Powered by Blogger.
गौरीशंकर गाउपालिका–१ जुँगुकी साङमाया तामाङ न्याय खोज्दै काठमाडौंमा

न्यायालयलाई प्रश्नः पुहँचवालाका सन्तान मारिएको भए यस्तै आदेश आउथ्यो हजुर ?


काठमाडौं, जेठ ३० । स्थानीय तह निर्वाचनका क्रममा गत बैशाख २६ गते राती नेकपा माओवादी केन्द्रका कार्यकर्ताले घेरा हाली हत्या गरिएका कुलबहादुर तामाङकी श्रीमती गौरीशंकर गाउपालिका–१ जुँगु निवासी साङमाया तामाङले आफुलाई न्यायालयले अन्याय गरेको बताएकी छिन् ।

सरकारले हत्यामा संलग्न मुख्य अभियुक्त देवी खडका र बिशाल खडकासहित ४० जना अभियुक्तलाई पक्राउ नगर्दा र जिल्ला अदालत दोलखाका न्यायाधीशले आक्रमणमा संलग्न रहेको साविति बयान दिँदासमेत साधारण तारेखमा छाडेपछि न्यायको खोजीमा काठमाडौं आइपुगेकी साङमायाले आफूहरु निमुखा भएकै कारण अपराधीले छुट पाएको गुनासो गरिन ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मृतक कुलबहादुरकी पत्नी साङमायाले भनिन, ‘के हामीले न्याय नपाउने नै हो त ? हामीलाई तपाईहरुले न्याय दिलाउनु पर्यो भन्न आएका हौं ।’ कुलबहादुर पत्नी साङमाया आफ्ना नाबालक छोरा छोरीसहित न्यायको खोजीमा सिंगो परिवारका साथ काठमाडौं आइपुगेकी छन । उनको साथमा कुलबहादुरका पिता गोरे तामाङ, छोरी संगिता तामाङ,  छोरा अशोक तामाङ,  भाईहरु कर्णबहादुर तामाङ र जीवन तामाङ काठमाडौं आएका छन । उनीहरुले परिवारको तर्फबाट न्यायका लागि अपिल गरेका छन् ।

उनीहरुले कतैबाट पनि न्याय नपाए सामुहिक आत्मदाह गर्ने बताएका छन् । ‘सरकार, अदालत सबैतिरबाट यसैगरी अन्याय हुन्छ र अपराधीहरुलाई नै साथ दिइन्छ भने हाम्रो सिंगै परिवार काठमाडौंको सडकमै आत्मादाह गर्न बाध्य हुन्छौं न्याय दिने कि हाम्रो परिवारलाई आत्मदाह गर्न बाध्य बनाउने ?’ उनले प्रश्न गरिन् ।

एउटा निमुखा र निर्दाेष हामी तामाङ परिवारलाई साथ दिने कि प्रभाव, पहुँच र दबाबको आधारमा न्याय मार्ने भन्ने बिषयमा तपाईहरु सवैले गम्भीरतापुर्वक सोचि दिन पनि निवेदन गर्दछौं,’ पत्रकार सम्मेलनमा मृतकका पिता गोरे तामाङ र पत्नी साङमायाले भने । उनीहरुले हत्यामा माओवादी नेतृ देवी खडका र बिशाल खडका मुख्य जिम्मेवार रहेको र उनीहरुकै आदेशमा कुलबहादुरलाई भाला रोपेर हत्या गरिएको बताए ।

पीडितले दिएको जानकारी अनुसार वैशाख २६ गते राती जुँगुको निलकण्ठेश्वर उच्च माबिको चउरमा उहाँँलाई जुँुगुकै देवी खडका, बिशाल खडकासहित आएका माओवादी कार्यकर्ताले होटलमा खाना खान बसिरहेको बेला चारैतिरबाट घेरा हाली भाला रोपेर हत्या गरे । भाला हानेपछि उहाँको मुखमा इटा कोचियो ।

उनीहरुले कुलबहादुरको हत्याबाट मर्माहत बनी न्यायका लागि कुरेर बसेको बेला जिल्ला अदालत दोलखाको आदेशबाट निकै मर्माहत बनेका दुखेसो गरे । ‘त्यो आदेशले मारिएका हाम्रा सदस्य कुलबहादुरको मात्रै होइन, सिंगै न्यायकै हत्या भएको अनुभुति पनि गरिरहेका छौं,’ मृतकका पिता गोरे तामाङले भने ।

बैशाख २६ गते राती माओवादी नेतृ देवी खड्काको नेतृत्वमा स्थानीय बसन्त कार्कीको घरमा बैठक वसी योजनाबद्ध रुपमा खाजा खाईरहेको स्थानमा आक्रमण गरी हत्या गरेको पक्राउ परेका अभियुक्तबाट स्वीकार गरिए पनि अदालतले गलत आदेश गरेको उनीहरुको बुझाई छ ।

जुँगु हत्याकाण्डमा संलग्नमध्ये एन्ड्रिज कार्की, सुरेश कार्की, प्रेम तामाङ्ग, गोपाल तामाङ्ग, निलम जिरेल, प्रेम वहादुर तामाङ्ग लगायतका ९ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा हत्यामा उनीहरुले घटनामा संलग्नता स्वीकार गरेको पीडितको अपिलमा उल्लेख छ ।

‘तर जिल्ला अदालत दोलखाका माननीय न्यायाधीश लालकाजी श्रेष्ठज्यूको ईजलासले कर्तव्य ज्यान जस्तो जधन्य अपराधमा संलग्न अभियुक्तहरुलाई साधारण तारेखमा छाड्ने आदेश गरेको कुराले हामी अत्यन्तै मर्माहत बनेका छौं । त्यो आदेशपछि हामी मरेतुल्य बनेका छौं । साह्रै विचलित पनि भएका छौं,’ पीडित परिवारको भनाई छ ।

अभियुक्तलाई साधारण तारेखमा छाडने सम्मानित अदालतको आदेश देख्दा न्यायकै हत्या भएको र न्यायको लागि आफूहरु जस्ता पीडितहरुले सम्मानित अदालतको भरोशामा रहने दिन सकिएको हो कि भन्ने महसुस गरेका अनुभुति पनि उनीहरुले सुनाए ।

न्यायाधीशज्यूले मुद्दा हेर्दै नहेरी आफूखुसी पीडितलाई नै पीडा दिँदै पीडकको पक्षमा आदेश दिने काम भएको छ । ज्यान मुद्दाको सम्वेदनसिलता नै नबुझी अभियुक्तलाई साधरण तारेखमा छाडन आदेश दिइएको छ । यस्तो आदेशले हामी जस्ता असहाय पीडित परिवार हर क्षण, हरपल मरिरहेको छौं,’ पीडितले भने ।
अभियुक्त छुटने गरी भएको आदेशबाट आफू निकै मर्माहत भएको र सोही कारण न्याय माग्दै काठमाडौं आएको जानकारी पनि उनीहरुले दिए ।

‘जुँगुमा भएको हत्याकाण्डमा न्याय पाउने अपेक्षा हामीले गरेका छौं । यही कारण तपाईहरु माझ आइपुगेका हौं,’ पीडित परिवारको अपिलमा भनिएको छ । माओवादीले कुलबहादुरको हत्यापछि परिवारका सदस्यलाई गाउँ छाडन धम्की दिइरहेको कारण छोरा, छोरीहरु स्कूल जान नसकेको र उनीहरुको पढाई छुटेको मृतकका परिवारले बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.