Powered by Blogger.
दोलखा : जलविद्युत्को राजधानी

सामाजिक, सांस्कृतिक एवम् प्राकृतिक स्रोतमा धनी दोलखा जिल्लाले आफ्नो परिचय बदल्दै छ । दुर्गम हिमाली जिल्लाका रूपमा सूचीकृत दोलखा अब ‘जलविद्युत्को राजधानी’ बन्दै छ र सम्पूर्ण देशवासीलाई नै लोडशेडिङमुक्त बनाउँदै छ । हालसम्म घोषणा गरिएका तथा निर्माण थालिएका आयोजनाका काम समयमै सकिएमा आगामी ७ वर्षभित्रमा दोलखाबाट मात्रै १ हजार ६ सय मेगावाट जलविद्युत् उत्पादन हुनेछ । हाल नेपालमा ९ सय मेगावाट विद्युत्को माग रहेको ऊर्जा मन्त्रालयको तथ्याङ्क छ । आगामी ७ वर्षपछि नेपालमा विद्युत्को माग करीब १ हजार ५ सय मेगावाट पुग्ने अनुमान छ । यही तथ्याङ्कलाई आधार मान्दा ७ वर्षपछि हुने विद्युत्को मागलाई दोलखाको उत्पादनले मात्रै पनि धान्न सक्ने दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामेश्वर मानन्धर बताउँछन् ।

मुलुककै सबैभन्दा सस्तो र स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको काम ४४ प्रतिशत सकिएको छ । त्यस्तै, ६ सय ५० मेगावाटको तामाकोशी–३, ६५ मेगावाटको किर्ने–१, ९ दशमलव ९ मेगावाटको सिप्रिङखोला, ३ दशमलव ५२ मेगावाटको चर्नावतीलगायत गरी १ हजार ६ सय मेगावाट विद्युत् उत्पादन क्षमताका आयोजना अघि बढाइएका छन् । यसमध्ये सिप्रिङ खोला, चर्णावतीलगायत आयोजना सम्पन्न भइसकेका छन् । नेपालमा उत्पादन गर्न सकिने कुल ८३ हजार मेगावाट विद्युत्मध्ये करीब ३ हजार मेगावाट दोलखामा मात्रै उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । हाल दोलखाको किर्नेस्थित खिम्तीखोला जलविद्युत् आयोजनाले ६० मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । जलस्रोतमा नेपालकै दोस्रो धनी जिल्ला मानिने दोलखाको कुल क्षेत्रफलमध्ये ३ दशमलव ३० प्रतिशत पानीले ढाकेको छ । जिल्लाको मुख्य नदी तामाकोशी र रोल्वालिङ, सिङ्गटी, खानी, खारे, दोल्ती, गुमु, गोपी, घ्याङ, अँधेरी, चर्नावती, खिम्ती, मिल्तीखोलालगायत सहायक खोला तथा वेशिनहरूले करीब ७ हजार ६८ हेक्टर क्षेत्रफल ओगटेका छन् । यी खोला तथा नदीबाट उत्पादन हुने जलविद्युत् आयोजनाहरूमा करीब ३० हजार दोलखालीले दीर्घकालीन रोजगारी पाउनेसमेत आँकलन गरिएको छ ।


भौगोलिक अवस्था:काठमाडौंबाट १ सय ३३ किलोमिटरको दूरीमा रहेको दोलखा जिल्लाको सदरमुकाम चरीकोट नेपालको उत्तरपूर्वी दिशामा पर्छ । दोलखाको पूर्वमा सोलुखम्बु र रामेछाप, पश्चिममा सिन्धुपाल्चोक, उत्तरमा चीनको स्वशासित तिब्बत र दक्षिणमा रामेछाप जिल्ला पर्छ । यहाँ वार्षिक औसत अधिकतम तापक्रम १९ डिग्री सेल्सियसदेखि न्यूनतम ६ डिग्री सेल्सियस रहने गर्छ । सामुद्रिक सतहबाट न्यूनतम ७ सय ६२ मिटर (मेलुङ गाविसमा पर्ने शीतली)देखि अधिकतम ७ हजार १ सय ४५ मिटर अग्लो गौरीशङ्करसम्मको उचाइमा रहेको दोलखा मौसम एवम् वातावरणीय दृष्टिकोणले उत्तम मानिन्छ । धार्मिक एवम् सांस्कृतिक महत्वको गौरीशङ्कर हिमाललाई आधार मानी नेपालको प्रामाणिक समयसमेत निर्धारण गरिएको छ ।



