाएको भारतीय सुरक्षा अधिकारीले जनाए । सोनौली कोतवालीका प्रमुख अनिल कुमारले दसगजामा कुनैपनि राजनितीक गतिविधी गर्न नदिइने जनाएपछि नेपालबाट गएका मोर्चाका नेताहरु निराश भई फर्केका बुझिएकोछ ।

सीमा क्षेत्रका गतिविधीलाई विश्लेषण गरी समाचार लेख्ने भारतीय एकजना पत्रकारका अनुसार सीमावर्ति भारतीय सुरक्षा अधिकारीसंग दसगजामा कार्यक्रम गर्नेगरी कार्यक्रम तय गर्न गएका रुपन्देहीका मोर्चाका नेताहरु महेन्द्र यादव, अजय बर्मा सहितको टोली त्यतिकै फर्केको छ । मोर्चाका नेताहरु विहीवार सीमावर्ति सुनौली पुगेका थिए ।

बन्दको समयमा तस्करी गर्ने गाडी सहित सीज 


बन्द र हड्तालको फाइदा उठाउदैं तस्करी गर्ने एउटा नेपाली ट्रक सहित करिब साढे सात लाख भारतीय रुपैयांको कपडा भारतीय कस्टमले सीज गरिदिएको छ । भारतको नौतनवाबाट सुनौली हुदैं नेपाल तर्फ भित्रीदैं गरेको ना १ ख ७३९१ नम्बरको ट्रक र सो ट्रकमा विल भरपाई विनाका साढे सात लाख मूल्यको साडी, सर्टिंग सुर्टिंगको कपडा बरामद भएको हो ।

नेपाल तर्फ जादैं गरेको सो ट्रकलाई खानतलासी गर्दा १ सय ५० थान अबैध कपडा सहित गाडी चालक बारा जिल्लाको बरियादपुरका विजय गुप्तालाई पक्राउ गरिएको सुनौली कस्टमका सहायक अधिकारी मधुकर आनन्दले जनाए । बरामदित कपडा र गाडीलाई भारतीय कस्टमले सीच गरेको उनले जनाए ।

सो कपडा नेपालको काठमाडौं जान थालिएको बुझिएको छ । पछिल्लो समय तस्करहरुले बन्द हड्तालको फाइदा उठाउदैं खुले आम तस्करी गर्दै आएका छन् । बन्द हड्तालको कारण नेपालका सुरक्षा निकाय चोरी तस्करीमा ध्यान कम दिदां त्यसको फाइदा उठाउदैं तस्करहरुले सीमा क्षेत्रमा खुलेआम तस्करी गरिरहेको बुझिएको छ ।

अघोषीत नाकाबन्दी

भारतीय पक्षले नेपालमा नाकाबन्दी नगर्ने जनाएता पनि अघोषीत रुपमा नाकाबन्दी गरेको देखिएको छ । लामोसमय देखी भैरहवा भन्सार कार्यलयलाई लक्षित गरेका आन्दोलनकारीलाई सघाउने ध्ययेले भारतीय पक्षले सुनौली महाराजगन्ज क्षेत्रबाट नेपाल तर्फ आउने कुनैपनि सवारी साधनलाई सहजै आउन नदिएको बुझिएको छ । भारतीय पक्षले विहीवार र शुक्रबार दसगजा क्षेत्रमा आन्दोलनकारीको कुनैपनि गतिविधी नहुदा हुदैं पनि सवारी साधनहरु नौतनवा वाइपासमा रोकेर राखेको थियो ।

नेपाल तर्फ सामाग्री लिएर आउन थालेका एकजना गाडीचालकले तपाईहरुले किन गाडी रोकेको त भनी सोधेको जिज्ञासामा भने, ‘सुनौलीदेखी नौतनवा सम्म करिब ३ सय गाडी रोकिएको छन् भारतीय सुरक्षाकर्मिले नेपाल जाने वातवरण नभएकोले रोकेर राख्न भनेकोले रोकीएको हो ।’ यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले भारतीय पक्षले घोषीत रुपमा नाकाबन्दी नगरेता पनि सहज रुपमा सवारी आवगमन गर्न नदिएको जनाए ।

