Powered by Blogger.
साढे २ लाख पर्यटक दोलखा भित्रिए

आर्थिक वर्ष २०७१/७२ को १० महीना अवधिमा दोलखामा साढे २ लाख पर्यटक भित्रिएका छन् । चालू आवको साउनदेखि चैत मसान्तसम्ममा आन्तरिक र बाह्य गरी करीब साढे २ लाख पर्यटक भित्रिएका हुन् । नेपालको पूर्वी, मध्यपहाडी र काठमाडौं उपत्यकाका तीन जिल्लाबाट दोलखामा बढी पर्यटक भित्रने गरेका छन् ।

राजधानीबाट नजिक, सधैंजसो अनुकूल वातावरण र पर्यटनका विभिन्न कार्यक्रम सञ्चालन भएकाले जिल्लामा वर्षेनि पर्यटक सङ्ख्या बढिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, दोलखाको तथ्याङ्कअनुसार करीब २८ हजार विभिन्न सवारीसाधन प्रयोग गरी उक्त सङ्ख्यामा पर्यटकहरू जिल्ला भित्रिएका हुन् । जिल्लामा भित्रिनेमध्ये सबैभन्दा बढी धार्मिक पर्यटक रहेको क्षेत्रीय होटल सङ्घ, दोलखाका अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए । उनका अनुसार  विभिन्न सञ्चारमाध्यममा जिल्लाको भीमेश्वर, कालिञ्चोक, महाङ्काललगायत धार्मिक तथा ऐतिहासिक स्थलको प्रचार हुने गरेकाले पनि पर्यटक सङ्ख्या बढ्दै भएको उनले बताए ।

कालिञ्चोक र भीमेश्वर महादेव मन्दिर आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको होटल शैलुङ भिलेजका सन्तोष पाठकले बताए । स्विट्जरल्याण्डको ज्युरिच शहरसँग तुलना गरिने जिल्लाको पर्यटकीय स्थल जिरीमा पुग्ने पर्यटकको सङ्ख्या पनि उल्लेख्य छ । जिल्ला विकास समिति, दोलखाको तथ्याङ्कअनुसार कालिञ्चोक, भीमेश्वर, महाङ्काल, जिरी, सिँगटी, लामाबगर, वेदिङ, विगु गुम्बा, शैलुङ, फिल्म सिटी निर्माणस्थल डाङडुङे डाँडा आदि जिल्लाका प्रमुख पर्यटकीय स्थल हुन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार १० महीनामा १ हजार १ सय ३ जना विदेशी पर्यटक जिल्ला भित्रिएका छन् । विदेशी पर्यटकमध्ये ३० देखि ५० जना शिक्षासम्बन्धी गैरसरकारी संस्थामा स्वयम्सेवक शिक्षकको रूपमा भित्रिएको प्रहरीको तथ्याङ्क छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.