Powered by Blogger.
दोलखा जागरण


कस्तो हुँदो हो यदि सहरको सुविधा गाउँको जीवन भए ! सहरको प्रविधि गाउँको प्रेम भए ! सहरको वैभव गाउँको संवेदना भए ! सहरभन्दा गाउँमा हुन्छ सम्पूर्णताको रस। सहर हतारको जिन्दगी बाँच्छ, गाउँ धैर्यको। सहर आकांक्षाको जिन्दगी बाँच्छ, गाउँ तृप्तिको। सहर सधैं भागिरहन्छ, गाउँ सधैं विश्राम गरिरहन्छ।

प्रविधिले जोड्छ। प्रविधिले जोड्न नसकेको संसार प्रेमले जोड्न सक्छ। यात्राले पुगिन्छ। यात्राले पुग्न नसकिने सूक्ष्मता विचारले चिर्न सक्छ।
राजनीतिले बनाउँछ। राजनीतिले बनाउन नसकेका खण्डहरहरू साहित्य र संस्कृतिले जीर्णोद्धार गर्न सक्छ।

नेपाली समाजमा राजनीतिले पाएको महत्त्व साहित्य, कला, संस्कृतिले पाएको छैन। यात्राका सबै द्वार मानौं अस्थिर राजनीतिले बन्द गरिदिएका छन्। तर, राजनीति तत्कालीन हो भने साहित्य युगीन। राजनीति बोक्रा हो भने साहित्य गुदी।

सहर र गाउँ, राजनीति र साहित्य, प्रविधि र प्रेमको यही फरकपना दोलखाका केही सामाजिक अभियन्ताको मस्तिष्कमा चढेको छ। यसबारे थाहा पाउन सहरदेखि अलिकति टाढा गाउँका फाँटहरूतिर जाऔं।

दोलखा सदरमुकाम चरीकोटदेखि आठ किलोमिटर उत्तर सुस्पाक्षमावती गाउँ छ। तामाकोसी जलविद्युत् आयोजना रहेको लामाबगर जाने मूलबाटो छाडेर आधा किलोमिटर उकालिएपछि डाँडामा खप्तड बाबाको कुटी छ। ७१ वर्षअघि जतिखेर खप्तड बाबा यहाँ आए, उनको नाम खप्तड बाबा भइसकेको थिएन। भारत काश्मीरबाट आएका यी सन्तलाई सुस्पाक्षमावतीका गाउँले 'काश्मीरी बाबा' भनेर चिन्थे। कालिञ्चोक दर्शन गरेर काश्मीरी बाबा सुस्पाक्षमावती आइपुगेका थिए जहाँ उनले करिब तीन वर्ष डेरा जमाए।

त्योबेला आठ वर्षका बालक नेत्रप्रसाद शिवाकोटीको चाउरी परेको अनुहार खप्तड बाबाको प्रसंगले बत्ती बालेझैं हुन्छ। उनी अहिले ८० वर्ष पुगिसके। 'बाबालाई खाना पु:याउन हामी हत्ते गथ्र्यौं, उहाँलाई भनेर मीठोचोखो पठाएको हुन्थ्यो, बाबा थोरै खाएर बाँकी सबै हामी केटाकेटीलाई नै दिनुहुन्थ्यो, त्यही लोभले हामी हरेक दिन बाबालाई खाना पुर्‍याउन जान्थ्यौं', नेत्रप्रसाद उज्यालो अनुहारमै मुस्काए।

    प्रविधिले जोड्छ। प्रविधिले जोड्न नसकेको संसार प्रेमले जोड्न सक्छ। यात्राले पुगिन्छ। यात्राले पुग्न नसकिने सूक्ष्मता विचारले चिर्न सक्छ। राजनीतिले बनाउँछ। राजनीतिले बनाउन नसकेका खण्डहरहरू साहित्य र संस्कृतिले जीर्णोद्धार गर्न सक्छ।