नाकाबन्दी विरुद्ध आक्रोस

भारतको विभिन्न स्थानबाट नेपालकोलागी समान लिएर आएका मालबाहक ट्रक सुनौलि नौतनवामा रोकीराख्नुपर्दा गाडीका चालकहरु अत्यन्तै आक्रोसीत भएका छन् । लामो समयदेखी मालबाहक गाडी रोक्दा चालकहरुसंग भएको सीमित खर्च सकिएको तथा लोडेड सवारी साधनको टायर समेत पञ्चर हुने गरेकोले उनीहरु आक्रोसीत भएका हुन् । भारतको कानपुरबाट नेपालकोलागी सामग्री लिएर आएको एकजना सवारी चालककले भने,‘३ दिनदेखी यहिं रोकीराखेको छ, यो कहिले सम्म ? किन रोकेको भन्दा नेपालमा अहिले जाने

अवस्था छैन भन्छ खै के हो के ?’ 

यता भारतले गरेको अघोषीत नाकाबन्दीको विरुद्धमा सीमावर्ति भारतीय उद्योगी व्यापारी नै आक्रोसीत भएका छन् । सुनौली नौतनवाका व्यापारीका मुख्य ग्राहक नेपाली भएको र नाकाबन्दीको हल्लाले कोही पनि खरिदकोलागी नजादा त्यहांका ब्यापारी मारमा परेको बुझिएकोछ ।

सुनौलीको अचार गल्लीमा विगत ११ वर्षदेखी अचार तथा नमकीन व्यवसाय गर्दै आएका रामलखन जैसवालले भने, ‘यत्तिका दिन भयो सबै ठप्प छ । बुटवल पाल्पा गुल्मी अर्घाखाची देखीका दाजुभाई अचार नमकीन किन्न आउनुहुन्थ्यो । अहिले कति दिन भयो बोहनी नै भएको छैन ।’ बन्द अझै लम्बिदै गए बन्दको विरोधमा सीमावर्ति भारतीय बजारका व्यापारी नै धर्ना जुलुसमा उत्रीने सम्भावना देखिएको छ ।

निर्माण सामग्री अभाव

लामो समयदेखी बन्द हुदां निर्माण सामग्रीको अभाव हुन थालेको छ । बन्दको कारण ढुंगा गिट्टी बालुवा लगायतका नदिजन्य पदार्थको मूल्य चर्को भएको छ । केही महिना पहिले पच्चिस सय तिनहजार रुपैयां ट्रलीमा पाईने प्लास्टर बालुवा अहिले ७ हजार सम्म पुगेको छ । जोडाईको बालुका छोइनसक्नु भएको छ । हार्डवेयर पसलमा सिमेन्टको अभाब देखिएको छ । दर्जनौं सिमेन्ट उद्योगहरु भएको भैरहवा क्षेत्रमा सिमेन्टको हाहाकार मच्चीएको छ ।

निर्माण सामग्रीहरु विक्री वितरण गर्ने व्यवसायीहरुको संगठन सिद्धार्थ निर्माण समाग्री व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष राजेश खरेलले दिएको जानकारी अनुसार बन्दकर्ताको अवरोध, उद्योगमा तोडफोड, चालकलाई दुव्र्यवहार तथा गाडीमा आगजानीको कारण सिमेन्ट उत्पादनदेखी ढुवानी सम्म नभएकोले आवश्यक सिमेन्ट सप्लाई गर्न नसकिएको बताए । वरिष्ठ उपाध्यक्ष खरेलले भने, ‘भैरहवा क्षेत्रका करिब ३ सय निर्माणाधीन भवन घर अहिले सिमेन्ट नहुदां अलपत्र अवस्थामा परेका छन् ।’ संघमा सवासय हार्डवेयर व्यवसायी आवद्ध रहेता पनि अहिले भैरहवामा एक बोरा सिमेन्ट पाउन सकिएको छैन ।

बसदेखी रिक्सा सम्म प्रभावित

यहांबाट छुट्ने लामो तथा छोटो दुरीका बस नछुट्दा गाडी साहूदेखी गाडी चालक तथा सहचालकको रोजीरोटी समेत खोसिने अवस्थामा पुगेको छ । डेढ महिनादेखी गाडी एकै ठाऊमा थन्किदा टायरहरु पंचर समेत भएका छन् । बसहरु त बन्द भएका छन छन यहां चल्ने रिक्साहरुले समेत सवारी पाउन सकेका छैनन् ।

