Powered by Blogger.
लगानीका लागि भर्जिन ल्याण्ड : दोलखा

जलविद्युत्मा बाहेक ठूलो लगानी भित्रन नसकेको दोलखामा लगानीका लागि प्रचुर सम्भावना रहेको छ । प्राकृतिक, सांस्कृतिक एवम् पर्यावरणीय दृष्टिकोणले धनी दोलखा लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको स्थानीय उद्योगी–व्यवसायीको भनाइ छ । यहाँको जलविद्युत्, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको दोलखा उवासङ्घका अध्यक्ष रामेश्वर मानन्धर बताउँछन् । ‘आवश्यक विद्युत् आपूर्ति, प्रशस्त जलस्रोत, मजदूरको उपलब्धता, यातायातको सहज व्यवस्थालगायतले यहाँ विभिन्न उद्योग तथा कलकारखाना स्थापना गर्न सकिने देखिन्छ,’ उनले भने, ‘स्वदेशी तथा विदेशी लगानीकर्ताले यहाँ लगानी गर्न चाहेमा सहजकर्ताको भूमिका खेल्न उवासङ्घ दोलखा र सम्पूर्ण दोलखावासी तयार छन् ।’

हाल दोलखामा ३ सय ९९ ओटा निजी तथा ८० ओटा साझेदारीका फर्म रहेका छन् । सञ्चालनमा रहेका उद्योग सङ्ख्या २५ ओटा मात्रै रहेका छन् । त्यस्तै, ५ किलोवाटभन्दा मुनिका साना जलविद्युत् १४ ओटा, १० किलोवाटदेखि १ सय किलोवाटसम्मका साना जलविद्युत् आयोजना २३ ओटा रहेका छन् । लघु तथा साना जलविद्युत् आयोजनाको पनि अधिक सम्भावना रहेको जिल्ला विकास समितिको कार्यालयका अधिकारीहरू बताउँछन् । सम्भावना प्रचुर भएको दोलखा उचित प्रचारप्रसारको अभावमा लगानीकर्ताको दृष्टिमा पर्न सकेको छैन । अहिले दोलखामा पर्यटन, स्वास्थ्य, शिक्षा र उत्पादनमा लगानी गरेर तत्काल तथा दीर्घकालीन फाइदा लिन सकिने राष्ट्रिय वाणिज्य बैङ्क दोलखा शाखाका शाखा प्रबन्धक टीकाप्रसाद दुलाल बताउँछन् । ‘अहिले दोलखामा उद्यमशीलताका लागि भन्दा पनि व्यापारका लागि कर्जा लिनेको सङ्ख्या बढी छ,’ उनले भने, ‘सम्भावनालाई यथार्थमा बदल्न सके दोलखा समृद्धितर्फ लम्कने पक्का छ ।’

हाल दोलखामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी ४ सय १६ विद्यालय र विभिन्न आठओटा क्याम्पस रहेका छन् । कुल जनसङ्ख्याको ५५ दशमलव ३७ प्रतिशत साक्षर रहेको दोलखाको शिक्षाक्षेत्रमा समेत लगानी गर्न सक्ने प्रशस्त ठाउँ रहेको स्थानीय व्यवसायी घनश्याम रिजाल बताउँछन् । ‘यहाँ उच्चतहमा सबै सङ्कायको अध्ययन÷अध्यापन गराउने क्याम्पस तथा केही मण्टेस्सोरी स्थापना गर्न सकिने अवस्था छ,’ उनले भने, ‘छिमेकी जिल्लाहरू रामेछाप, सिन्धुपाल्चोक तथा ओखलढुङ्गा र सिन्धुलीलाई समेत लक्षित गरी दोलखामा शैक्षिक संस्थामा लगानी गरिए राम्रो प्रतिफल लिन सकिन्छ ।’

दोलखामा कुल क्षेत्रफलको २६ दशमलव ४५ प्रतिशत कृषियोज्य जमीन रहेको छ । राजधानी काठमाडौंनजिकै रहेको तथा सिन्धुली हुँदै तराईमा समेत उत्पादन पुर्‍याउन सकिने हुँदा कृषि उत्पादनलाई बजारको अभाव हुँदैन । सिँचाइ, बजार तथा ढुवानीको समस्या नहुने भएकाले दोलखामा कृषिक्षेत्रमा ठूलो लगानी गर्न सकिने उद्योग वाणिज्य सङ्घ दोलखाका महासचिव हेमराज रिमाल बताउँछन् । बिगुको स्लेट (ढुङ्गा) खानी रहेको छ । यसको व्यावसायिक रूपमा उत्खनन हुन सकेको छैन । ठूलो लगानी गरेर उक्त स्लेट खानीको उत्खनन गरी त्यसका उत्पादनहरू स्थानीय बजार, काठमाडौं र तराईमा समेत निकासी गर्न सकिने सरोकारवालाहरू बताउँछन् । त्यस्तै, शैलुङ, कालिञ्चोकलगायत कतिपय ठाउँमा पोट्रोलियम, खनिजलगायतको अन्वेषण गर्नुपर्ने भूगर्भविद्हरू औंल्याउछन् ।

पर्यटकीय नगरी चरीकोटका अतिरिक्त जिरी, सिङ्गटी, शैलुङडाँडालगायतका ठाउँमा ठूला लगानीका होटल स्थापना गर्न सकिने सम्भावना छ । यी ठाउँमा तारेस्तरका होटल स्थापनाको अधिक सम्भावना रहेको होटल व्यवसायीहरू बताउँछन् । त्यस्तै दोलखामा ठूला अस्पतालमा लगानी गर्न सक्ने सम्भावना पनि रहेको छ । सुविधासम्पन्न ठूला अस्पताल निर्माण गर्न सकिए दोलखाका साथै रामेछाप, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोकलगायत जिल्लावासी पनि लाभान्वित हुने उद्योगी–व्यवसायीको भनाइ छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.