कालिञ्चोक दर्शन गरेर झरेको रात खप्तड बाबा सुस्पाक्षमावतीमा बास बसेका थिए। शिवाकोटीहरू सुस्पाक्षमावतीका रैथाने थिए, अझै छँदै छन्। नेत्रप्रसादका समवयी माधवराज शिवाकोटी सम्झन्छन्, 'कालिञ्चोकबाट फर्केको दिन खप्तड स्वामी हाम्रै घरमा बास बस्नुभएको थियो, भोलिपल्ट बिहान उहाँलाई दर्शन गर्न कवि महेश्वर शिवाकोटी, खरदार नारायणप्रसाद शिवाकोटीलगायत गण्यमान्य हाम्रो घरमा आउनुभयो। बनारसमा पढेका कवि महेश्वर शिवाकोटीकै प्रस्तावमा खप्तड बाबालाई यहीँ कुटी बनाएर राख्‍ने निर्णय भयो।'
यसरी सुस्पाक्षमावतीले खप्तड बाबाको सान्निध्य पायो। ७१ वर्षपछि आज उधिन्दा त्यो सान्निध्य गर्व र प्रेरणाको विषय बनेको छ।

सुस्पाक्षमावतीमा करिब तीन वर्ष बस्दा खप्तड बाबाले कुटीमै गुफा बनाई ध्यान र योगक्रिया गरे। उनलाई भेट्न टाढाटाढाबाट जोगीहरू आउँथे। खप्तड बाबाको सान्‍निध्य पाएका केही बालकहरूमात्र त्यो सम्झना सुनाउन अहिले मुहारमा मुजा बोकेर बसेका छन्। उसबेला नौ वर्षका माधवराज अहिले सम्झन्छन्, 'जाने बेलामा मलाई बाँसको कलम र मसी दिएर 'राम्रो पढ्नू' भन्नुभएको थियो।'

माधवराजले त खासै पढेनन्, सुस्पाक्षमावतीको नयाँ पुस्ताले भने उहीबेलै ज्ञानको ज्योति पायो।

...

खप्तड बाबा बसेयता ७१ वर्षदेखि नै सुस्पाक्षमावतीको कुटी क्षेत्रमा सानातिना आध्यात्मिक, धार्मिक र शैक्षिक अनुष्ठान निरन्तर चलिरहेका छन्। खप्तड बाबा गएपछि विभिन्न समयमा करिब दुई सय जोगी यहाँ आएर बसे। अहिले पनि बेलाबेला जोगीहरू यहाँ आइरहन्छन्।

२०१४ सालदेखि २०२८ सालसम्म स्थानीय पण्डित कृष्णप्रसाद खकुरेलले कुटी भएकै स्थानमा १८ पुराण लगाए। पुराण सकिएयता प्रत्येक वर्ष हरिशयनी एकादशी र हरिबोधनी एकादशीमा यहाँ धार्मिक कार्यक्रम हुन्छ। शिवरात्रि, रामनवमी मेला, दसैंमा जमरा राख्ने, भगवतीको पूजा आराधना र टीका लगाउने काम नियमित चलिरहन्छन्।

हालसालै खप्तड बाबाको स्मृतिमा यहाँ ध्यान तथा योग केन्द्र स्थापना भएको छ जहाँ नियमित कार्यक्रम सञ्चालन गर्ने दोलखा जागरण गर्न तम्सेका युवाहरू प्रण गर्छन्।

सम्भवत: सुस्पाक्षमावतीबाट घुम्दै फिर्दै युवा खप्तड बाबा मध्यपश्चिमको खप्तड क्षेत्र पुगे जहाँ उनको जीवनको बाँकी समय बित्यो। त्यहाँ उनले जीवनका दुर्लभ सिर्जनाहरू गरे। धर्मविज्ञानको चार खण्ड र विचारविज्ञानजस्तो चमत्कारी किताब लेखे। खप्तड क्षेत्रमै लामो समय बसेको भएर हामीले उनलाई 'खप्तड बाबा' भनेर चिन्यौं।

खप्तड बाबाको छोटो बसाइले सुस्पाक्षमावतीका गाउँलेमा भएको संस्कृति र शिक्षाको चेत उज्यालियो। उनको जोगी ऊर्जाकै कारण सुस्पाक्षमावतीमा २००५ मै स्कुल खुल्यो।

जनकपुर अञ्चलकै पहिलो स्कुल थियो त्यो। गाउँलेहरूले दार्जिलिङबाट मास्टर खोजेर ल्याए। शान्ताराज योगी प्रधानाध्यापक भए। जनकपुर अञ्चलको त्यो पहिलो स्कुल अहिले करिब पाँच सय विद्यार्थीका साथ १२ कक्षासम्म पढ्ने थलो बनेको छ।