दोलखाको इतिहास:व्यापार तथा अन्य कारणले दोलखाको सिमाना हुँदै नेपाल भित्रने तिब्बतीहरूले दोलखाको नामकरण गरिएको भनाइ छ । तिब्बती भाषामा ‘दो’को अर्थ ढुङ्गा, ‘ल’को अर्थ मन्दिर र ‘खा’को अर्थ घर हुन्छ ।  दोलखामा प्रशस्त मात्रामा ढुङ्गा–माटोबाट बनाइएका मन्दिर र घर रहेकाले यसलाई दोलखा नामकरण गरिएको इतिहासविद्हरू बताउँछन् । ‘दोलखाको इतिहास नलेखीकन नेपालको इतिहास लेखन पूरा हुँदैन,’ इतिहासशिरोमणि स्व. बाबुराम आचार्यको कथन हो यो । किराँतहरूको शासनका बेलादेखि नै किराँतहरू दोलखामा उपनिवेश कायम गर्न आई हालको किराँतीछापमा बसेको पाइन्छ । पछि १४औं शताब्दीमा भारतका मुगल सम्राट समसुद्धिनको आक्रमणबाट उक्त वस्ती ध्वस्त भई हालको दोलखा वस्ती बसेको हुन सक्ने अनुमान गरिएको छ । २००७ सालमा पूर्व र त्यसपछि २०१८ सालसम्म पूर्व २ नं. गोश्वाराको प्रशासनिक एकाइका रूपमा रहेको दोलखा २०१८ सालमा अलग जिल्लाका रूपमा अस्तित्वमा आएको हो । तर, अदालत, मालपोत, प्रहरी, हुलाक, स्वास्थ्यलगायत कार्यालयको स्थापना भने २०२४ सालदेखि मात्रै शुरू भएको पाइन्छ ।



नेपालमै पहिलो सिक्का निष्कासन भएको जिल्ला: नेपालमा सबैभन्दा पहिलो सिक्का दोलखाबाटै निष्कासन गरिएको इतिहासविद्हरू बताउँछन् । १५९१ देखि १६०५ सम्म दोलखाको राजगद्दी सम्हालेका जयइन्द्र सिंहले नेपालमा सबैभन्दा पहिला चाँदीको मोहोर प्रचलनमा ल्याएका थिए । उक्त चाँदीको सिक्कामा एकापट्टि जयइन्द्रसिंह र अर्कापट्टि उनीका महारानी विजयालक्ष्मीको नाम लेखिएको छ । सन् १९८९ मा लण्डनबाट प्रकाशित ‘क्वाइन्स अफ नेपाल’ नामक पुस्तकमा दोलखा राज्यको सिक्कालाई हिन्दूहरूको पहिलो सिक्का मानिएको छ । यो सिक्का हाल लण्डनको एक सङ्ग्रहालयमा रहेको बताइन्छ ।


धार्मिक एवम् सांस्कृतिक सम्पदा:धार्मिक एवम् सांस्कृतिक सम्पदामा धनी दोलखामा धार्मिक पर्यटनको अधिक सम्भावना रहेको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् । दोलखा भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती, त्रिपुरासुन्दरी, टसी गुम्बा बिगु, जिरी उपत्यका, च्छोरोल्पा हिमताल, सुन्द्रावती माई, शैलुङ्गेश्वर महादेव, देउलाङ्गेश्वर महादेव, पाँचपोखरी, जटापोखरी, शैलुङ, बेदिङ, रोल्वालिङ हिमशृङ्खला, जटापोखरी, बहुलापोखरी, बाह्रसय पल्टन र हनुमन्ते डाँडा दोलखाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हुन् ।


फिल्म सिटी र दोस्रो स्वीट्जरल्याण्ड:भारतीय गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतीय संसद्को सार्वजनिक लेखासमितिका सभापति मुरलीमनोहर जोशीले नेपालको हिमाली क्षेत्रमा फिल्म सिटी बनाउन सकिए त्यसले बलिउड तथा हलिउडलाई  नेपालमा आकर्षण गर्ने बताएका थिए । हिमाली क्षेत्रमा फिल्म सिटी निर्माण गरी नेपाललाई स्वीट्जरल्याण्ड बनाउन सकिने उनको धारणा थियो । त्यस्तै, केही वर्षदेखि दोलखाको डाङडुङे डाँडामा नेपालको पहिलो फिल्म सिटी निर्माणका लागि पहल भइरहेको छ । सो स्थानमा फिल्म सिटी बनाउन सरकारीस्तरबाट समेत विभिन्न किसिमको तयारी भइरहेको छ । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घले पनि त्यहाँ लगानी भिœयाउन पहल गरिरहेको बताएको छ ।


