Powered by Blogger.
संविधान पछि वैदेशिक रोजगार व्यवसायीको अपेक्षा, ‘रोजगारी सिर्जना, कर्मचारीको मनोपोली अन्त्य’

काठमाडौँ, ७ असोज ।
नेपालमा नेपाली जनताले चाहेको संविधान ६५ वर्षपछि बनेको छ । संविधान बनेपछि विभिन्न क्षेत्रका व्यक्तिले आआफना धारणा राखिरहेका छन् । जारी ‘नेपालको संविधान–०७२’ले वैदेशिक रोजगारी क्षेत्रमा के कस्तो प्रभाव पार्छ भन्ने विषयमा केही म्यानपावर व्यवसायीले नेप्जिल डट ओआरजीलाई दिएको प्रतिक्रियाः

स्वदेशमै रोजगारी सिर्जना
तिलक रानाभाट, पूर्वअध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ

 नेपालमा जनताको संविधान ल्याउन धेरै संघर्ष गर्नुपर्यो । यसको प्रतिफल मिठो हुनेछ । नेपाल बहुभाषिक, सांस्कृतिक, बहुजाति हिमाल, पहाड, तराई भएको देश हो । नयाँ संविधानले सबैलाई समेटेको छ । यो खुसीको कुरा हो । संविधान बनेपछि यसको कार्यान्वयन प्रभावकारी हुनुपर्छ । संविधानको कार्यान्यनपछि लगानीमैत्री वातावरण तत्काल बन्नुपर्छ । जसले देशको विकास हुन सक्छ । संविधानका नाममा मनोमानी बन्द हुनुपर्छ । सबैले स्वतन्त्ररुपमा काम गर्न पाएको खण्डमा स्वदेशमा पनि रोजगारी दिन सकिन्छ ।

देश पछि धकेलियो
हंसराज वाग्ले, निवर्तमान अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ


यो संविधानले सबैलाई खुसी बनाएको छ । वैदेशिक रोजगार ऐन–०६४ र नेपालको संविधान–०७२ जारी गर्ने समयावधि र प्रक्रिया उस्तै रहयो । यो संविधान पनि पूर्ण हुन अझै बाँकी छ । पूर्ण भएको छैन । वैदेशिक रोजगार ऐन–०६४ पनि अहिलेसम्म पूर्ण छैन । यसको समस्या आमव्यवसायी तथा कामदारले भोगिरहेका छन् । देशमा संविधान जारी भइरहँदा तराईको जिल्लामा जारी आन्दोलनले नेपाल आर्थिक विकासमा २० वर्षपछि धकेलिएको छ । संविधान कार्यान्वयन सुरु भएपछि नेपाली युवा रोजगारीका लागि विदेश जाने क्रममा कमी आउने छ । र, आउनु पनि पर्छ । स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्छ । संविधानले विदेशी लगानी नेपालमा भित्र्याउनु पर्छ । स्वदेशमा रहेका व्यवसायीले पनि लगानी गर्ने वातावरण बन्नुपर्छ । देश सधैन् वैदेशिक रोजगारीले थेग्दैन ।

कर्मचारीले दिने दुःख कम होला
विमल ढकाल, अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ 

 लामो समयपछि बनेको संविधानको सबैले स्वागत गर्नैपर्छ । यो संविधानले राष्ट्रमा स्थायित्व आउँछ । व्यवसायीले सहजरुपमा व्यवसाय गर्न पाउनेछन् । व्यवसायमैत्री वातावरण बन्नेछ । संविधान नहुँदा वैदेशिक रोजगारीका क्षेत्रमा निकै नै समस्या देखियो । यो क्षेत्रमा देखिएका समस्या पनि सहजै समाधान हुने अपेक्षा छ । यसअघि समयसमयमा सरकार परिवर्तन हुनाले व्यवसायी तथा रोजगारीका लागि विदेश जाने कामदारले निकै कष्ट भोग्नु परेको थियो । यसअघि सरकार परिवर्तनसँगै सरकारी निकायमा कर्मचारी परिवर्तन हुने र उनीहरुले ऐनकानुनअनुसार भन्दा पनि आफूअनुकल काम गर्दा समस्या बढ्ने गरेको थियो । अब त्यो समस्याबाट मुक्ति पाइने अपेक्षा छ ।


कानुन कार्यान्वयन आवश्यक
सुवर्ण श्रेष्ठ, उपाध्यक्ष, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल


संविधान बनेपछि देशमा शान्ति कायम हुनेछ । त्यससँगै नेपालमा कानूनी राज्य हुनेछ । कानुन प्रभावकारीरुपमा लागु भएपछि देशमा आर्थिक विकास हुनेछ । अन्योलताको अवस्था विस्तारै न्युन हुँदै जानेछ । यसअघि प्रष्ट कानुनको अभावमा देशमा त्यसको असर ठूलो पर्यो । त्यसको असर वैदेशिक रोजगारीको क्षेत्रमा पनि परेको छ । संविधान बने पछि  स्वदेशमा रोजगारीको अवसर पनि बढी हुनु पर्छ । विदेशी लगानी भित्रनु पर्छ । त्यसका लागि समय लाग्ला तै पनि कानुन कार्यान्वयनको पक्ष फितलो हुनु भएन । व्यवसायीलाई स्वतन्त्ररुपमा व्यवसाय गर्ने वातावरण राज्यले मिलाउनु पर्छ । देशमा पनि लगानी गर्ने सहज वातावरण बनाउन संविधानले मदत गर्ने अपेक्षा छ ।

कागजात मिलाएर आर्थिक लाभ लिने क्रम रोकिएला
कुमार केसी, कोषाध्यक्ष, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल

संविधान बन्यो । यसको कार्यान्वयन पक्ष कस्तो हुने भन्ने महत्त्वपूर्ण विषय हो । संविधान बनाउने नेता तिनै हुन । जनतालाई अनुशासित बनाउनु तत्कालको आवश्यकता हो । सरकारले पनि संविधानभित्र रहेर काम गर्नुपर्छ । वैदेशिक रोजगार ऐन–०६४ बन्यो । त्यसपछि विभिन्न सरकार बने । तर खै ऐन प्रभावकारी कार्यान्वयन भएन । त्यसपछि व्यवसाय झनै धरासायी बन्दै गयो । सरकारले नै ऐनका कार्यान्वयन गरेको भए यो क्षेत्र यसरी धरासायी बन्ने थिएन । ऐन बनेपछि आएका कर्मचारी ऐनका बाधक मात्र बने । उनीहरुले ऐनको प्रभावकारी कार्यान्वयनको साटो नमिलेको कागजात मिलाएर आर्थिक लाभ लिने काम गरे । अबको संविधानले यो समस्या समाधान गर्ला । सबै जनतालाई ऐनमा बाँधेर राख्ला । जुन आजको आवश्यकता पनि हो ।
प्रस्तुतिः शोभित थपलिया



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.