स्कुलका प्रधानाध्यापक मकुन्दराज शिवाकोटी सुस्पाक्षमावतीकै रैथाने हुन्। कविता र गीत लेख्ने, गुन्गुनाउने मकुन्दराज सम्झन्छन्, 'खप्तड बाबाकै कृपाले यो भूमिको अनुहार फेरिएको छ।'

खप्तड बाबाका लागि गाउँलेले बनाइदिएको माटोको कुटी इतिहास बोकेर सुस्पाक्षमावतीमा अझै खडा छ। कुटीवरपर थुप्रै मन्दिर, शिवालय, धार्मिक संरचना निर्माण भएका छन्। आध्यात्मिकताको उज्यालो छ त्यहाँ।

खप्तड बाबाका एक गाडी चेलाचपेटा अघिल्लो शनिबार त्यहाँ पुगे र उनको फ्रेम लगाएको ठूलो तस्बिर गाउँलेलाई हस्तान्तरण गरे। खप्तड बाबाको यो दिव्यभूमिमा एक दिन बिताउन पाउँदा उनीहरू प्रफुल्ल भए। उनीहरूको साथ पाएर सुस्पाक्षमावतीका गाउँले र दोलखाली पनि प्रफुल्ल भए।

खप्तड बाबाका दुर्लभ ग्रन्थ प्रकाशन गरेर बाहिर ल्याइरहेको समितिका प्रमुख शिवगोपाल रिसालले त्यो गाउँमा जम्मा भएका करिब पाँच सय जिज्ञासुको हुलमा घोषणा गरे, 'अबदेखि यो स्थान नियमित ध्यानकेन्द्रका रूपमा परिणत भएको छ।'

रिसालले उपस्थितहरूलाई ध्यानको महत्त्व सुनाउँदै १५ मिनेट अभ्यास गराए, खप्तड बाबाले नै लेखेको 'योगविज्ञान' पुस्तक उद्धृत गर्दै। खप्तड कुटीको वरिपरि प्रकृतिको खुला शिविरमा करिब पाँच सयले ध्यान गरेको दृश्य भव्य थियो। सेना र प्रहरीका जवान, स्कुले बालबालिका, आध्यात्मिक साधक, गाउँले, सभासद्, कर्मचारी एकैसाथ ध्यानमा बसेको दुर्लभ दृश्य थियो त्यो दिन त्यो गाउँमा।

...

७१ वर्षअघि खप्तड बाबाको उपस्थितिले जागृत भएको सुस्पाक्षमावती गाउँबाटै दोलखा जागरण अभियान सुरु भएको छ। अघिल्लो शनिबार दोलखा जागरण अभियान सुरु गर्न यो टाढाको गाउँमा हजारभन्दा बढी दोलखालीहरू जम्मा भए।

 विभिन्‍न संस्कृति, परम्परा र रीतिथितिका प्रतिनिधिहरूले एउटै मञ्चमा उभिएर नेपाली माटोमा गाडिएर रहेको साहित्य, दर्शन र संस्कार जगाउने उद्घोष गरे त्यहाँ। ध्यान गरे, गफ गरे, प्रेम साटे र गाउँको माटोमा जागरणको संकल्प गरे।

उनीहरूले घोषणा गरे- भाषासंस्कृतिको संरक्षण, संवर्धन र व्यवस्थापन गर्न मार्गदर्शन गर्ने, योगसाधनाको माध्यमद्वारा स्वस्थ र सम्पन्न समाज निर्माण गर्ने, शैक्षिक क्षेत्रबाट योग, भाषा र संस्कृति विकासमा सहयोग पुर्‍ याउने।

'संक्रमणकालीन नेपाललाई शान्ति र समृद्धिको स्थायित्वमा पुर्‍याउन कला, साहित्य र दर्शनको हतियार बोकेर 'सांस्कृतिक जागरण' अघि बढ्नुपर्छ', कार्यक्रमका एक अभियन्ता बिर्ख क्रान्ति भन्छन्, 'विचार विज्ञानजस्तो शक्तिशाली विचार दान दिने खप्तड स्वामीले पवित्र पारेको भूमिमा कला, साहित्य संस्कृति क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा घोषणा गरिएको 'सांस्कृतिक जागरण अभियान' नेपाली संस्कृतिको रेनासा (पुनजार्गरण) हो।'