मुलुकको पूर्वि जिल्ला जनकपुर, विराटनगर, सप्तरी तिरका अधिकांश रिक्साचालक हुने भैरहवाका रिक्साचालकहरु अहिले सवारी नपाएर दिक्क भएका छन् । यहांको दैनिक जीवनशैली चलायमान नहुदां मान्छेहरुको आवगमन समेत प्रभावित भएको छ जसको कारण रिक्सा चालकले सहजै सवारी पाउन सकेका छैनन् ।

यस्तै बन्दी भए मुलुकको राष्ट्रिय आय नै धरासायी: विज्ञ

तराई मधेसमा चलिरहेको बन्द हड्ताल अझै निरन्तर रहिरहे यसले मुलुकको राष्ट्रिय आयलाई नै धरासायी बनाउने विज्ञहरुले दाबी गरेका छन् । अर्थवीद डा. शम्भुकुमार गुप्ताले भने, ‘यो बन्दीले आर्थिक क्षेत्रमा अत्यन्तै नकारात्मक असर पारेको छ । उद्योग धन्दा कलकारखाना पुर्णतया ठप्प छन् । खरबौं नोक्सानी भएको छ । अर्थशास्त्रको मल्टीप्लाएर सिद्धान्त अनुसार विश्लेषण गर्ने हो भने यसले ठूलो दूरगामी असर पार्दछ ।’

 त्रिभुवन विश्वविद्यालयका सभासद समेत रहेका सहप्राध्यापक डा. गुप्ताले तराई मधेसमा जारी बन्द हड्तालले मुलुकलाई वर्षौसम्म आर्थिक अधोगती तर्फ धकल्ने तर्क समेत गर्दै भने, ‘तत्काल बन्द खुलेपनि एकवर्ष रिकभरी हुन समय लाग्छ । त्यो एक वर्षले पछिल्लो केही वर्षलाई धकेल्छ । अहिले ४५ दिनको बन्दको क्षतिपूर्ति एक वर्ष सम्म निरन्तर उद्योग धन्दा चले मात्र पुरा हुन्छ ।’

बन्द हड्तालले सामाजिक रुपमा पनि ठूलो क्षति पुराएको समाजशास्त्री उमेशचन्द्र रिजाल बताउंछन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका रिजालले भने बन्द हड्तालले गाऊ र शहरबीच दूरी बढाएको छ । मानिसहरु ढुक्क संग सामाजिक रीतिथीति र परंपरा तथा सामाजिक कृयाकलापमा सहभागी हुन पाएका छैनन् ।
 सामाजिक अवयवहरुलाई प्यारालाईसिस जस्तै बनाएको छ । समाजशास्त्री रिजालले बन्द अझै जारी रहे यसले विविधतामा एकता भएको नेपाली समाजलाई धरासायी बनाउने हुदां नेताहरुलाई सचेत समेत गराएका छन् । उनले भनेका छन् “नेताहरुले अझै विवेक नपुराउने हो भने सामाजिक सद्भाव र सहअस्तीत्व बोकेको नेपाली समाजमा ठूलो संकट आउन सक्छ ।’

बन्द हड्ताल बाध्यता : मोर्चा 


बन्द हड्तालले आम मानिसलाई प्रभावित गर्ने भएता पनि बाध्यतावशः गर्नुपरेको मोर्चाले जनाएको छ । संयुक्त मधेसी मोर्चा आवद्ध सद्भावना पार्टिका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीले सरकार बहिरो भएको हुदां बाध्यताले बन्द जस्तो अप्रीय काम गर्नुपरेको जनाए ।

उपाध्यक्ष गुल्जारीले तराई मधेसका जनतलाई बाहिर राखेर ल्याइएको संविधान अस्वीकार्य भएको भन्दै आन्दोलन स्वरुप अहिले रुपन्देहीका ग्रामिण क्षेत्रका सरकारी कार्यलयमा तालाबन्दी गरिएको जनाए । मोर्चाले जिल्लाको पुर्वि क्षेत्र धकधई र पश्चिमी क्षेत्र मर्चवार तथा लुम्बिनी क्षेत्रका गाविसहरुमा तालाबन्दी गरेका छन् ।

यसैगरी मोर्चाले ग्रामिण क्षेत्रमा दिनदिनै कोणसभा गरि प्रधानमन्त्रि शुसील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन पनि गरिरहेका छन् । मोर्चाले भन्सार बन्द गर्ने अभियान स्वरुप कार्यक्रम अगाडी बढाएको पनि छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.