भविष्यमा दोलखा
:हाल दोलखामा ठूला जलविद्युत् आयोजना, फिल्म सिटी, प्याराग्लाइडिङ, केबलकारलगायत महŒवकाङ्क्षी योजना तथा पूर्वाधार निर्माणको तयारी भइरहेको छ । त्यस्तै, सरकारले खरीढुङ्गास्थित ओरियण्ड म्याग्नेसाइट उद्योग सञ्चालनको तयारी गरेको छ । निर्माण थालिएका, सम्भाव्यता अध्ययन भएका तथा घोषणा गरिएका आयोजनाले पूर्णता पाएपछि दालेखा आफै मात्र समृद्ध नभई यसले राष्ट्रलाई समेत समृद्धितर्फ लैजाने दोलखाका स्थानीय विकास अधिकारी टुवराज पोखरेल बताउँछन्  । त्यस्तै, दोलखाको लामाबगरबाट चीन जोड्न सडक निर्माणको प्रक्रिया अघि बढिसकेको छ । लामाबगरदेखि चीनको फलाकसम्म जोड्ने १४ किलोमिटरको सडक निर्माणका लागि अहिले रिटेण्डर भइरहेको छ । यो सडक निर्माण सम्पन्न भइसकेपछि चीन जोड्ने नेपालकै सबैभन्दा ठूलो नाका हुने बताइएको छ । त्यस्तै, यही सडकलाई सिन्धुलीको खुर्कोटसँग जोडर चीन–भारत जोड्ने सबैभन्दा छोटो मार्ग बनाउने योजना रहेको छ । यस आयोजनाले पूर्णता पाएपछि दोलखा नेपाल–चीनबीच मात्र नभई चीन–भारत व्यापारका लागि ट्राञ्जिट हुने सम्भावना छ ।

कुरी भञ्ज्याङदेखि कालिञ्चोक मन्दिरसम्म केबलकार बनाउन मनकामना दर्शन प्रालिले सम्भाव्यता अध्ययन गरेको छ । त्यस्तै, पर्यटन मन्त्रालयले कालिञ्चोकदेखि कुरीसम्म प्लाराग्लाइडिङ गर्न सकिने सम्बन्धमा सम्भाव्यता अध्ययन गरेको छ । चरीकोट–कालिञ्चोक सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ । सदरमुकाम चरीकोटबाट नजिकै खोर्थली वनमा भ्यूटावर निर्माणको आधा काम सम्पन्न भइसकेको छ । यी योजनाले दोलखामा पर्यटक आगमनलाई उल्लेख्य रूपमा बढाउने भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदी बताउँछन् ।

त्यस्तै, सदरमुकाम चरीकोटदेखि जिरी र काठमाडौंतर्फ एक/एक किलोमिटर सडकलाई बढाएर फुटपाथसहितको दुई÷दुई लेनको बनाउने तयारी भइरहेको छ । यसलाई हरित सडकका रूपमा विकास गरी चरीकोट बजारलाई थप व्यवस्थित र आकर्षित बनाउने तयारी भइरहेको उनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, दोलखाले चरीकोटमा सूचना केन्द्रसहितको अत्याधुनिक भवन निर्माण प्रक्रिया अघि बढाएको छ । यसलाई दोलखाको सङ्ग्रहालयका रूपमा समेत विकास गरिने जानकारी दिइएको छ ।

नगर विकासमा सक्रिय छौं:
पुरुषोत्तम सुवेदी
कार्यकारी अधिकृत, भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिका भएको १६ वर्ष पुगेको छ । तर, यसको प्रगति भने भर्खर शुरू हुँदै छ । सरकारबाट प्राप्त अनुदानबाट नै अघि बढ्नुपरेकाले सोचेजति काम गर्न सकिएको छैन । नगरपालिकको आय बढाउन साततले भवन बनाउने तयारी गरेका छौं । कुरी भञ्ज्याङदेखि कालिञ्चोक मन्दिरसम्म केबलकार बनाउन, कालिञ्चोकदेखि कुरीसम्म प्लाराग्लाइडिङ गर्न सकिने सम्बन्धमा सम्भाव्यता अध्ययन भइरहेको छ । चरीकोट–कालिञ्चोक सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ । सदरमुकाम चरीकोटबाट नजिकै खोर्थली वनमा भ्यूटावर निर्माणको आधा काम सम्पन्न भइसकेको छ । यी योजनाले दोलखामा पर्यटक आगमनलाई उल्लेख्य रूपमा बढाउनेछन् । सदरमुकाम चरीकोटदेखि जिरी र काठमाडौं तर्फ एक/एक किलोमिटर सडक बढाएर फुटपाथसहितको दुई/दुई लेनको बनाउने तयारी भइरहेको छ । (आर्थिक दैनिक बाट )

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.