नेपालका अधिकांश भेकझैं दोलखा पनि विविधता र बहुसंस्कृतिको जिल्ला हो। दोलखामा बाहुनक्षेत्री, तामाङ, नेवार, थामी, शेर्पा सुनुवार, जिरेल, मगर, सुरेललगायत जातजाति बस्छन्। यहाँ गौरीशंकरको ऊर्जा छ। तामाकोसीको प्राण र जीवन छ।

'यी सबै जातजातिको उत्थान गर्नु चेतनाको उत्सर्ग यात्रा हो', सांस्कृतिक जागरण अभियानका संयोजक दिनेशराज शिवाकोटी भन्छन्, 'राजनीतिले मात्र अब देश बदल्न सक्दैन, प्रत्येक मानिस भित्रैदेखि जागृत हुनुपर्छ, प्रत्येक चेतनाको जागरणले नै समाजको जागरण हुन्छ।'

यसका लागि दोलखाका भाषाको संरक्षण र विकासका लागि भाषिक सम्मेलन आयोजना गर्ने, भाषाको अनुसन्धान गराउने, गाउँमा ध्यान र योग प्रशिक्षण चलाउने, स्कुलहरूमा साप्ताहिक ध्यान तथा योग प्रशिक्षण गर्नेलगायत योजना जागरण अभियानले राखेको छ।

...

कस्तो हुँदो हो यदि सहरको सुविधा गाउँको जीवन भए ! सहरको प्रविधि गाउँको प्रेम भए ! सहरको वैभव गाउँको संवेदना भए !

सहरभन्दा गाउँमा हुन्छ सम्पूर्णताको रस। सहर हतारको जिन्दगी बाँच्छ, गाउँ धैर्यको। सहर आकांक्षाको जिन्दगी बाँच्छ, गाउँ तृप्तिको। सहर सधैं भागिरहन्छ, गाउँ सधैं विश्राम गरिरहन्छ।

नेपाली माटोमा अझै संस्कारको सुवास छ। ज्ञानको गाडधन छ। प्रेमको भण्डार छ। आधुनिकता, राजनीति र प्रतिस्पर्धाले जीवनमूल्य ह्रास भएको छ। दोलखाली युवाको सानो जागरण झिल्कोले समाज उज्यालो पार्ने क्षमता राख्‍न सक्छ। र, हुनसक्छ- सहरमा गाउँको सम्पूर्णता, हतारमा धैर्यको ऊर्जा र आकांक्षामा तृप्तिको अन्तर्य।

सय कि दुई साल?

उमेरले एक महिनामात्र जेठाकान्छा नेत्रप्रसाद र माधवराज शिवाकोटीबीच खप्तड बाबा सुस्पाक्षमावती आएको तिथिमितिमा केहीबेर 'यो हो कि त्यो हो' भनेर छलफल चल्यो। दोलखा जगाउन कम्मर कसेका युवाहरूले गरेको कार्यक्रममा यी दुई वृद्ध दाजुभाइ खप्तड बाबा आएको सय साल हो कि दुई साल भनेर घोत्लिए। उनीहरू काका ठूलोबाका छोरा हुन्।
'हाम्रा ठूल्बुबा २००१ सालमा बित्नुभएको हो। हो कि होइन?' नेत्रप्रसादले एक महिना जेठा माधवराजलाई सोधे।

माधवराजले हो भन्ने भावमा मुन्टो हल्लाए।

'हाम्रा ठूल्बुबाले खप्तड बाबाको सेवा गर्नुभएको थियो कि थिएन?' नेत्रप्रसादले फेरि सोधे।

माधवराजले फेरि मुन्टो हल्लाए।

'ठूलोबुबा बितेको अघिल्लो साल फागुनमा बाबा आउनुभएको होजस्तो लाग्छ है मलाई', नेत्रप्रसादले भने।

माधवराजको अनुहार उज्यालो भयो। 'हो त हो', उनले सही थापे। -मनोज दाहाल

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.